काठमाडौं–सरकारले सार्वजनिक यातायातको क्षेत्रलाई प्रविधिमैत्री बनाउने लक्ष्यअनुसार ‘लामो तथा मध्यम दूरीमा सञ्चालित यात्रुवाहक सार्वजनिक यातायात सेवाको अनलाइन टिकट खरिद–विक्री सम्बन्धी निर्देशिका–२०७७’ जारी गरेको छ। विभागले भीडभाडरहित र व्यवस्थित तरिकाले टिकट काट्ने पक्रियालाई प्रविधिमैत्री बनाउन यसैसाता निर्देशिका जारी गरेको हो।
पारदर्शी र प्रविधिमैत्री सार्वजनिक यातायातको योजना अनुसार अनलाइन प्रविधि सफ्टवेयर विकास गर्न निर्देशिका जारी गरेको विभागले जनाएको छ। अनलाइनबाट टिकट काट्ने व्यवस्थाले यात्रु तथा व्यवासयी दुवैलाई लाभ हुने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए। ‘अनलाइनबाट टिकट काट्दा यात्रु ठगिने, विचौलीया हावी हुने छैन। यसले विभागलाई अनुगमन र नियमन गर्न सहज हुनेछ,’ उनले भने।
यात्रुले अनलाइनबाट वा टिकट काउन्टरमै गएर टिकट खरिद गरे पनि विभागले विकास गरेको सफ्टवेयरमा इन्ट्रि अनिवार्य रुपमा गर्नुपर्ने छ। यसले गर्दा विभागलाई थप अनुगमन र नियमन गर्ने सहज हुने विभागको भनाइ छ। अनलाइन टिकट खरिद–विक्री प्रणाली सफ्टवेयर मोबाइल एप्स, कम्प्युटर तथा अन्य विद्युतीय प्रविधि प्रयोग गरी टिकट खरिद–बिक्री गर्न सकिने छ।
धेरै कम्पनीहरुले अनलाइन टिकट प्रयोगमा ल्याएका छन्। तर विभागको सफ्टवेयरमा जोड्न भने बाँकी छ। विभागले अनलाइन टिकट मोनिटरिङ गर्ने गरि संयन्त्र नै बनाएर नियमन गर्ने महानिर्देशक हमालले बताए। जुन–जुन सार्वजनिक यातायात कम्पनीले अनलाइन टिकट बिक्री गर्छन् उनीहरुको मोनिटरिङ विभागले गर्नेछ।
‘तत्कालै सञ्चालनमा रहेका सबै लामो तथा मध्यम दूरीका बसमा अनलाइन टिकट काट्ने व्यवस्था गर्न कठिन होला तर हामी क्रमिक रुपमा छिट्टै अनिवार्य गराउँछौं,’ हमालले भने, ‘यातायात कम्पनीहरुलाई यो सिस्टममा जान तत्काललाई समस्या हुन सक्छ तर यो प्रविधिमा सबै जानु पर्छ।’ मध्यम तथा लामो दूरीका यात्रुवाहक सार्वजनिक यातायात व्यवसायीहरुले प्रयोग गरेको सफ्टवेयरलाई विभागको सफ्टवेरसँग आवद्द गर्नुपर्ने छ।
सार्वजनिक यातायात कम्पनीहरुलाई विभागसँगको सफ्टवेयरसँग आवद्द गर्न अर्को सूचना जारी गरेर प्रविधिमैत्री बनाउदैं जाने विभागको योजना छ। विभागले तत्काल यो निर्देशिका जारी भएको जानकारी गराएको र सबै सरोकारवाला निकायसँग छलफल गरी सोही अनुसार आन्तरिक तयारी थाल्न सार्वजनिक यातायात कम्पनीलाई सुझाएको छ।
यसै अनुसार विभागले मध्यम तथा लामो दूरीमा सञ्चालित यातायात सेवा सञ्चालन गर्ने कम्पनी, फर्म र व्यवस्थापकहरुले अनलाइन टिकट बिक्री गर्दा अपनाउनु पर्ने विषय समेटेर निर्देशिका जारी गरेको हो। मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सेवा प्रदायकले अनलाइन टिकेटिङका यात्रीका लागि निर्धारित सिटहरु बिक्री भए–नभएको खुल्ने गरी सिट प्लान अनुसारको यात्री चलान बनाई सोको विवरण सफ्टवेयरमा प्रविष्ट गर्नुपर्ने छ।
