काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि चितवनमा नेकपा कार्यकर्ताहरुबाटै भएको दुर्व्यवहारलाई लिएर पार्टीभित्रको विवाद बढ्ने देखिएको छ। दुर्व्यहार गर्नेहरु प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका भएको र पाण्डे पुष्पकमल दाहाल ‘प्रचण्ड’ – माधव नेपाल निकट भएका कारण यो घटनामा पनि सोही अनुसारका प्रतिक्रिया सार्वजनिक भएका छन्।
शनिबार राप्ति नगरपालिकामा आयोजित नेकपाको कार्यक्रममा पाण्डेले सम्बोधन गरिरहँदा उनीविरुद्ध नाराबाजी भएको थियो।
शनिबार साँझ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले घटनाको भर्त्सना गर्दै ट्विटरमार्फत धारणा सार्वजनिक गरे। ‘आज चितवन जिल्लाको राप्ति नगरपालिकाको पार्टी कार्यक्रममा स्थायी कमिटीका सदस्य एवं सांसद सुरेन्द्र पाण्डे माथि भएको सुनियोजित दुर्व्यवहारको घटना अति निन्दनीय एवं भर्त्सनायोग्य छ। यसप्रकारको व्यवहारलाई प्रोत्साहित गरेर कम्युनिष्ट आन्दोलनको मात्र होइन, कसैको पनि हित गर्दैन।चेत होस्’, श्रेष्ठले लेखेका छन्।
श्रेष्ठको जस्तै धारणा माधव कुमार नेपाल, झलनाथ खनाल लगायतका केही नेताले पनि लेखेका छन्।
तर, प्रवक्ता श्रेष्ठको धारणाप्रति भने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले असन्तुष्टि व्यक्त गरेका छन्। श्रेष्ठ प्रमुख रहेको नेकपा प्रचार विभागको उपप्रमुख थापा छन्।
आइतबार बिहानै ट्विट गर्दै थापाले शंकर पोखरेलमाथि भएको घटनाका बेला प्रतिक्रिया नदिएको र अहिले वक्तव्यबाजी गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।
‘बुटवलमा मुख्यमन्त्री शंकर पोखरेलले चढ्नुभएको गाडीमाथि ढुंगा प्रहार गरिँदा निदाउनुभएको थियो क्यारे! चितवनमा पार्टी एकता जिन्दावादको नारा लगाउँदा सुनियोजित दुर्व्यवहार देख्नुभएछ- गज्जब छ गुटगत अन्तर्दृष्टि र छनोटपूर्ण वक्तव्यबाजी! दुवै स्थायी कमिटी सदस्य- तब न नारायणकाजी!’, थापाको ट्विट छ।
गत असोज १८ गते मुख्यमन्त्री पोखरेल सबार गाडीमा कांग्रेस कार्यकर्ताले ढुंगा प्रहार गरेका थिए। काठमाडौंबाट भैरहवा हुँदै स्कर्टिङसहित बुटवल जाँदै गर्दा उनी सवार गाडीमा साँझ साढे ६ बजेतिर मिलनचोक नजिकै ढुंगा प्रहार भएको थियो। त्यतिबेला मुख्यमन्त्रीका अगाडि र पछाडि स्कर्टिङका ३ वटा गाडी थिए। ढुंगा प्रहार गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।