काठमाडौं- नेकपा नेता माधवकुमार नेपालले पूर्व अर्थमन्त्री समेत रहेका नेकपा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले मन्तव्य राख्दाराख्दै नाराबाजी र होहल्ला गर्नेमाथि कारबाही गर्न माग गरेका छन्। घटनाप्रति पार्टीको स्थानीय कमिटी सम्बन्धितलाई ध्यानाकर्षण गराएका नेता नेपालले कम्युनिस्ट पार्टीका कार्यकर्ताका लागि नसुहाउने काम भएको भन्दै भर्त्सनासमेत गरेका छन्।
चितवनको राप्ती नगर कमिटीको बैठकमा सहभागी भई नेता पाण्डेले मन्तव्य राखिरहेको बेला उनकै पार्टीकै कार्यकर्ताले होहल्ला र नाराबाजी गरेका थिए। नाराबाजीपछि प्रहरीले सुरक्षा दिएर नेता पाण्डेलाई कार्यक्रमस्थल बाहिर निकालेको थियो।
'पूर्वअर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य कमरेड सुरेन्द्र पाण्डे आज राप्ती नगर पार्टीको बैठकमा सहभागी भई मन्तब्य राखिरहेको बेला अनाधिकृत रूपमा प्रवेश गरेका केही ब्यक्तिहरूले सुनुयोजित रूपमा गरेको अभद्र व्यवहार तथा नाराबाजीको निन्दा एवम् भर्त्सना गर्दछु,' नेता नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
गृहजिल्ला चितवनका विकास आयोजनाहरूको अनुगमन तथा पार्टीका कार्यक्रमहरूमा सहभागी हुन नेता पाण्डे चितवन पुगेको बताइएको छ। पार्टीका नेताले बोल्दाबोल्दै हुलदंगा गर्नु कम्युनिस्ट पार्टीका कार्यकर्तालाई पटक्कै नसुहाउने भन्दै नेता नेपालले घटनाको भर्त्सना समेत गरेका छन्।
'सभ्य, सुसंस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्देश्य बोकेको कम्युनिस्ट आदर्श अवलम्बन गर्ने लोकतान्त्रिक कम्युनिस्ट पार्टीका लागि पटक्कै नसुहाउँने उक्त कार्य गर्ने/गराउने जोसुकै भएपनि छानबिन गरी कडा भन्दा कडा कार्बाही गर्न स्थानीय पार्टी एवम् सम्बन्धित सबैको गंभीर ध्यानाकर्षण गराउँछु,' उनले भनेका छन्।
यसअघि प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली र मदन भण्डारी फाउन्डेसनका विरुद्ध अभिव्यक्ति दिएपछि नाराबाजी गरी नेता पाण्डेलाई आफूहरूले बोल्न नदिएको युवा संघका नेता केदार आचार्यले बताएका थिए। मदन भण्डारी फाउन्डेसनले गुटबन्दी गरेको आरोप लगाएपछि आफूहरूले पाण्डेले बोल्दाबोल्दै कार्यक्रम स्थगित गराएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।