अस्ट्रेलियाको सुपरपिट सुनखानी काठमाडाैं-महँगो सुनको जोहो गर्न विश्वमै तछाडमछाड हुने गरेको छ। तर, लगानीको सबैभन्दा सुरक्षित माध्यमको रूपमा मानिने सुनखानीबाट निस्कने विषाक्त पदार्थका कारण वातावरणमा सबैभन्दा धेरै असर गर्ने गरेको पाइन्छ। सुनखानीबाट निस्कने साइनाइड र मर्करीलगायतका विषाक्त पदार्थले वातावरणलाई असर पारिरहेको छ।
एक तोला सुन प्रशोधन गर्दा २० टनसम्म विषाक्त पदार्थ उत्पादन हुन्छ। सुनखानीबाट निस्कने फोहोरले समुद्रमा ठूलो असर पार्दै आएको छ। यसले समुद्रमा रहेका जीवहरुको अस्तित्वलाई नै बिस्तारै मेटाउँदै लगेको विज्ञहरु बताउछन्।
पपुवा न्यूगिनीको 'लिहिर गोल्ड माइन'बाट मात्र प्रशान्त महासागरमा ५० लाख टनसम्मको विषाक्त पदार्थ मिसिने गरेको छ। यस्ता विषाक्त पदार्थ समुद्रमा जान नदिने गरी बाँध बनाइएको भए पनि हरेक वर्ष यस्ता बाँधहरु फुट्ने गरेका छन्। साथै यसले बाँध वरपरको मानवीय बस्तीमा ठूलो असर पुर्याउँदै आएकाे छ। यस्ता बाँधको संख्या ३५ सयभन्दा बढी छ। बाँध फुट्नेबित्तिकै समुद्री सतहमा फोहोरमैला पुगिहाल्छ। रोमानिया, चीन, घाना, रुस, पेरू, दक्षिण अफ्रिका र अन्य देशहरुबाट समुद्रमा फोहोर पुग्ने गरेको छ।
सुनखानीका यस्ता फोहोरले अम्लीय वर्षा बढाउन पनि सहयोग पुग्ने गरेको छ। अम्लीय वर्षाका कारण वरिपरिको पर्यावरणमा सबैभन्दा धेरै असर गर्ने भएकाले कतिपय जीवजन्तुको अस्तित्व नै समाप्त पारिरहेको छ। आइरन सल्फाइडले सल्प्यूरिक एसिड बनाउन अक्सिजनसँगै प्रतिक्रिया गर्दछ र अम्लीय वर्षा हुन्छ। ठूलाठूला चट्टानमा अम्लीय वर्षा हुँदा भविष्यमा यसले खतरा बढ्दै जाने विज्ञहरु बताउछन्।
एक ग्राम सुन प्रसोधन गरेर आकर्षक गहना निर्माण गर्दा कम्तीमा पनि दुई ग्राम मर्करी उत्पादन हुन्छ। सुनखानीमा आवश्यक पर्ने ऊर्जा कोइलाबाट उत्पादन गरिन्छ। यसले थप प्रदुषण बढाउँछ। सुनखानीबाट प्रत्येक वर्ष एक हजार टनभन्दा बढी मर्करी उत्पादन हुन्छ। यसले मानवीय स्वास्थ्यमा ठूलो असर गर्ने वैज्ञानिकहरु बताउछन्। मर्करी वातावरणमा सजिलै घुल्न सक्ने भएकाले विभिन्न माध्यमबाट मानव शरीरमा प्रवेश गर्छ।
मर्करीले मिर्गौला, कलेजो, मस्तिष्क, मुटु, फोक्सो, कोलोन, र प्रतिरक्षा प्रणालीमै ठूलो असर गर्छ। यसका साथै थकान, वजन घटाउने र मानवीय व्यवहारलाई नै परिवर्तन गर्छ। बच्चाहरू र विकासशील भ्रुणहरूमा, न्यूरोलजिकल विकासलाई बिगार्न सक्छ।
