काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समितिले महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाको म्याद पुनः थपेको छ। गत साउनमा ६ महिना थपिएको कार्यकाल माघमा सकिएपछि ११ वटा भ्रातृ संस्थाको म्याद फेरि थपिएको हो।
मंगलबार बसेको केन्द्रीय समितिको बैठकले नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ्ग संघ र नेपाल ठाकुर समाजको पदावधि समाप्त भएको मितिले ६ महिनाका लागि थपेको हो।
अधिवेशन गर्न नसकेका भ्रातृ संस्थाको अवधि बढाउनुपर्ने बाध्यात्मक अवस्था आएको केन्द्रीय सदस्य गुरुराज घिमिरेले बताए। कांग्रेसका भ्रातृ संस्थाले वर्षौं अधिवेशन गर्न सकेका छैनन्।
मुल पार्टीले अधिवेशन गर्न सहयोग नगरेको आरोप भ्रातृ संस्थाले लगाउँदै आएका छन्। अर्कोतर्फ, भ्रातृ संस्थाले आफ्नो अधिवेशन गर्न तत्परता नदेखाएकाले समयमा अधिवेशन हुन नसकेको कांग्रेसले भन्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।