किन उज्यालोसँग विश्वास गर्दैन समय
र काला–काला किरणहरू छरेर यसरी
बाँचिरहेछ निरन्तर ?
दिनभरि नाङ्गा आँखाअगाडि
सिँगौरी खेल्छन् समयका प्रतिनिधिहरू
र निभ्दै गएपछि उज्यालो क्रमशः
अँध्यारोमा अङ्कमाल गर्छन् आपसमा
र भ्रमपत्रमा हस्ताक्षर गर्छन् मध्यरात
नौलो बिहानी ल्याउने नाममा
सिर्फ आफैँ फसेको उल्झनको जाम खुलाउन।
मध्यरात मै हुन्छ
यो समयका काले–काले मिलेर
परिस्थितिको भाले खाने सहमति
कान चिरेका रङ्गिन जोगीहरू
मध्यरात मै प्रतिपादन गर्छन्
संसार बदल्ने इनलाइटेनमेन्ट सूत्र
र गाँजाले ह्याँङ भएका आँखा मिच्दै
उज्यालोमा विज्ञप्ति निकाल्छन्
सदाचारका पक्षमा।
घ्वाँर....घ्वाँर.... शहर घुर्न थालेपछि
बेवास्ताको गहिरो निद्रामा
मध्यरात मै हुन्छ असामयिक फैसला
कलिलो सत्तालाई मृत्युदण्ड दिने
सिन्डीकेटको घिनलाग्दो शूलीमा
नैतिकताको घाँटी थिचेर
बेइमानी मुचुल्कामा सही गरेपछि
जुँगामा ताउ लगाएर लाज छोप्ने प्रयास गर्दै
तर्कहरूको धमिलो लँगौटीले
बिहानै रोस्टममा उभिएर
समयको नयाँ शासक भन्छ –
राजनीति सम्भावनाको खेल हो।
पर्खालहरूको कालो पर्दा लगाएर
उज्यालो निषेधित क्षेत्रमा
छलफल गर्छ समयको प्रशासक
र पारित गरेर पारदर्शिताको नीति
फुत्त निस्कन्छ उज्यालोमा
विचरा कतिलाई थाहा होला ?
कि हरेक क्षण यसरी नै
समयका बुख्याचाहरू लगाएर उज्यालो मुख
फुत्त–फुत्त निस्किरहेछन् अँध्यारोबाट
हाम्रा असङ्ख्य सपनाहरू क्यूरेट गरेर।
किन कोक्याउँछ उज्यालो समयलाई यसरी कि
सधैँ मोहित भइरहेछ अँध्यरोप्रति ?
सायद अँध्यारोमा रेड कार्ड छलेर
पोस्टमा गैरकानूनी गोल हाल्दो हो
र उज्यालोमा विजय जुलुस निकाल्दो हो,
होइन भने –
जे हुनु छ, जे नहुनु छ
जन्मदेखि मोक्षसम्म किन हुन्छ सबै सबै
उज्यालोको अनुपस्थितिमा ?
जस्तो कि तपाईं हामी पनि
अँध्यारोको खेल कै परिणाम हौँ।
प्रत्येक दिन देखिरहेछु –
धोकेबाज नठहरिएका जीवनसाथीहरू
मध्यरात मै छोडिरहेछन् घरबार
जसरी कि
सटुक्क बुद्धले मध्यरात मै छोडेथे दरबार
प्रत्येक दिन देखिरहेछु –
मध्यरात मै जन्मिरहेछन्
समयका नयाँ नयाँ कृष्णहरू
र खेलिरहेछन् एकलौटी खेल
खै कसरी सिक्यो समयले
अँध्यारो पर्दाभित्र यसरी खेल्न
हामीले त देखेनौँ
हामीले त सुनेनौँ
सायद अँध्यारोमा खेल्नेहरू
अँध्यारो मै दीक्षित भएका हुँदा हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।