सुनकै कारण विश्वकै ठूलाठूला जंगल फडानी भएका छन्। मानवीय बस्तीमा असर पुगिरहेको छ। बहुमूल्य धातु मानिने सुनको वातावरणीय असर ज्यादै महँगो बन्दै गइरहेको छ। सुन उत्पादन गर्ने खानीले वातावरणमा असर पुर्याएको भन्दै वातावरणविदहरुले विरोध गर्दै आइरहे पनि खानी वरिपरिका बस्तीहरुले आर्थिक प्रलोभनमा परेर यस्तो कार्यलाई प्रश्रय दिँदै आएका छन्।
विश्वका सबैभन्दा १० ठूला सुन खानी
विश्वकै सबैभन्दा ठूलो सुन खानी अमेरिकाको नेभाडा गोल्ड माइन हो। यसले वार्षिक ११५ टन सुन उत्पादन गर्दै आएको छ। खानीको हिसाबले दोस्रोमा उज्वेकिस्तानको मुरुन्टाउ रहेको छ। तेस्रोमा रुसकाे ओलिम्पिडा छ। यस खानीबाट वार्षिक ४३ टन सुन उत्पादन हुने गरेको छ।
चौथो ठूलो सुन खानी डोमिनिकन रिपब्लिकमा रहेको पिउब्लो भिजो मानिन्छ। यस खानीबाट वार्षिक ३० टन सुनको उत्पादन हुने बताइन्छ। पाचौँ ठूलो सुन खानी पपुवा न्यूगिनीको लिहिरमा छ। यसले वार्षिक २७ टन सुन उत्पादन गर्दछ।

छैटाैं ठूलो सुन खानी अस्ट्रेलियाको काडिया भ्यालीले वार्षिक २७ टन उत्पादन गर्दछ। सातौँ ठूलो भनिने इन्डोनेसियाको ग्रासवर्गले वार्षिक २६ टन उत्पादन गर्छ। आठौँ स्थानकाे कङ्गोको किवालीले २५ टन उत्पादन गर्दछ। नवौँ ठूलो मालीको लोउलो गोउनकोटोले २२ टन उत्पादन क्षमता राख्दछ भने दशौँ ठूलो अस्ट्रेलियाको बोडिङटनले २१ टन उत्पादन गर्दछ। अफ्रिका सुनको प्रमुख स्रोत रहँदै आएकोमा पछिल्लो समय चीन अगाडि रहेको वर्ल्ड गोल्ड काउन्सिले जनाएको छ।
सुनको माग तथा आपूर्ति
विरोधका कारण विश्वमै सुनको उत्पादन घट्दै गएको छ। विश्व गोल्ड काउन्सिलका अनुसार सन् २०१९ मा सुनको उत्पादन एक प्रतिशतले घटेको छ। सन् २०२० मा पनि सुनको उत्पादन घट्ने अनुमान गरिएको छ। मागभन्दा कम उत्पादन हुँदा बजारमा यसको मूल्य बढिरहेको छ। यसले गर्दा ६ महिना अगाडि सुनको भाउले विश्व रेकर्ड बनाउदै प्रति औन्स २०४२ डलर पुग्यो।

सन् २०१९ को तथ्याङ्क अनुसार हाल विश्वमा सुनको सञ्चिति एक लाख ९७ हजार ५७६ टन रहेको छ। उक्त सुनमध्ये सबैभन्दा धेरै गरगहनाका लागि ४७ प्रतिशत प्रयोग भएको छ। सुनका गरगहना बनाउनका लागि ९२ हजार ९४७ टन प्रयोग भएको विश्व गोल्ड काउन्सिलले जनाएको छ।
त्यस्तै व्यक्तिगत लगानीका रुपमा २१ दशमलव ६ प्रतिशत होल्ड भएर रहेको छ। त्यस्तै संस्थागत होल्डिङ १७ दशमलब २ प्रतिशत रहेको छ। उनीहरुले ३३ हजार ९१९ टन सञ्चित गरेर राखेका छन्। हाल विश्वकै केन्द्रीय बैंकहरुले ३४ हजार ८९१ टन सुन सञ्चित गरेर राखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।