काठमाडौं- दिन ढल्दै गएको छ। बिहानै उठेर भेडासिङ चोक आएका गणेश श्रेष्ठ दिउँसो ४ बजिसक्दा पनि उही ठाउँमा उसैगरी टोलाइरहेका छन्। छेउमा थोत्रिएको एउटा नाम्लो छ। साथमा बेलुका कसरी चुल्हो बाल्ने भन्ने चिन्ताले पिरोलिएको मन।
दिन ढल्दै गए पनि भारी बोक्न कोही बोलाउन आउँछन् कि भन्ने गणेशको आशा अझै ढलेको छैन।
‘दिनभरी भारी बोक्न पाइएन। साँझसम्म कसैले बोलाउँछन् कि भन्ने छ। आज भारी बोक्न पाइएन भने त के खाने होला? हिजो अस्ती त बिहान बेलुका रत्नपार्कमा खाना बाँड्थे। आज त त्यो पनि सरकारले बाँड्न दिँदैन भन्छन्,’ सुनाउँदै गर्दा गणेशका आँखा टिलपिलाए। अनुहार रातो भयो। बोल्दाबोल्दै उनले आँखा चिम्म गरे। केही समय उनी निःशब्द भए।
केही दिन त रत्नपार्कमा सहयोेगी मनहरुले बाँडेको खानाले नै उनको छाक टरेको थियो।
आफ्ना पाखुरी बजारेर जहान पाल्दै आएका गणेशलाई आजभोलि आफ्नै पेट भर्न समेत अरुको आश गर्नुपर्दा निकै दुःख लागेको छ।
त्यसमाथि लकडाउन र निषेधाज्ञा जारी गरेर ५ किलो चामल थमाएको सरकारसँग निकै रिस उठेको छ।
‘एकदुई दिन होर ? ६/६ महिना बन्द भयो। हामीजस्तो दिनभरी मजदूरी गरेर बिहान बेलुका चुलो बाल्नेहरुको अवस्था के भयो होला? हामी कसरी बाँचेका छौं सरकारले यसमा केही सोचेन,’ आफ्नो हात आफैं सुम्सुम्याउँदै गणेशले सुनाए।
६ महिना भयो घरी लकडाउन त घरी निषेधाज्ञा हुँदा गणेशको घरमा ढुक्कसँग चुलो बल्न नसकेको।
भारी बोक्न बन्द हुँदा भोक लाग्न पनि बन्द भएको भए पो! भोक मेट्न केही सहयोगी मनहरुसम्म पनि उनले हात पसारे। ‘आफूमात्रै भए त एकदिन खाइन्थ्यो एकदिन भोकै बस्दा पनि सहिन्थ्यो। दुई छोराहरु छन्। उनीहरुको काम पनि ६ महिनादेखि छैन’ गणेश सुनाउँछन्।
कति रातहरु त गणेशले भोकभोकै पनि कटाइदिएका छन्। खाने कुरा नै नभएपछि के गरुन्? बेलुका त केही समय निदाउँछन् र रात कट्छ। भोको पेटमा दिन कटाउन पो मुस्किल पर्छ उनलाई।
छोराहरुसँगै बस्दै आएका गणेशले सामान्य अवस्था हुँदा त राम्रो कमाइ गर्थे। जे होस् खान बस्नलाई समस्या भएको थिएन। बिहान बेलुका होटलमा काम गर्थे। दिनभरी भारी बोक्न असन इन्द्रचोक निस्कन्थे। सामान पुर्याउँदा बाटोको दूरीअनुसार भारीको पैसा लिन्थे।
भेडासिङबाट एउटा भारी बाङ्गेमुढा पुर्याएको १ सय रुपैयाँ लिन्थें। डल्लु पुर्याएको २ सयसम्म लिन्थे। अझै लामो बाटो सामान बोकेर पुर्याउँदा अलि बढि लिन्थे। छोटो दूरीमा भारी पुर्याउँदा ५० रुपैयाँसम्ममा पनि बोकिदिन्थें। यसरी उनी दिनको १५ सय कमाइ गर्थे।
