न्यूयोर्कको लाइसेन्स प्लेट भएको रातो कार जमिन र घरहरुको दलाल आरोन हेकरको कार्यालयको अघि आएर घ्याच्च रोकियो । आइबी कोरनरको निमित्त कारको मोटो मानिस नयाँ थियो । त्यो कारबाट ओर्लेर हेकरको कार्यालयतिर बढ्यो । गर्मीले गर्दा जिउको पसिनाले उसको सुट भिजिरहेको थियो । उसको उमेर यही करिब ५० वर्षको थियो । अनुहार रातो भएको थियो । तर, मसिना आँखा चनाखा र स्थिर थिए।
उसले आरोनलाई नमस्कार गर्योि- 'मिस्टर हेकर तपाईं नै हुनुहुन्छ?'
'हो, म नै हुँ', आरोनले मुस्कुराउँदै भन्यो- 'म तपाईंको के सेवा गर्न सक्छु?'
'म वाटरबरी हुँ', आगन्तुकले भन्यो- 'मसँग धेरै समय छैन, हामी कामको कुरामा आए राम्रो हुनेछ।'
'हो, मेरो निमित्त पनि यही ठीक हुनेछ । के तपाईंले कुनै खास ठाउँमा चाख लिनुभएको छ ?'
'हो, गाउँको छेउकै एउटा घरमा । त्यो पुरानो ठूलो घरको सामुन्ने छ।'
'हो, त्यही घर हो । सायद त्यसमा बिक्रीको लागि भन्ने बोर्ड पनि झुण्डिएको छ क्यार।'
आरोनले निराश भएर मुख बिगार्योह- 'हो, त्यो मसँगै छ बिक्रीको लागि।'
उसले आफ्नो फाइलका पानाहरु पल्टाएर एउटा टाइप गरेको कागजतर्फ औंल्यायो- 'एक सय ६० वर्ष पुरानो घर । ८ वटा कोठा, २ वटा नुहाउने कोठा, बगैंचा र रुखहरु । बजार र स्कुल नजिक । दाम ७५ हजार डलर । भन्नुहोस् अझै पनि तपाईं लिने विचार गर्नुहुन्छ?'
वाटरबरी यो प्रश्नले झस्कियो, फेरि स्थिर हुँदै उसले भन्यो- 'निश्चय नै यसमा नराम्रो के छ र?'
'वेश छ', आरोनले भन्यो- 'यदि तपाईंले यहीँ बस्ने इच्छा गर्नुभएको छ भने म तपाईंलाई योभन्दा राम्रा घरहरु व्यवस्था गरिदिनेछु।'
'तर', मोटो मानिसको अनुहारमा छटपटी थियो- 'म तपाईंसँग त्यही घरको निम्ति सोधिरहेको, तपाईं त्यसलाई बिक्री गराउन चाहनुहुन्छ कि चाहनुहुन्न?'
'किन नचाहनु ? मलाई सम्झौतामा के आपत्ति होला र ! म त मेरो कमिशन पाइहाल्छु नि ! तपाईं नै त्यसलाई किन्नुहुने छैन । मैले बुढी ग्राइम्सलाई चित्त बुझाउन त्यो घर आफ्नो रेकर्डमा राखिराखेको छु।'
'मैले तपाईंको कुरा बुझिनँ, के भन्नुभएको हो?'
'सुन्नोस्, सबै कुरा बताउँछु । मिसेज ग्राइम्सले घर बेच्ने जिम्मा मलाई पाँच वर्षअघि दिएकी थिइन् । तर, उनी जति मोल चाहन्थिन्, घर त्यत्तिको लायक छैन । त्यो कुनै ढुंगा जतिको बलियो घर होइन । त्यसका दलिनहरु केही वर्षमा नै भाँच्चिनेछन् । छिँडीमा धेरैजसो पानी भरिइरहन्छ।'
'त्यसो भए उनले किन त्यति धेरै दाम मागेकी हुन् त?'
