काठमाडौं- निजी अस्पतालमा कोरोना परीक्षण गर्ने एक हजारभन्दा धेरै बीमितले कोरोना बीमाको दाबी पाउन सकेका छैनन्। अहिलेसम्म बीमा कम्पनीमा १२ सय २८ जनाले दाबी भुक्तानी पाउन सकेका छैनन्।
बीमा समितिले दिएको तथ्याङ्क अनुसार एक लाख रुपैयाँको कोरोना बीमा गर्ने २१३ जनाले दाबी पाएका छन्। त्यस्तै ५० हजार रुपैयाँको कोरोना बीमा गर्ने २६ जनाले मात्रै दाबी पाएका छन्।
बीमा कम्पनीमा ५० हजार रुपैयाँको बीमा गर्ने १२९ जना दाबी भुक्तानीको लागि निवेदन दिएका छन् भने एक लाख रुपैयाँको बीमा गर्ने १ हजार ९९ जनाले दाबी भुक्तानीका लागि निवेदन दिएका छन्।
कम्पनीहरुले ११ करोड ६३ लाख ५० हजार रुपैयाँको दाबी भुक्तानी गरेका छैनन्। सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले २०० जनाको दाबी भुक्तानी गरेको छैन।
बीमा समितिले कोरोना बीमा मापदण्ड २०७७ को नियम १२ को व्यवस्थालाई टेकेर दाबी नगरेका हुन्। मापदण्डको नियम १२ मा 'नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट पिसिआर परिक्षण गर्दा कोरोना भाइरस कोभिड १९ रोग संक्रमण देखिएको प्रमाण पेश भएमा ७ दिनभित्र दाबी भुक्तानी गर्नुपर्नेछ' भनिएको छ।
बीमा समितिले पनि निजी अस्पतालमा कोरोना परिक्षण गर्नेलाई दाबी भुक्तानी नगर्न पत्राचार गरिसकेको छ। जवकी अहिले कोरोना परिक्षण गर्नका लागि स्वास्थ्य मन्त्रालय अन्तर्गतको निकायले नै अनुमति दिएको हो। कुनै पनि अस्पतालले स्वस्थ्य मन्त्रालयको अनुमति विना कोरोना परीक्षण गर्न पाउदैनन्।
परीक्षणको लागि अनुमति दिने तर मान्यता नदिने बीमा समितिको रवैयाले बीमितले दाबी पाउन नसकेका हुन्।
हालसम्म २० निर्जीवन बीमा कम्पनीले एक लाख १२ हजार ७७८ वटा कोरोना बीमाको पोलिसी बिक्री गरिसकेका छन्। उक्त पोलिसीमार्फत् ९ लाख ६४ हजार ५०९ जना बीमित भइसके। बीमा कम्पनीले उक्त पोलिसी बिक्री गरेर ५४ करोड ४६ लाख रुपैयाँको प्रिमियम संकलन गरिसकेका छन्।
कोरोना बीमा बिक्री गरेर ५४ करोड ४६ लाख रुपैयाँ आम्दानी गर्दा ११ करोड ६३ लाख रुपैयाँको दाबी परेको छ भने दुई करोड २६ लाख रुपैयाँ दाबी भुक्तनी गरिसकेको छ। कोरोना बीमा दिनानु दिन बढिरहेका छन्। यसले गर्दा बीमा कम्पनी र बीमा समिति भोलिका दिनमा भुक्तानी गर्नुपर्ने दाबीबाट उन्मुक्ति पाउन विभिन्न बहाना कुरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।