काठमाडौं- बैंकहरूबीच कर्जा खोसाखोसको अवस्था आएपछि नेपाल राष्ट्र बैंकले कडाइ गरेको छ। एक बैंकको कर्जा अर्को बैंकले खोस्न थाले पनि राष्ट्र बैंकले अग्रिम भुक्तानी शुल्क बढाएको छ। नयाँ व्यवस्थासँगै यदि कुनै ऋणीले कर्जा भुक्तानी अवधिभन्दा अगावै भुक्तानी गर्न खोज्यो भने बैंकले सेवा शुल्कको शत प्रतिशतसम्म अग्रिम भुक्तानी शुल्क लिन पाउने भएका हुन्।
बैंक तथा वित्तीय संस्थाले कर्जा स्वीकृति गर्दा सेवा शुल्कबापत क्रमशः अधिकतम ०.७५ प्रतिशत, १.०० प्रतिशत, १.२५ प्रतिशतसम्म मात्र सेवा शुल्क लिन पाउँछन्। तर, प्रतिबद्धता शुल्क र नवीकरण हुने प्रकृतिका कर्जामा लिने नवीकरण शुल्कको हकमा तोकिएको सेवा शुल्कको अधिकतम २० प्रतिशतसम्म लिन पाउँछन्।
तर बैंकहरुले अग्रिम भुक्तानी शूल्क वा ऋणीले बैंक परिवर्तन गर्दा लिने कर्जा स्वाप शुल्कमा भने राष्ट्र बैंकले सिलिङ बढाउने व्यवस्था थपिदिएको हो। बैंकहरुले कर्जाको अग्रीम भुक्तानी शूल्क लिदा कर्जा प्रवाह भएको २ वर्षभित्र कर्जाको अग्रीम भुक्तानी भएमा सेवा शुल्कको अधिकतम शत प्रतिशतसम्म लिन पाउनेछन्।
त्यस्तै २ वर्षदेखि ५ वर्षभित्र कर्जा चुक्ता भएमा खण्ड सेवा शुल्कको अधिकतम ५० प्रतिशतसम्म र ५ वर्षभन्दा पछि कर्जा चुक्ता भएमा सेवा शुल्कको अधिकतम २० प्रतिशतसम्म लिन पाउँछन्।
बैंकहरुले कर्जा स्वाप शुल्क लिँदा कर्जा प्रवाह भएको २ वर्षभित्र बैंक परिवर्तन गरेमा बक्यौता रकममा सेवा शुल्कको अधिकतम शत प्रतिशतसम्म लिन पाउने बाटो खुलेको छ। त्यस्तै २ वर्षदेखि ५ वर्षभित्र बैंक परिवर्तन गरेमा वक्यौता रकममा सेवा शुल्कको अधिकतम ५० प्रतिशतसम्म र ५ वर्षपछि बैंक परिवर्तन गरेमा वक्यौता रकममा सेवा शुल्कको अधिकतम २० प्रतिशतसम्म लिन सकिने व्यवस्था गरिएको छ।'
स्थिर ब्याजदरमा प्रवाह भएका आवधिक कर्जाको हकमा ऋणी संगको सहमतिमा कर्जा स्वीकृति पत्रमा उल्लेख भएबमोजम सेवा शुल्कको शत प्रतिशत अग्रिम भुक्तानी शुल्क वा स्वाप शुल्क लिन सकिने व्यवस्था गरिएको हो।
यसअघिको व्यवस्थामा 'बैंक तथा वित्तीय संस्थाले कर्जा स्वीकृति गर्दा सेवा शुल्कबापत क्रमशः अधिकतम ०.७५ प्रतिशत, १.०० प्रतिशत, १.२५ प्रतिशतसम्म मात्र सेवा शुल्क लिन पाइनेछ। तर, प्रतिवद्धता शुल्क, अग्रिम भुक्तानी शुल्क, कर्जा स्वाप हुँदा लिने स्वाप शुल्क तथा नवीकरण हुने प्रकृतिका कर्जामा लिने नवीकरण शुल्कको हकमा माथि उल्लेखित सेवा शुल्कको अधिकतम २० प्रतिशतसम्म शुल्क लिन यस व्यवस्थाले बाधा पुर्याएको मानिने छैन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।