काठमाडौं– महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको प्राङ्गणमा पुग्दा देखिने दृश्यले अहिलेको हाम्रो स्वास्थ्य प्रणालीको प्रतिनिधित्व गर्छ होला सायद।
अस्पतालको वार्डमा जाने बाटो (बरण्डा) बिरामीले भरिएको छ। बाहिर प्राङ्गणमै राखेर बिरामीको उपचार गर्न थालिएको छ।
हरेक १० मिनेटको फरकमा साइरन बजाउँदै एम्बुलेन्स आइरहन्छन्, कोभिडका बिरामी बोकेर।
अस्पताल आउनेमध्ये धेरै संक्रमित गम्भीर अवस्थाका नै हुन्छन्। बेड भरिएका छन्। तर, बिरामी आइरहेका छन्।
बिरामीका आफन्तलाई के भन्ने भनेर स्वास्थ्यकर्मी र अस्पतालका कर्मचारी पनि सकसमा हुन्छन्।
‘यहाँ बेड छैन, बेड पाउने अवस्था भयो भने अन्त पनि प्रयास गर्नुहोस्,’ कोरोना संक्रमित बिरामी ल्याएर अस्पताल पुगेका आफन्तलाई टिचिङका कर्मचारीले भन्ने गर्छन्।
तर, त्यहाँ पुग्नु अगाडि नै उनीहरुले धेरै अस्पतालको चक्कर काटिसकेका हुँदारहेछन्। ‘बाहिरै भए पनि यतै राख्नुपर्यो, अन्त त कहाँ लैजानु र खै ?’ बिरामीका आफन्तहरु पनि आफ्नो पीडा पोख्छन्।
बाहिर प्राङ्गणमै भएपनि स्वास्थ्यकर्मीहरु बिरामी जाँच्छन्। अस्पताल पुर्याएकामध्ये धेरैजना अक्सिजनको सपोर्ट आवश्यक पर्ने खालका हुन्छन्।
चिकित्सकले भनेअनुसार अस्पतालका कर्मचारीले बिरामी भर्ना प्रक्रिया अगाडि बढाउँछन्। ‘सबै जना अक्सिजन चाहिने खालका नै आउँछन्। अक्सिजन कसरी पुर्याउने होला ?’ अक्सिजनको सिलिण्डर सार्दै अस्पतालकी एक कर्मचारीले भनिन्।
बिरामीसँगै आएका आफन्तहरु लामो सुस्केरा तान्दै फतफताउँछन्, अब कसरी बाँच्ने होला ?
त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा शनिबार दिउँसो करिब २ घण्टा मात्रै बिताउँदा कोरोना महामारीको भयावह रुप देखियो।
यस्तो दृश्य अहिले देशभरीका अस्पतालमा देखिन्छ। धेरै अस्पतालहरु कोभिड बिरामीले भरिएका छन्।
धेरै ठाउँमा अस्पताल जान नपाइ, अस्पताल पुगेर पनि अक्सिजन र भेन्टिलेटर नपाइ संक्रमितले ज्यान गुमाउनु परिरहेको खबर आइरहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा मात्रै देशभर ५३ जना संक्रमितको ज्यान गएको छ।
दैनिक संक्रमित थपिने क्रम पनि घटेको छैन।
संक्रमणको चेन ब्रेक गर्ने भनेर काठमाडौं उपत्यका सहित देशका धेरै ठाउँमा निषेधाज्ञा जारी गरिएको छ।
काठमाडौं उपत्यकामा पहिलो एक हप्ताको लागि जारी भएको निषेधाज्ञाको अवधि सकिएर पुनः वैशाख २९ गतेसम्मका लागि थपिएको छ।
तर, निषेधाज्ञाको अपेक्षित असर देखिएको छैन। बरु बिरामीहरु बढेका बढ्यै छन्। मानिसहरु गुनासो गर्न थालेका छन्, ‘सरकार निषेधाज्ञा जारी गरेर सुतेको जस्तो लाग्यो, यसबीचमा न त अक्सिजनको थप आपूर्ति भएको छ, न अस्पताल र शय्या थपिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।