आरोनले कुम हल्लायो- 'घरप्रतिको मायाले नै हुन सक्छ । घर, क्रान्तिभन्दा पहिलेदेखि नै उनको परिवारसँग छ । अथवा यस्तै अरु कुनै कुरा होला।'
मोटो मानिसले कोठाको भुइँतर्फ दृष्टि दिँदै भन्यो- 'तर मोल धेरै भन्नु त राम्रो होइन।'
उसले आरोनतर्फ हेर्यो र केही हाँस्यो- 'मलाई ठाउँ राम्रो लाग्यो । कुन्नि किन मलाई लागेको छ, मेरो निम्ति त्यो घर उपयुक्त हुनेछ।'
'दाम मिलाउन सकिन्छ । दस हजार डलरमा । यो दाम उचित होला । तर, ७५ हजार डलर?'
आरोन हाँस्यो- 'मेरो अनुमान छ, मिसेज ग्राइम्सले त्यो घर त्यति महँगोमा बेच्नुको कारण मैले ठीक नै बुझेको छु । उनीसँग धेरै पैसा छैन । उनको छोराले उनको हेरविचार गर्थ्यो । तर, पाँच वर्षअघि छोरो मरेकाले बूढीलाई घर बेच्नु नै उचित लाग्यो । यस्तो लाग्छ, उनले आफ्नो अन्तरात्माको सन्तोषको लागि घरको चर्को मोल लगाएपछि ग्राहक पाइने छैन भनेर त्यसो गरेकी हुन्।'
आरोनले निराश भएर टाउको हल्लायो- 'कस्तो विचित्र संसार!'
वाटरबरीले अनिश्चयतापूर्वक भन्यो- 'पर्खनोस्, म आफैं उनीसँग भेट्छु र मोल कम गर्न अनुरोध गर्छु।'
वाटरबरी सुनसान बाटोबाट गाडी लिएर बूढीको घरतिर लाग्यो । घरको वरिपरि तिखा टाटीहरु छरिएका सिपाहीहरु जस्ता लाग्थे । अगाडिको बगैंचा घाँसको जंगल भइसकेको थियो । उसले एउटा छेउमा गाडी रोक्यो।
ढोका खोल्न आउने बूढी पुड्की र कपाल सेतै फुलेकी थिइन् । अनुहारका चाउरीहरु छोटो र तिखो चिउँडोनिर आएर समाप्त भएका थिए । गर्मी हुँदाहुँदै पनि उनले एउटा ठूलो गह्रौं कार्डीगन लगाएकी थिइन्।
'तपाईं श्री वाटरबरी नै हुनुहुन्छ', उनले सोधिन्- 'आरुन हेकरले तपाईं आउँदै हुनुहुन्छ भनेका थिए।'
'अँ', मोटो मानिसले उत्तर दियो- 'सञ्चै छ मिसेज ग्राइम्स?'
