अहिले एसइईको परीक्षा दिएर फुर्सदमा बसेका छोराछोरीलाई केमा व्यस्त राख्ने होला भनेर धेरै अभिभावकले सोचिरहनुभएको होला। केही समय पहिले एसएलसी सकिएपछि कलेज भर्ना नहुन्जेलको समय कम्प्युटर सिक्ने लहर चल्यो। कम्प्युटर प्रविधि सर्वसुलभ हुनुअघिसम्म त्यस्तो समयमा ल्याङ्ग्वेज सिक्ने चलनै थियो भन्दा पनि हुन्छ। पछि स्कुलहरुमा कम्प्युटर पढाइ हुन थालेपछि कम्प्युटर तालिमको माग कम हुँदै गयो।
सामुदायिक विद्यालय पढेका विद्यार्थीले भने अहिले पनि ल्याङ्ग्वेज क्लास र कम्प्युटर क्लास लिने गरेको देखिन्छ। केही समय ब्रिज कोर्सको पनि उत्तिकै दबदबा रह्यो। यसबाहेक व्यक्तित्व विकासका विभिन्न खालका तालिमहरुमा पनि किशोरकिशोरीहरु झ्याम्मिने गरेका छन्।
अभिभावकलाई यही बेला आफ्ना छोराछोरी बिग्रिएलान् भन्ने चिन्ता पनि उत्तिकै हुने गर्छ। १२-१३ वर्षको नियमित पढाइबाट बल्लबल्ल लामो फुर्सद पाउँदा किशोरकिशोरी कुलतमा फस्ने सम्भावना पनि रहन्छ। कुलतबाट पनि जोगाउने र जीवनोपयोगी सीप पनि सिकाउने उपयुक्त कुन ठाउँ होला त? अभिभावकले आफ्ना छोराछोरीलाई यो लामो छुट्टीमा कहाँ पठाउने?
हामीले बजारमा देख्ने विभिन्न खालका तालिमबाहेक किशोरकिशोरीलाई असल नागरिक बनाउनका लागि यो फुर्सदको समयमा उनीहरुलाई व्यस्त बनाउने केही तरिका प्रस्तुत छ।
१. स्वयंसेवा
सरसफाइ, वृक्षारोपण, रक्तदान कार्यक्रमजस्ता गतिविधिमा स्वयंसेवा गर्ने चलन पुरानै हो। स्वयंसेवाको दायरा फराकिलो छ। आफ्ना छोराछोरीलाई तपाईं छुट्टीको समयमा कुनै सामुदायिक विद्यालयमा स्वयंसेवाका लागि पठाउन सक्नुहुन्छ, जहाँ उसले आफूभन्दा साना विद्यार्थीलाई पढाइमा सघाउन सक्छ। त्यसबाहेक विद्यालयका अरु व्यवस्थापकीय काम, विद्यालयका अन्य गतिविधिमा पनि सहयोग गर्न सक्छ। यसले किशोरकिशोरीलाई व्यवस्थापन कला सुषुप्त रुपमा सिकाउँछ। यस्तो स्वयंसेवा अस्पताल, सामुदायिक भवन, वृद्धाश्रम आदिमा पनि हुन सक्छ।
२. इन्टर्नसिप
स्वयंसेवाजस्तै इन्टर्नसिपको दायरा पनि फराकिलो छ। इन्टर्नसिपका लागि ठूलै व्यावसायिक प्रतिष्ठानमा जानुपर्छ भन्ने छैन। अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाकी छोरी रेस्टुरेन्टमा काम गर्न गएको उदाहरण हामीले सुनेकै हो। डिपार्टमेन्टल स्टोर, रेस्टुरेन्ट, साना उद्योगहरुमा किशोरकिशोरीलाई सामान्य काम गर्नेगरी पठाउन सकिन्छ। जहाँ उनीहरु आफ्नो वरिपरिको 8 बुझ्नेगरी भिज्न सक्छन् र कमाउन पनि सिक्छन्।
३. भ्रमण
यस्तो लामो छुट्टीमा किशोरकिशोरीलाई निश्चित रकम दिएर देशका गाउँहरु घुम्न एक्लै पठाउन सकिन्छ। चलेका पर्यटकीय ठाउँहरुमा एक-दुई दिन समूहमा घुम्न जानुभन्दा यो फरक शैली हो। यस्तो एकल भ्रमणले व्यक्तिलाई आत्मविश्वासी बनाउनुका साथै देश र 8 बुझ्दै स्वावलम्बी बन्न मद्दत गर्छ। तर, यो उपाय केही खर्चिलो भने हुन सक्छ। यसरी भ्रमणमा पठाउँदा सुरक्षित रहन र अन्य आवश्यक पूर्वतयारी भने राम्रो गर्नुपर्ने हुन्छ।
४. शारीरिक श्रम
फुर्सदमा रहेका किशोरकिशोरीलाई बाटो, कुलो, इत्यादि गाउँठाउँमा हुने निर्माणको कामको जिम्मा नै दिन सकिन्छ। निश्चित तर थोरै पारिश्रमिक र काम सक्नुपर्ने अवधि पनि तोकेर श्रममा लगाउँदा किशोरकिशोरीले भोलि जुनसुकै पेशामा गए पनि श्रमको सम्मान गर्न सिक्छन्।
५. जनचेतना
यसका लागि विद्यालय वा समुदायमा रहेका क्लब वा संस्थाको भूमिका हुन सक्छ। छुट्टीको समयमा किशोरकिशोरीको समूह बनाएर समुदायमा आवश्यक जनचेतना फैलाउनका लागि सिर्जनात्मक अभियानहरु अघि बढाउने जिम्मेवारी दिन सकिन्छ। त्यसका लागि आवश्यक स्रोत-साधन जुटाउने तरिकाहरु पनि बताइदिएर यस्तो कार्यमा लगाउँदा किशोरकिशोरी 8प्रति उत्तरदायी हुने मात्रै होइन सिर्जनशील पनि बन्छन्।
६. उद्यम
उद्यमी परिवारमा हुर्किने कतिपय किशोरकिशोरीमा सानैदेखि उद्ममशिलता देखिन्छ। तर, सबैमा त्यो गुण र अवसर हुँदैन। लामो फुर्सदको समयमा आफ्ना छोराछोरीलाई आफ्नै क्षमता र हैसियतको उद्यम गरेर देखाउने वातावरण सिर्जना गरिदिन सकिन्छ। सुन्दा फिल्मी लाग्छ, तर यसले कालान्तरमा व्यक्तिलाई फाइदा गर्छ। स्रोत-साधन जुटाउन सानो रकम दिन पनि सकिन्छ वा उसले छानेको उद्यमका लागि स्रोत-साधन आफैं जुटाइदिन पनि सकिन्छ। एकदम साधारण उदाहरण के हुन सक्छ भने, पत्रिकाको थाक दिएर उसलाई थुन्चे बनाएर बजारमा बिक्री गर्न लगाउन सकिन्छ। यसमा लाग्ने श्रम र त्यसबाट आउने मुनाफाको भागीदार पनि उसैलाई बनाउन सकिन्छ।
यी त केही उदाहरण मात्र हुन्। उल्लेखित तरिकाहरुले किशोरकिशोरीलाई चलनचल्तीका तालिमले दिनेभन्दा ठूलो र महत्वपूर्ण जीवनोपयोगी सीप दिन सक्छ। तर, यसका लागि आफ्ना छोराछोरीसँग अभिभावकले नियमित संवाद र छलफल गर्दै आवश्यक सरसहयोग र मार्गदर्शन दिनुपर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।