काठमाडाैं- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा (माओवादी केन्द्र) र जसपाको कारण नयाँ सरकार निर्माणको प्रक्रिया सुरु हुन नसकेको बताएका छन्।
बिहीबार समसामयिक राजनीतिक घटनाक्रमको सम्बन्धमा धारणा राख्दै प्रवक्ता शर्माले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता नगरेको अवस्था र जसपा वर्तमान सरकारलाई विस्थापन गर्ने विषयमा ठोस निर्णयका साथ नआएको कारणले नयाँ सरकार गठनको प्रक्रिया आरम्भ हुन नसकेको बताएका हुन्।
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गरेर र जसपा गणितीय रुपमा एक ढिक्का भएर उभिएमा मात्रै नेपाली कांग्रेसको नेतृत्वमा अथवा अरु कसैको नेतृत्वमा सरकार बन्ने अवस्था आउने उनको भनाइ छ।
‘माओवादी केन्द्रले सरकारको समर्थनको सन्दर्भमा केही टुङ्गो गर्नुपर्ने हो। कि समर्थन निरन्तर छ भन्ने उहाँहरुले निर्णय गर्नुपर्ने हो। समर्थन फिर्ता छ भने सार्वजनिक मञ्चबाट होइन लिखितरुपमा संसद् सचिवालयमार्फत सूचना जारी गर्नुपर्ने हो,' उनले भने, 'त्यो परिस्थिति विकास भइसकेपछि स्वाभाविक रुपमा प्रधानमन्त्रीजीले विश्वासको मत लिनुपर्ने हुन्छ। नेपाली कांग्रेसले विश्वासको मत वर्तमान सरकारलाई पक्कै दिने छैन।'
संसद्मा सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता गरिसकेपछि बैठक बसेरै विधिवत् रुपमा यसको निर्णयमा पुग्ने प्रवक्ता शर्माले बताए। 'त्यसपछि विश्वासको मत प्राप्त हुने वर्तमान सरकारको अवस्था भएन भने नयाँ सरकारको लागि ढोका खुल्ने अवस्था हुन्छ। त्यो बेलामा सत्ता समीकरणको विषय ठीक समयमा परिपक्व ढङ्गले एउटा परिस्थितिको विकास भएर जान्छ। अनि सरकार बन्न सक्छ,' उनले भने।
प्रवक्ता शर्माले माओवादी केन्द्रले समर्थन फिर्ता नलिएको र जसपाले गणितीय रुपमा एक ढिक्का भएर उभिने सङ्केत प्रस्ट नगरेको अवस्थामा नेपाली कांग्रेस प्रधानमन्त्री पदको लागि तयार नरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।