काठमाडौं- चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउन मसान्तसम्ममा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३ दशमलव ४९ प्रतिशत देखिएको छ।
नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको साउन महिनाको तथ्यांकमा आधारित देशको आर्थिक तथा वित्तीय स्थीति प्रतिवेदनअनुसार गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा मुल्यवृद्धि नियन्त्रणमा देखिएको हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा उपभोक्ता मुद्रास्फीति ६ दशमलव ९५ प्रतिशत बराबर रहेको थियो।
गत साउन मसान्तसम्ममा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५ दशमलव ३८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २ दशमलव ०४ प्रतिशत रहेको छ। २०७६ साउनको तुलनामा २०७७ साउनमा दाल तथा गेडागुडी, माछा तथा मासु र सुर्तिजन्य वस्तुको मूल्य वृद्धि उच्च रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ। २०७७ असारको तुलनामा २०७७ साउनमा तरकारीको मूल्य २८ दशमलव २१ प्रतिशतले बढेकोछ।
यो अवधिमा काठमाडौं उपत्यकामा ३ दशमलव ३१ प्रतिशत, तराईमा ४ दशमलव ०२ प्रतिशत, पहाडमा २ दशमलव ७२ प्रतिशत र हिमालमा ४ दशमलव ०७ प्रतिशत मुल्यबृद्धि देखिएको छ। २०७६ साउनमा यी क्षेत्रहरुमा क्रमशः ८ दशमलव ६३ प्रतिशत, ६ दशमलव ४६ प्रतिशत, ६ प्रतिशत र ५ दशमलव ५७ प्रतिशत मुल्यवृद्धि रहेको थियो।
चालु आर्थिक वर्षको पहिलो महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ७ दशमलव ३३ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८ दशमलव २६ प्रतिशत रहेको थियो। यो अवधिमा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ७ दशमलव ४४ प्रतिशत, ८ दशमलव १० प्रतिशत र २ दशमलव ६३ प्रतिशत रहेको छ। निर्माण सामग्रीको थोक मूल्य भने २ दशमलव ३३ प्रतिशतले घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।