काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विद्युतीय बस किन्न आपूर्तिकर्ताहरुसँग मागेको आसयको विवरण सार्वजनिक गरेको छ। मन्त्रालयले गत असार ८ गते सार्वजनिक सूचना मार्फत विद्युतीय बसको उत्पादक र आपूर्तिकर्ता कम्पनीसँग उपलब्ध विद्युतीय बसबारे विवरण उपलब्ध गराउन भनेको थियो।
जसमा विभिन्न ४१ कम्पनीले आफूले नेपालमा उपब्ध गराउन सक्ने विद्युतीय बसको विवरण मन्त्रालयलाई बुझाएका छन्। विवरण बुझाउने कम्पनीमा भारतीयदेखि अस्ट्रेलियन कम्पनीसम्म छन्। त्यसमध्ये सबैभन्दा धेरै चिनियाँ कम्पनी रहेका छन्। ४१ ब्रान्डले ५५ वटा मोडलका बसको विवरण सरकारलाई दिएका हुन्।
प्राप्त विवरणका आधारमा मन्त्रालयले उपयुक्त स्पेसिफिकेसन बनाएर विद्युतीय बस खरिद गर्ने योजना बनाएको छ। मन्त्रालयले तयार गरेको स्पेसिफिकेसन अनुसार बस खरिदका लागि टेन्डर आह्वान गर्नेछ। मन्त्रालयले पहिलो लटमा कति बस किन्ने भनेर टुंगो लगाइसकेका छैनन्।
सरकारले सार्वजनिक प्रयोजनमा उपत्यकामा सञ्चालन गर्ने गरि ३ सय वटा विद्युतीय बस किन्ने निर्णय गरेको थियो। २०७५ पुसमा उक्त निर्णय गरेको सरकारले बस खरिदका लागि ३ अर्ब रुपैयाँ निकासा समेत गरिसकेको छ। सुरुमा साझामार्फत् बस किन्ने निर्णय गरेको सरकारले ३ अर्ब रकम साझा यातायातलाई दिएको थियो।
तर साझा यातायातले स्पेसिफिकेसन बनाउँदा बनाउँदै ढिलाइ गरेको अरोप लगाउँदै सरकारले गत माघको पहिलो साता साझालाई दिएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने निर्णय गरेको थियो। मन्त्रिपरिषदले साझाबाट पैसा फिर्ता लिने निर्णय गरेपछि बस किन्ने जिम्मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई दिएको थियो।
सोहीअनुसार मन्त्रालयले विद्युतीय बस किन्ने प्रक्रिया अघि बढाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।