पोखरा– ‘काममा आएको आज तीन दिन भइसक्दा पनि काम भएको छैन। मालपोतको काम साह्रै ढिलो भयो’, पोखरा–१७ निवासी प्रणनाथ पौडेल गुनासो गर्दै थिए, ‘कर्मचारी थपेर भए पनि काम छिटो गर्नुपर्यो कार्यालयले।’
त्यस्तै, पोखरा सराङकोटका हरिकृष्ण तिमिल्सिना पहिलो एकदिनमा पाइने जग्गाधनीको पुर्जा अहिले एक साता लाग्ने गरेको गुनासो गरे।
‘जग्गा नामसारीको प्रक्रिया पूरा गर्न पनि धाएको धायै गर्नुपर्यो’, उनले दुःखेसो पोखे।
मालपोत कार्यालयबारे गुनासो गर्ने पौडेल र तिमिल्सिना मात्र होइनन्। कार्यालयको काम जनतामुखी र छिटोछरितो नभएको धेरैको गुनासो छ। उनीहरुले कार्यालय अपांगमैत्री नभएको समेत गुनासो गरेका छन्।
बिहानदेखि लाइन लागेर बसे पनि बीचैमा अरु मान्छे घुस्ने भएकाले अबेरसम्म बस्नुपरेको गुनासो गर्दै एक वृद्धाले भनिन्, ‘हामी बूढाबूढीलाई सजिलो हुने गराइदिनुपर्यो बाबु!’
सेवाग्राहीका गुनासो संकलन गर्न ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल र सुशासनका लागि नागरिक 8 कास्कीले राखेको संयन्त्रमा सेवाग्राहीहरु आफ्ना असजिला र असुविधाहरु पोख्दै थिए।

मालपोत कार्यालयमा आएका सबैजसो सेवाग्राहीले कर्मचारीले आफूहरुको कुरामा चासो नदिने गरेको बताए। उनीहरुको एउटै भनाइ थियो, ‘काम लिएर कार्यालय आउँदा कर्मचारीले रुखो बोलिदिन्छन्। जनतालाई उपयुक्त सल्लाह दिनुपर्नेमा हप्काएर पठाउँछन्।’
घारीपाटनका विष्णुप्रसाद पौडेलको गुनासो थियो, ‘पहिले–पहिले जग्गाको नक्सा प्रिन्ट निकाल्न आउँदा लेखापढीबाट बुझ्न पाइन्थ्यो। तर अहिले आएर धेरै ठाउँमा चहार्नुपर्छ।’
एउटै कामका लागि अरु काम छाडेर दिनहुँ मालपोत धाउनुपरेको उनको भनाइ थियो।
गुनासो संकलनका क्रममा सेवाग्राहीले लेखापढी गर्नेहरुलाई हटाएकोमा विरोध गरेका छन्। लेखापढी हुँदा काममा सजिलो भएको र आवश्यक काम–कारबाहीबारे बुझ्न सजिलो भएको उनीहरुको भनाइ थियो।
हेम्जाकी सविना दवाडीले पहिले लेखापढीले काम सजिलो गरिदिए पनि हाल हटाएपछि सेवाग्राही अलमलमा परेको बताइन्।
‘जग्गा रोक्का भएर आएको ४ दिनमा पनि फुकुवा भएको छैन, कहाँ के गर्ने थाहा छैन’, उनले भनिन्, ‘लेखापढीलाई कार्यालयमा प्रवेश गर्न मनाही गरिएको रहेछ। त्यसैले धेरै कष्टले प्रक्रिया अघि बढाइरहेका छौं।’
त्यस्तै, पोखराकै रामचन्द्र लामिछानेले कार्यालयमा प्राविधिक कर्मचारीको कमी भएको बताए। लेकसाइडका धर्मराज अधिकारीले एउटै दस्तखत लिन पनि धेरै वटा कोठा चहार्नुपरेको बताउँदै कार्यालय व्यवस्थित हुनुपर्ने माग गरे।
चापाकोटका जीवन दाहालले एकदिनमा हुने कामका लागि ७ दिन धाउनुपरेको बताए। काम मन्द गतिमा भएको बताउँदै उनले भने, ‘मालपोत अधिकृतले सेवाग्राहीलाई फाइदा पुग्नेगरी काम गरेको देखिएन।’
तर, मालपोत अधिकृत ज्ञानराज पाण्डेले मालपोतमा आएका गुनासो सामान्य भएको बताए।
उनले भने, ‘सेवाग्राहीको बानी बिग्रेको छ। जग्गाको काम हो। छिटो कसरी हुन्छ?’ पहिले–पहिले बिचौलियाले काम गरिदिने र हाल आएर महानगरले लेखापढी हटाएपछि सेवाग्राही केही मर्कामा परेको उनले बताए।
कार्यालयमा कर्मचारी संख्या पूर्ण रहेकाले थप नगरिने समेत पाण्डेले बताए। उनले भने, ‘सरकारले कर्मचारी बढाइदेला भन्ने होइन, घटाइदिने अवस्था छ। कर्मचारी थप्ने स्थिति छैन।’
उनले कार्यालयको कम्प्युटरमा समस्या आएकाले काममा ढिलो भएको प्रस्ट्याए।
कार्यालय अपांगमैत्री बनाउने कुरा चले पनि तत्काल लागू गर्न नसकिने जानकारी अधिकृत पाण्डेले दिए। त्यसका लागि नयाँ भवन बनाउनुपर्ने र केही समय लाग्ने उनको भनाइ थियो। अपांगमैत्री नभए पनि कार्यालयमा आएका सबै अपांग, सुत्केरी महिला, बालबालिका र वृद्ध सेवाग्राहीलाई प्राथमिकता दिँदै सेवा दिन आदेश दिएको बताए।
कार्यालयमा कामको चाप हुने र कर्मचारीलाई फुर्सद नमिल्ने भएकाले व्यवस्थित पार्न नसकिएको पाण्डेले स्विकारे। उनले भने, ‘बिस्तारै सबै प्रक्रिया अगाडि बढ्दै छ। हाम्रोतर्फबाट सुधारको प्रयास जारी छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।