काठमाडौं– बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा जित निकालेको छ। बुधबार राति भएको खेलमा बार्सिलोनाले इल्चेलाई ३–० गोलअन्तरले पराजित गरेको हो।
घरेलु टिम बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सीले दुई गोल गरे। त्यस्तै, जोर्डी अल्भाको नाममा एक गोल रह्यो। घरेलु टिम बार्सिलोनालाई पहिलो हाफसम्म भने गोलरहित बराबरीमा रोकेको इल्चेले दोस्रो हाफमा राम्रो खेल्न सकेन। पहिलो हाफको तुलनामा दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्दै बार्सिलोनाले तीन गोल गर्न सफल भयो।
खेलको ४८ औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। खेलको ६८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २–० गोलको अग्रतामा पुर्याए। ७३ औं मिनेटमा जोर्डीले गोल गर्दा बार्सिलोनाले इल्चेलाई ३–० गोलले पराजित गर्न सफल भयो।
जितसँगै बार्सिलोना लिगको तेस्रो स्थानमा उक्लिएको छ। बार्सिलोनाको २४ खेलबाट ५० अंक भएको छ। पराजित इल्चेको भने २३ खेलबाट २१ अंक छ। लिगको शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिडको २३ खेलबाट ५५ अंक छ। लिगको दोस्रो स्थानमा रहेको रियल मड्रिडको २४ खेलबाट ५२ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।