काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रिय कार्यकारिणी समितिको बैठक स्थगित भएको छ। तुलसीलाल स्मृति प्रतिष्ठान, ललितपुरमा बस्ने तय भएको बैठक अचानक स्थगित भएको हो।
बिहीबार बिहान बसेको पदाधिकारी बैठकमा दुई पक्षबीच मतभेद बढेपछि कार्यकारिणी समितिको बैठक स्थगित भएको जसपाका एक नेताले बताए।
जसपामा महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष प्रधानमन्त्री ओलीसँग सहकार्य गर्नुपर्ने पक्षमा छन् भने बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राई ओली सरकारको विकल्प खोज्नुपर्ने अडानमा छन्।
जसपा केन्द्रीय कार्यकारिणी समितिमा ५१ जना सदस्य छन्। जसमध्ये तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट २५ जना र तत्कालीन समाजवादी पार्टी नेपालबाट २६ जना रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।