'मेरो विचारमा तपाईं भित्र आउन चाहनुहुन्छ।'
'हो, बाहिर त निकै गर्मी छ', त्यो हाँस्यो।
'त्यसो भए आउनुस् त । मैले कागतीको सर्वत चिसो पार्न आइसबक्समा राखिदिएकी छु।'
भित्र उज्यालो थोरै थियो र चिसो पनि थियो । झ्यालहरुमा पर्दा थिए । उनीहरु एउटा वर्गाकार कोठामा पुगे, जसमा निकै फर्निचरहरु थिए । बूढी एउटा घुम्ने मेचमा दुवै हात खुम्च्याएर बसिन् ।
मोटो वाटरबरीले आफ्नो घाँटी सफा गर्दै भन्यो- 'मिसेज ग्राइम्स, मैले अहिले नै तपाईंको घरको दलालसँग कुरा गरेँ … … ।'
'मलाई सबै थाहा छ', उनले कुरा काट्दै भनिन्- 'आरोन मूर्ख नै हो, यदि उसले मेरो मोल सम्बन्धी विचारमा परिवर्तन ल्याउन पठाएको हो भने।'
उसले बूढीको कुरालाई अस्वीकार गर्दै भन्यो- 'म एउटा व्यापारी हुँ र अविवाहित छु । मैले निकै समय परिश्रम गरेर राम्रो पैसा आर्जन गरेको छु । अब म छुट्टी लिएर कुनै शान्तिपूर्ण ठाउँमा समय व्यतीत गर्न चाहन्छु । मलाई आइवी कर्नर मन परेको छ, अल्वानीतर्फ जाँदा एकपल्ट यो बाटो हुँदै गएको थिएँ । मैले त्यसै बेला विचार गरेको थिएँ, कुनै बेला यस्तै ठाउँमा घरजम गर्नेछु । आज फेरि यो बाटो जाँदा मैले तपाईंको घर देखेँ अनि मलाई लाग्यो, मेरो निम्ति यही राम्रो ठाउँ हो ।'
'मलाई पनि यो ठाउँ मन परेको छ मिस्टर वाटरबरी । तसर्थ मैले यसको उचित मोल माग गरेकी हुँ।'
'उचित मोल', वाटरबरीले आँखा चिम्लियो- 'मिसेज ग्राइम्स, यो त तपाईंले मान्नैपर्छ कि आजको समयमा यस्तो घरको धेरैभन्दा धेरै … …'
'भयो छाड्नुस्', बूढी बीचमा नै कराइन्- 'म तपाईंसँग बहस गर्न चाहन्नँ । यदि तपाईं मैले भनेको मोल दिन सक्नुहुन्न भने सो सम्बन्धमा कुरा नै नगरे वेश होला!'
'तर, मिसेज ग्राइम्स … …'
'ल त, अलविदा मिस्टर वाटरबरी।'
उनी उभिइन् र वाटरबरीतर्फ यस किसिमले हेरिन्, उसले पनि उभिनु नै पर्छ।
तर ऊ उठेन।
'एकछिन पख्नोस्, मलाई थाहा छ यो मेरो बहुलट्ठीपन हो, तर… ठीक छ, म तपाईंले भनेको मोल दिनेछु।'
बूढी एकटक उनलाई हेर्न थालिन् ।
'अनि तपाईंले निश्चय गरिसक्नुभो…'
'हजुर, मसँग निकै पैसा छ । तपाईंको जस्तो इच्छा छ, उस्तै हुनेछ।'
बूढी विस्तारै हाँसिन्- 'मेरो अनुमान छ, सर्वत चिसो भइसक्यो होला । लिएर आऊँ… अनि म तपाईंलाई यो घरको बारेमा बताउनेछु।'
जब उनी ट्रे लिएर फर्किन्, वाटरबरी फेरि आफ्नो अनुहार पुछिरहेको थियो । उसले चिसो सर्वतको घुट्को दियो।
'यो घर', बूढी कुर्सीमा अडेस लगाउँदै भन्न थालिन्- 'हाम्रो परिवारसँग सन् १८०२ देखि नै छ । मलाई थाहा छ, यो घर धेरै बलियो छैन । मेरो छोरा माइकल जन्मेदेखि नै छिँडीमा पानी भरिएको थियो । मैले त्यसलाई आजसम्म पनि सफा गराउन सकिनँ । आरोनको भनाइ अनुसार भित्तामा पनि चिसो लागेर धमिरा लागेको छ । तर तैपनि म आफ्नो यो पुरानो घरलाई माया गर्छु।'
'माइकलको बाबु जब माइकल नौ वर्षको थियो, स्वर्गे भए । हाम्रो सामु निकै समस्या थिए । बाबुको बिछोड मलाई भन्दा माइकललाई धेरै थियो । विस्तार-विस्तार ऊ ठूलो भयो । बलियो र गठिलो।'
मोटो मानिसले टाउको हल्लाएर सहानुभूति व्यक्त गर्यो।
'हाइस्कुल पास गरेर ऊ सहरतिर लाग्यो । मलाई थाहा थिएन, ऊ त्यहाँ के गर्थ्यो । तर, सफल नै भएको थियो होला । किनभने उसले सधैं मलाई पैसा पठाइरहन्थ्यो।'
बूढीको आँखामा अतीतका स्मृतिहरु रुमलियो।
'नौ वर्षसम्म ऊ मबाट छुट्टै रह्यो र जब घर फर्कियो, ऊ दिक्क थियो । ऊ आधा रातपछि आएको थियो । दुब्लाएको र आफ्नो उमेरभन्दा बढीको लाग्थ्यो । एउटा कालो सुटकेस बाहेक ऊसँग अरु कुनै मालमत्ता थिएन । म सुटकेस लिन अघि बढ्दै थिएँ, उसले मलाई घचेड्यो … उसले मलाई घचेड्यो … आफ्नी आमालाई!'
