काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि एकपटक विभिन्न मिडिया सम्पादकहरु गुनासो पोखेका छन्। भर्खरै गठन भएको मिडिया एलायन्सका पदाधिकारीहरुसँग बुधबार साँझ भएको भेटमा सञ्चारमाध्यमका सम्पादकहरुसँग गुनासो रहेको बताएका हुन्।
'सञ्चार जगतलाई केही भन्यो भने बुरुक्क उफ्रने प्रवृत्ति छ। यसो छोयो भनेदेखि बुरुक्क उफ्रिहाल्ने। करेन्ट लागेजस्तो। सञ्चार माध्यमले सरकारलाई दिनहुँ गाली गर्दा सहनुपर्ने। तर सञ्चार माध्यमलाई आफूले सुझाव दिँदा सहन्न भन्ने प्रवृत्ति सम्पादकहरुमा देखिएको छ,' प्रधानमन्त्री ओलीले भनेका थिए।
सरकारलाई दिनरात गाली गर्दा सहनुपर्छ भनेर सुझाव दिने सञ्चारमाध्यमले पनि सहने शक्तिको विकास गर्नुपर्ने उनको भनाइ थियो। ‘यो सञ्चारजगत यस्तो हो अरु जसलाई जे भनेपनि छुट पाइन्छ। सञ्चार माध्यमलाई अलिकति चिसिक्क भयो भने खपिसक्नु हुँदैन,' उनले भने, 'अलि अगाडि मसँग सम्पादकहरुले भेटनुभयो। तर उहाँहरुले मलाई हामीलाई यसो किन भन्नुभयो भनेर भन्नुभयो। मैले भने तपाईहरुलाई दिनरात गाली गर्दा हुन्छ। मैले अलिकति भनेँ भने तपाईहरु दिनरात गाली गर्ने मैले किन यसो गर्यौ भन्दा सहनुपर्छ भनेर सिकाउने? अनि मैले अलिकति भन्दा सहन नसक्ने के हो यो? आफूले भनेको भन्यै गर्ने यसो नगर्नुस् न भन्दा सहन सिक्नुपर्छ भन्ने? मैले अलिकति सुझाव दिएँ भने सहन्न भनिहाल्ने?’
प्रधानमन्त्री ओलीले नेपालमा अगाडि बढ्न चाहनेहरुको खुट्टा तान्ने प्रवृति रहेको पनि बताए। बाकसमा रहने भ्यागुताको उदाहरण दिँदै कोही पनि अगाडि बढ्न नसक्ने गरी खुट्टा तान्ने प्रवृति रहेको उनको भनाई छ।
प्रधानमन्त्री ओलीले मिडियाकर्मीहरुसँग विज्ञापन बोर्डको गठन छिट्टै हुने प्रतिबद्धता गरेका थिए। बोर्ड गठन नहुँदासम्म अन्य कुनै सरकारी संयन्त्रबाट विज्ञापन बजारको नियमन गरिने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।