काठमाडौं– होङसी सिमेन्टका आयोजनास्थलसम्म विद्युत प्रसारण लाइन निर्माणमा देखिएका समस्या समाधान गर्ने विषयमा त्रिपक्षीय छलफल भएको छ। लगानी बोर्ड नेपाल, नेपाल विद्युत प्राधिकरण र होङसी सिमेन्ट आयोजनाका पदाधिकारीबीच आयोजनास्थलसम्मका लागि आवश्यक विद्युत प्रसारण लाइन निर्माणका विषयमा छलफल भएको हो।
छलफलमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले ठूला आयोजनाले रोजगारी सिर्जना र मुलुकको आर्थिक विकासमा उल्लेख्य योगदान पुर्याउने भएकाले त्यस्ता परियोजनाको कार्यान्वयनमा आवश्यक सहजीकरणका लागि बोर्डले सक्दो योगदान गर्ने बताएका छन्। ‘प्रत्येक आयोजना निर्माण, त्यसका लागि आवश्यक ऊर्जाको व्यवस्थापन र तत्कालको विद्युत माग अध्ययन एवं चुहावट न्यूनीकरणका लागि बोर्डले आफ्नोतर्फबाट योगदान गर्छ,’ भट्टले छलफलमा भने।
छलफलमा नेपाल विद्युत प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आगामी जेठभित्र ती आयोजनाका लागि प्रसारण लाइन निर्माण गरी विद्युत आपूर्तिको व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन्।
४ ठूला परियोजना विकासकर्ताले बुझाए प्रतिवेदन
लगानी बोर्डले सहजीकरण गरिरहेकामध्ये चारवटा ठूला पूर्वाधार परियोजना विकासकर्ताले सम्बन्धित आयोजनाका विस्तृत अध्ययन प्रतिवेदन लगानी बोर्ड समक्ष पेश गरेका छन्। वीरगञ्ज र भैरहवामा निर्माण हुने प्राइभेट फ्रेट टर्मिनल एन्ड बल ह्यान्डलिङ फ्यासिलिटिज प्रालिले मंगलबार विस्तृत संभाव्यता अध्ययन प्रतिवेदन पेश गरेको छ।
यसैगरी विराटनगरमा निर्माण हुने मल्टिमोडल लजिस्टिक पार्क परियोजनाको विकासकर्ता कम्पनी सिजी लजिस्टिक प्रालि सराफ ग्रुपले पनि यो परियोजनाको प्रतिवेदन पेश गरेको छ। बोर्डको कार्यालय र सिजी लजिस्टिकबीच २०७६ असार २ गते प्रतिवेदन तयार गर्न सहमतिपत्रमा हस्ताक्षर भएको थियो।
साथै चीन–नेपालमैत्री औद्योगिक पार्क आयोजनाको विकासकर्ता कम्पनीको तर्फबाट दमक क्लिन इन्डस्ट्रियल पार्कले पनि बोर्ड समक्ष विस्तृत परियोजना प्रतिवेदन पेश गरेको छ। लगानी बोर्डको २०७६ साउन १७ मा बसेको बैठकले यो आयोजनाका लागि ५८ करोड ६१ लाख अमेरिकी डलर (करिब ६५ अर्ब रूपैयाँ) बराबरको लगानी स्वीर्कत गरेको थियो।
यो आयोजना ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङ पिङ जोइन्ट क्रिएसन कन्सट्रक्सन प्रोजेक्ट डेभलपमेन्ट कम्पनी र दमक क्लिन इन्डस्ट्रियल पार्कको संयुक्त लगानीमा झापाको दमकमा निर्माण हुनेछ।
यस्तै वीरेठाँटी–मुक्तिनाथ केवलकार निर्माणको लागि विकासकतौ कम्पनी मुक्तिनाथ दर्शन प्रालिले पनि ८० किलोमिटर लामो केबलकारको डिपिआर बुझाएको छ। प्रस्तावित केवलकार वीरेठाँटी, घोडेपानी, तातोपानी, लेते, कोवाङ, मार्फा र जोमसोम हुँदै मुक्तिनाथ पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।