'भोलिपल्ट उसले मलाई घर केही घण्टाको निम्ति खाली गरिदिन भन्यो । ऊ के गर्न चाहन्थ्यो, मलाई भनेन । तर, जब म फर्किएँ, सुटकेस थिएन।'
'त्यो रात एउटा मानिस हाम्रो घर आयो । भित्र कुन बाटोबाट पस्यो, त्यो मलाई थाहा भएन । मैले माइकलको कोठामा कुराकानी गरेकव सुनेँ र दैलोमा कान थापेर यो थाहा पाउन प्रयत्न पनि गरेँ, मेरो छोरा कुन संकटमा छ । तर, कराएको र धम्कीपूर्ण बोलीबाहेक मैले केही पनि सुन्न पाइनँ र … ।'
उनी थामिइन् । उनको काँध निहुरेको थियो।
'फेरि एउटा ठूलो आवाज आयो', बूढी फेरि भन्न थालिन्- 'त्यो बन्दुकको आवाज थियो । म जब भित्र पुगेँ, कोठाको झ्याल खोलिएको थियो । आएको मानिस गइसकेको थियो । माइकल तल भुइँमा थियो … … मरेको।'
'यो पाँच वर्षअघिको कुरो हो । केही बेरपछि प्रहरीले मलाई पूरै कथा भन्यो । माइकल र त्यो अर्को मानिस एउटा ठूलो अपराधमा साझेदार थिए । उनीहरुले हजारौं डलर चोरेका थिए । माइकल त्यो धन लिएर भागेर आएको थियो र त्यसलाई यही घरमा कहीँ लुकाइदिएको थियो । लुकाएको ठाउँ अझ पनि मलाई थाहा छैन । त्यो मानिस मेरो छोराको खोजीमा आएको थियो, आफ्नो भाग लिन । जब उसलाई धन छैन भन्ने थाहा भयो, उसले मेरो छोराको हत्या गरिदियो।'
बूढीले आँखा माथि उठाइन्।
'त्यसपछि नै मैले यो घरलाई ७५ हजार डलरमा बेच्ने घोषणा गरेँ । मलाई थाहा थियो, कुनै दिन मेरो छोराको हत्यारा फर्केर आउनेछन । कुनै दिन यो घरलाई कुनै पनि मोलमा खरिद गर्ने इच्छा गर्नेछ । मलाई त खालि प्रतीक्षा गर्नु नै थियो त्यो मानिसको, जसले यो बूढीको घरको भनेअनुसारको मोल दिन तयार होस्।'
उनी कुर्सीमा विस्तारै चलमलाइन्।
वाटरबरीले खाली गिलास तल राख्यो र आफ्नो सुक्खा ओठमा जिभ्रो घुमायो । उसका आँखा अब तेजिला थिएनन् । टाउको लुलो भएर काँधमा एकापट्टि ढल्किसकेको थियो।
'ओहो !', त्यो सुस्तरी बडबडायो- 'सर्वत त नमीठो रै'छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।