काठमाडौं- भन्सार विभागले गत आर्थिक वर्षबाट मालवस्तुको किटानी घोषणा गर्ने योजना बनाए पनि यो अलपत्र परेको छ। भन्सार एजेन्टले मालवस्तुको सम्पूर्ण विवरणसहितको किटानी घोषणा नगर्ने र भन्सारका कर्मचारीले पनि घोषणा फारम राम्रोसँग नहेर्दा किटानी घोषणा गराउने योजना कार्यान्वयन हुन नसकेको हो।
भन्सार विभागका तत्कालीन महानिर्देशक रामेश्वर दंगालले किटानी घोषणाको योजना अघि बढाएका थिए। गत आर्थिक वर्षलाई किटानी घोषणा वर्षका रूपमा यसलाई कार्यान्वयन गर्ने भनिए पनि त्यसो हुन सकेन।
भन्सारमा मालवस्तुको घोषणा गर्दा त्यसको विस्तृत विवरण उल्लेख गर्नु नै किटानी घोषणा हो। जस्तै, कुनै एउटा मोबाइल आयात भएको छ भने त्यसको नाम, ब्राण्ड, आकार, सिरिज, मोडलजस्ता मिहिन सूचना दिनुलाई नै किटानी घोषणा भनिन्छ। यसबाट कुन वस्तु कति परिमाणमा आयात भयो भन्ने यकिन तथ्यांक सरकारले प्राप्त गर्न सक्छ।
केही दिनअघि भएको भन्सारको वार्षिक समीक्षा गोष्टीमा अर्थ मन्त्रालयका राजस्व व्यवस्थापन महाशाखा प्रमुख रहेका दंगालले यस विषयमा प्रश्न उठाएका थिए। आफू महानिर्देशक भएका बेला अघि बढाइएको योजना कार्यान्वयनबारे उनले भन्सार विभाग र भन्सार कार्यालयका अधिकारीहरूलाई प्रश्न उठाएका थिए।
भन्सार विभागका महानिर्देशक सुमन दाहाल किटानी घोषणा गराउन सके यसले कुन वस्तु कति परिमाणामा आयात भयो भन्ने यकिन विवरण थाहा हुन सक्ने बताउँछन्। वस्तुको सम्पूर्ण विवरणसहितको किटानी घोषणा गराउने हो भने वास्तविक अंकमा राजस्व संकलन हुने दाहालको भनाइ छ। 'यसका लागि भन्सार एजेन्ट र कर्मचारी दुवै जिम्मेवार हुनुपर्छ,' उनले भने।
भन्सार एजेन्टले वस्तुको घोषणा गर्दा खरिद बिल वा बिल अफ एक्स्पोर्टमा उल्लेख भएको विवरण पनि पूर्णरूपमा भर्दैनन्। वस्तुको नाम, वर्गीकरण, दरबन्दीमात्रै उल्लेख हुँदा एउटै वर्गीकरणमा परेका फरक-फरक वस्तुको आयात कति भयो भन्ने तथ्यांक प्राप्त हुँदैन। उदाहरणका लागि किटानी जाहेरी नहुँदा आइफोन ७ र ८ कति कतिवटा आयात भयो भन्ने विवरण सरकारले थाहा पाउन सक्दैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।