विभागले कोभिड –१९ को संक्रमण जोखिम न्यूनीकरण गर्न र सार्वजनिक यातायात सेवा सहज, भरपर्दो एवं प्रविधिमैत्री बनाउन अनलाइन टिकट खरिद बिक्री प्रणालीलाई व्यवस्थित गर्न सरोकारवाला संस्थाहरुको समन्वयमा यो निर्देशिका तयार गरी लागू गरेको जनाएको छ।
टिकट बिक्री कक्षमा हुने भीड व्यवस्थापन एवं टिकट खरिद तथा बिक्री प्रक्रियालाई प्रतिष्पर्धी र पारदर्शी बनाउनका लागि प्रविधिको प्रयोग गरेर व्यवस्थापन गर्न लागिएको महानिर्देशक हमालले बताए। विभागले तोकेको भाडादरभन्दा अनलाइन टिकट खरिद–विक्री गरे बापत यात्रुबाट अतिरिक्त शुल्क लिन पाइने छैन।
यस्तो छ अनलाइन टिकट निर्देशिकाको व्यवस्था
मध्यम तथा लामो दूरीका यात्रुवाहक सार्वजनिक यातायात सेवा प्रदायकले आफ्नो विस्तृत विवरणसहित सवारी साधनका सबै सिटहरुलाई अनलाइन डिस्प्लेमा देखिने गरी राख्नुपर्ने छ। प्रचलित कानुनबमोजिम आरक्षण गरिएका सिटहरु सम्बन्धित लक्षित वर्गले पाउने गरी सुनिश्चित गर्नुपर्ने छ। यात्रीले जुनसुकै अनलाइन माध्यमबाट टिकट खरिद र सोको भूक्तानी सहज रुपमा गर्न पाउने व्यवस्था गर्नुपर्नेछ।
मोबाइल एसएमएस, कोड वा अन्य माध्यमबाट यात्रीले खरिद गरेको टिकटको सुनिश्चितताको प्रत्याभूति गर्नुपर्ने छ। एक पटक सिट नम्बर तोकिएर विक्री भइसकेको टिकट यात्रीले रद्द गरेको अवस्थामा वाहेक अन्य यात्रीलाई सो टिकट विक्री गर्न पाइने छैन।
यात्रीको नाम, ठेगाना, लिंग, मोबाइल नम्बर, सवारी साधनको नं, प्रस्थान र गन्तब्य स्थान लगायतका विस्तृत विवरणहरु अनिवार्य रुपमा सफ्टवेयरमा प्रविष्ट गर्नुपर्ने छ। टिकट रद्द गर्दा गाडी छुट्ने समयभन्दा २४ घण्टा अगाडि रद्द गरेमा १० प्रतिशत र त्यसपश्चात गरेमा ३३ प्रतिशत कटाएर यात्रीले जुन माध्यमबाट टिकट काटेको हो सोही माध्यमबाट सम्बन्धित व्यवसायीले फिर्ता गर्नुपर्ने व्यवस्था निर्देशिकामा उल्लेख छ।
यात्रा गर्ने दिन भन्दा कम्तिमा ३ दिनअगावै टिकट अनलाइनमा डिस्प्ले गर्नुपर्ने छ। तर दसैंतिहार लगायतका अन्य राष्ट्रिय चाडपर्वको समयमा भने कम्तिमा ३० दिन अगावै वा नेपाल सरकारले आवश्यक ठानेको बेला जुनसुकै समयमा टिकट खुला गर्नुपर्ने व्यवस्था गरिएको छ।
यात्रा गर्ने दिनभन्दा कम्तिमा ३ दिन अगावै सम्बन्धित सवारी साधनको डिस्प्ले गर्दा सवारी साधनको नम्बर, सिट नम्बर, प्रस्थानस्थल, प्रस्थान समय, सवारीको स्तर, भाडा दर, अन्तिम गन्तब्य स्थल र पुग्ने समय लगायतका आवश्यक विवरणहरु खुलाइएको हुनुपर्ने छ।
मध्यम दुरीमा १०० किलोमिटर भन्दाबढी तर २५० किलोमिटर भन्दा कम र लामो दुरीमा २५० किलोमिटरभन्दा बढीको दुरीलाई मानिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।