काठमाडौं- प्रविधिको विकाससँगै अटोमोबाइल क्षेत्रमा पनि नयाँ प्रविधिहरु भित्रने क्रम तीव्र छ। विश्वका ठूला सवारी उत्पादकहरुले गाडी तथा मोटरसाइकलमा सुरक्षा र विलाशिताका लागि विभिन्न विशेषताको विकास गरिरहेका छन्।
त्यस्तै मध्येको एक विकास हो एन्टिलक ब्रेकिङ सिस्टम अर्थात् एबिएस। यो प्रविधि विश्व बजारमा निक्कै अघि आएको भएपनि नेपाली बजारमा केहीमा आइसकेको र केही सवारी आउने क्रममै रहेको छ। हाल उपलब्ध अधिकांश कार तथा १५० सिसीभन्दा माथि सेग्मेन्टका मोटरसाइकलमा एन्टिलक ब्रेकिङ सिस्टम (एबिएस) सहित आउने गरेको छ।
नेपालमा बिक्री हुने करिब ८० प्रतिशत सवारीसाधन भारतबाट आयात हुने गरेको छ। भारत सरकारले बनाएको नयाँ सवारी सुरक्षा नीतिमा १ सय ५० सिसीभन्दा बढी इन्जिन क्षमता र सबै कारमा एबिएस अनिवार्य गरेको छ। पुरानो ब्रेकिङ सिस्टमको तुलनामा एबिएस सुरक्षाका दृष्टिले निक्कै सुरक्षित मानिन्छ।
एबिएसयुक्त सवारीसाधनमा आपतकालीन अवस्थामा ब्रेक लगाउदा पांग्रालाई एकै पटक लक हुनबाट बचाउन यसको प्रयोग गरिन्छ। यसमा उपलब्ध सेन्सरले सवारीको गतिलाई नियन्त्रण गर्ने गर्छ र ब्रेकिङको समयमा पांग्रा लक हुन पाउँदैन।
मुख्यतः एबिएसले लामो दूरीको यात्रालाई सुरक्षित बनाउन मद्दत गर्छ। यसले चिप्लो, अप्ठेरो सडकमा ब्रेक लगाउँदा सहजै सवारी रोक्न सहयोग गर्छ।
चालक तथा प्यासेन्जरको सुरक्षालाई मध्यनजर गर्दै अधिकांश अटोमोबाइल कम्पनीले आफ्ना उत्पादनमा एबिएसलाई अनिवार्य नै गरेका छन्।
विश्वका विभिन्न मुलुकले एबिएसको विशेषता नदिएका सवारीको उत्पादन तथा बिक्रीमा समेत रोक लगाउने निर्णय गरिरहेका छन्। तर नेपालमा भने सरकारले स्पेसिफिक सुरक्षा विशेषताको विषयमा कुनै निर्णय गरेको छैन। नेपालमा भारतमा कायम गरिएको विशेषतालाई नै अघोषित मान्यता दिएको देखिन्छ।
एबिएसले कसरी गर्छ काम?
सवारीसधानमा उपलब्ध एबिएस प्रणालीले चालकलाई स्टेयरिङमाथि नियन्त्रण गर्न सहज बनाउँछ। कतिपय अवस्थामा एबिएसले एन्टि स्किड ब्रेकिङको काम समेत गर्छ। यसले पांग्रालाई जमिनमा नियन्त्रित भइराख्न मद्दत पुर्याउँछ।
अकस्मात ब्रेक लगाउँदा पांग्रा चिप्लन गई हुन सक्ने दुर्घटनालाई नियन्त्रण गर्न एबिएस प्रणाली जडान गरिएको हुन्छ। एबिएसले ब्रेक फ्लुड प्रेशरलाई कन्ट्रोल गर्छ भने ब्रेकिङ पर्फमेन्सलाई उत्कृष्ट बनाउन सहयोग गर्छ। एबिएसमा उपलब्ध प्रमुख विशेषताहरु यस्ता छन्ः
स्पिड सेन्सर
एबिएसमा उपलब्ध स्पिड सेन्सरले कारको चक्काको गति कस्तो छ भन्ने अध्ययन गरिरहेको हुन्छ। सेन्सरले पांग्राको एक्सेलेरेशन र डिक्लेरेशनलाई निगरानी राख्ने गर्छ।
भल्भ
एबिएसमा उपलब्ध भल्भले ब्रेकिङको समयमा एयर प्रेसरलाई नियन्त्रित गर्छ। एबिएसको सिस्टमअनुसार भल्भसँग जोडिएको ब्रेक सो समयमा खुल्ने गर्छ। यसमा उपलब्ध मास्टर सिलिन्डरबाट हावाको दबाब ब्रेकतर्फ जान्छ। दोस्रो चरणमा ब्रेकको भल्भ बन्द हुन्छ र मास्टर सिलिन्डरमा दबाब परिरहन्छ। तेस्रो चरणमा भल्भमा थोरै प्रेसर बनाइराख्छ भने मोटरसाइकल वा गाडी नरोकिएसम्म एकै प्रक्रिया दोहोरिरहन्छ। जसका कारण ब्रेक लगाउँदा चक्का एकैपटक नभई बिस्तारै गुडेर रोकिन्छ।
इलेक्ट्रोनिक कन्ट्रोल युनिट
इलेक्ट्रोनिक कन्ट्रोल युनिट अर्थात् इसियुले सेन्सर सिग्नल दिएपछि त्यसलाई मजबूत बनाउँछ। त्यसपछि यसले फिल्टर गर्छ। सबै डाटाको जाँचसकेपछि चक्काको गति र स्पिडलाई आँकलन गर्छ।
हाइड्रोलिक कन्ट्रोल युनिट
एबिएसमा हुने हाइड्रोलिक कन्ट्रोल युनिटले इलेक्ट्रोनिक कन्ट्रोल युनिटबाट सिग्नल पाएपछि उक्त सिग्नलको आधारमा आवश्यकताअनुसारको ब्रेक लगाउने र छोड्ने काम गर्छ। कहिले काहीँ ब्रेकमा दबाब बनाइराख्छ। यसले हाइड्रोलिक दबाब बढाएर ब्रेकमा नियन्त्रण राख्छ। त्यसैले पुरानो ब्रेकिङ सिस्टमको तुलनामा एबिएसलाई सुरक्षित ब्रेकिङ सिस्टम मानिन्छ र सबै जसो सवारी उत्पादकले यसको प्रयोग गरिरहेका छन्। यो सिस्टम समावेश गरिएको सवारीसाधन तुलनात्मक रुपमा केही महंगो भने हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।