काठमाडौं- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको स्थायी कमिटी बैठक सुचारू गर्न माग गरेका छन्।
'हाम्रो पार्टीको आजको संकटको निकासको निम्ति जारी स्थायी कमिटीको बैठक तुरुन्त सुचारु गरौं', फेसबुकमा प्रवक्ता श्रेष्ठले लेखेका छन्, 'सबै बैठकमा उपस्थित भएर आ-आफ्ना विचार राखौं र छलफल गरौं।'
उनले आवश्यकता अनुसार शीर्षस्थ नेताहरुको बीचमा र सचिवालयमा गृहकार्य गर्न सकिने बताएका छन्।
'बैठकले पार्टी एकताको रक्षा, यथास्थितिमा गुणात्मक परिवर्तन र केन्द्रीय कमिटीको निर्णय अनुसार महाधिवेशनको तयारी गर्ने गरी निकास निकालौं', श्रेष्ठले लेखेका छन्।
यथास्थितिमा गुणात्मक परिवर्तन कुन रुपमा कसरी गर्ने भन्ने बारेमा अहंकार र पूर्वाग्रहबाट माथि उठेर छलफल गर्न र अतिवादबाट मुक्त हुँदै आजको आवश्यकतालाई सम्बोधन गर्ने गरी निष्कर्ष निकाल्न उनको प्रस्ताव छ।
'पार्टी भित्रको बहस र अन्तरसंघर्षलाई सत्यौन्मुख रुपान्तरणको साधन बनाऔं, व्यक्तिको हार र जीतको विषय होइन', उनको भनाइ छ, 'पार्टी, कम्युनिस्ट आन्दोलन, देश र जनतालाई विजयी बनाऔं।'
व्यक्तिगत आरोपप्रत्यारोप वा गालीगलौजका रुपमा होइन, वैचारिक, सैद्धान्तिक, राजनीतिक र प्रवृत्तिगत विषयमा छलफल गर्न उनको प्रस्ताव छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।