काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रले विश्वासको मत फिर्ता लिए एक महिनाभित्र विश्वासको मत लिने बताएका छन्। उनको भनाइ उद्घृत गर्दै नेकपा सचेतक शान्ता चौधरीले भनिन्,‘माओवादी केन्द्रले विश्वासको मत फिर्ता लिएको एक महिनामा विश्वासको मत लिन्छु।’
उनले आगामी दिनमा सोचविचार गरेर मात्रै पार्टी एकता गर्ने पनि बताएका छन्। हतारमा एकता गर्दा समस्या सिर्जना भएको भन्दै आगामी दिनमा सोचविचार गर्ने बताएको सांसद कृष्ण राईले जानकारी दिए।
‘हामीले हिजो कानूनको निरुपण गरेनौं। व्यवहारमा पनि परिस्कृत गर्न सकेनछौं। अब व्यवहार र कानूनी रुपमा कम्युनिस्ट आन्दोलन एकीकृत गर्न सकिने अभियान फेरि थाल्नुपर्छ। त्यसको नेतृत्व मैले लिन्छु। कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने मेरो प्रयास जारी राख्नेछु। यसअघि पनि एकता गर्दा मैले थालेको थिए,’ प्रधानमन्त्री ओलीको भनाइ उद्घृत गर्दै राईले भने।
प्रचण्डबाहेक अरुले आफूलाई समर्थन नगरे जिम्मेवार प्रतिपक्ष भएर भूमिका निर्वाह गर्ने चेतावनी समेत प्रधामन्त्री ओलीले दिएका छन्।
उनले सांसदसँग भने, 'प्रचण्ड कमरेडले मलाई दिएको समर्थन फिर्ता लिनुहुन्छ। फिर्ता लिएपछि सरकार बन्न के-के चाहिन्छ? संसदीय व्यवस्थामा अब हेड क्वाउन्टका कुरा आउँछ त्यो हुँदा प्रचण्डबाहेक अरुले मलाई समर्थन गर्नुपर्ने हुन्छ। यदि त्यस्तो हुन सकेन भने जिम्मेवार प्रतिपक्ष भएर भूमिका निर्वाह गरिन्छ। संसदीय अभ्यासमा यस्तो बनाउन हुनन् । त्यसैले यसलाई ठूलो मुद्दा बनाऔं।’
अबको दुई दिनमा माधव नेपाल कता पुगे भनेर खोज्नुपर्ने दिन समेत आउने ओलीको दाबी थियो। ‘माधव कमरेड अब २ दिनमा केपी ओली सकिन्छन् भनेर हिजो भाषण गरेका थिए। अब २ दिनमा माधव नेपाल कता पुग्ने हुन्? उहाँलाई खोज्नुपर्ने भयो,’ ओलीको भनाइ थियो।
उनले संसद चाहिएको छ भन्नेहरुले नै संसद बहिस्कार गरेको आरोप समेत लगाए। ‘पहिल खुब संसद चाहियो भनेर उफ्रेका थिए आज उनैले संसद बहिस्कार गरे। कांग्रेसपनि उनीहरुकै पछि लागेर सरकारले ल्याउने अध्यादेशहरु ल्याउन खोज्दाखेरी विरोध गर्नु भनेको सरकार चलाउने थाहा नभएर नहोला?’, ओलीले प्रश्न गरे। यस्तै उनले सभामुख अग्नीप्रसाद सापकोटा स्वतन्त्र रुपमा प्रस्तुत हुन नसकेको आरोप समेत लगाए।
‘सभामुखले आफूलाई कुनै एक राजनीतिक दलको नेताका रुपमा प्रस्तुत गर्न चाहनुभयो। सभामुखले राजनीतिक भाषण गर्नुभयो। त्यसो गर्न सुहाउँदैन संसद र सभामुखको गरिमा भुल्नुभयो। उहाँले सभामुखको गरिमा राख्न सक्नुभएन। पक्षधरता देखाउनुभयो,’ ओलीले भने।
यता सर्वोच्च अदालतले ऋषिराम कट्टेल नेतृत्वको नेकपालाई वैधानिकता दिएको फैसालालाई समेत मान्ने उनले बताएका छन्।
‘सर्वोच्चको दुबै फैसलाले हामीलाई हरायो। कम्युनिस्ट एकता समाप्त गर्नका लागि फैसला आएको बुझियो। यद्यपि कानुनी सर्वोच्चता मान्ने पार्टी भएकाले त्यसको विरोध गर्दैनौं,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।