काठमाडौं- प्रतिनिधि सभा विघटनविरुद्ध परेका १३ मुद्दामाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ। सोमबार अधिवक्ता दिनमणि पोखरेलले संविधान उल्लंघन गरी भएको निर्वाचनले प्रणाली बिगार्ने तर्क गरेका छन्।
सरकारले पुस ५ मा प्रतिनिधि सभा विघटन गर्दै आगामी वैशाख १७ र २७ का लागि निर्वाचनको मिति तोकेको छ। त्यसमाथि पोखरेलले आफ्नो धारणा राखेका हुन्। 'प्रणाली बचाउनका लागि निर्वाचनमा जानुपर्छ। तर, संविधान उल्लंघन गरी भएको निर्वाचनले प्रणाली नै बिगार्न सक्छ',उनले भने।
उनले जनताको लागि चुनावमा जाने भनेर मात्रै नहुने बताए। 'निर्वाचनमा लागि अबलम्बन गरिएको बाटो कानुनसम्मत छ कि छैन हेर्नुपर्छ। संविधान अनुसार निर्वाचन नभएमा त्यसले झन् आघात पुर्याउँछ। सदनले निकास दिन नसके मात्रै ताजा जनादेशमा जाने व्यवस्था छ', उनले भने।
पोखरेलले तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले गरेको संसद् विघटन र अदालतको व्याख्या पनि स्मरण गरे। 'मनमोहन अधिकारीले प्रतिनिधि सभा विघटन गर्दा सदनले अर्को सरकार बनाउन सक्ने अवस्था रहेकाले त्यसैबाट निरूपण खोज्नुपर्ने अदालतको फैसला थियो', उनले भने।
उनले पार्टीभित्रको समस्या व्यवस्था गर्न नसक्नेले संसद्लाई पीडित बनाउन मिल्छ? भन्दै प्रश्न गरे।
आइतबारबाट संवैधानिक इजलासमा विषय केन्द्रित बहस सुरु भएको छ। आइतबार चार जनाले आफ्नो भनाइ राखेका थिए। त्यसअघि यो मुद्दालाई संवैधानिक इजलासमै हेर्ने कि बृहत् पूर्ण इजलासमा हेर्ने भन्नेमा बहस भएको थियो अब यो मुद्दामाथि संवैधानिक इजलासमै निरन्तर सुनुवाइ हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।