उनको कमाइले केही खर्च टर्थ्यो केही खर्च छोराहरुले पनि गर्थे।
‘कोठाभाडा म आफैं तिर्थें, ग्याँस ल्याउँथे। खानका लागि छोराहरुको कमाइ पनि थपथाप हुन्थ्यो। थोरै पैसा पनि बचाएको पो थिएँ’ उनको ओेठमा सानो हाँसोको धर्सो देखापर्यो र ओठबाटै बिलायो।
क्रमशः उनका निधारमा चाउरीएका धर्साहरु बढ्दै गएका छन्। बल घट्दै गएको छ। बुढ्यौली बढ्न थालेसँगै उनले आफ्नै पुर्ख्यौली थलो दोलखा चरिकोट फर्कने सोच बनाएका थिए। तर गाउँ फर्किएर ओत लाग्ने छानो नहुँदा केही समय भारी बोक्ने कामलाई नै निरन्तरता दिएर पैसा जम्मा गर्ने उनको सोच थियो।
थोरै बचाएर भए पनि दोलखामा चिटिक्क परेको घर बनाउने सपना थियो। लकडाउनभन्दा अगाडि भारी बोकेको पैसाबाट उनले २० हजार बचत गरेका थिए।
त्यो घर बनाउन भनेर बचाउन सुरु गरेको २० हजार पनि मासिक ५ हजारका दरले ४ महिनाको कोठा भाडामा सकियो। अझै २ महिनाको त तिर्नै बाँकी छ। अहिले काम नभएकाले उनले त्यो बाँकी भाडा दशैँपछाडि दिन्छु भनेका छन् रे।
‘अब त भारी बोकेर खान नसक्ने भइसकें। त्यसमाथि अहिले त काम छैन। बल्ल अब एकदुई दिन पसल खुल्न दिन सुरु गर्ने भनेको छ।
यतिबेलाको कमाइले त सास अल्झाउन मुस्किल छ घरबेटीलाई दशैंपछि दिन्छु भनेको छु’ कसैले भारी बोक्न बोलाउँछ की भनेर घरिघरि उनका नजर यताउता डुलिरहेका थिए।
आमाको निधनपछि १० वर्षको कलिलै उमेरमा घर छाडेर गणेश काठमाडौं आएका थिए। काठमाडौंमा आएर सुरुमा उनले होटलमा भाँडा माझ्ने काम थालेका थिए। केही वर्ष होटलमा भाडा माझ्ने काममात्रै गरे। पछि विवाह गरे। दुई छोराहरु पनि जन्मिए। त्यसपछि उनको काँधमा अझ जिम्मेवारी थपियो।
होटलको कामले मात्रै नपुग्ने भयो। अनि होटलको कामसँगै गणेशले भारीसँग पनि खुसी साट्न थाले। भारी बोकेरै श्रीमती र छोराहरुलाई खुसी राख्ने सपना थियो उनको। आफूले पढ्न नसके पनि छोराहरुलाई पढाउने इच्छा थियो। छोराहरु हुर्किँदै थिए। श्रीमतीले उनलाई छाडेर दोस्रो विवाह गरिन्।
‘आफू त पढिएन। छोराहरु राम्रोसँग पढून् भनेर दुःख गरें। न त छोराहरुले पढे। श्रीमती पनि अन्तै गइन्’ गणेशको अनुहारमा अँध्यारो मिसिएको थियो।
कहिले जुठा भाडासँग त कहिले भारीसँग संघर्ष गर्दागर्दै उनको उमेरले ४ दशक नाघिसकेको छ। अझै पनि असन इन्द्रचोकका गल्लीहरुमा भारीकै पर्खाइमा छन् उनी।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।