भजनी (कैलाली)-भजनी नगरपालिका ८ सोनाफाँटाकी देवी चौधरी हुलाकी सडकमा पाल लगाएर बसेकी छिन्। यो वर्षमात्रै नभएर हरेक वर्षायाममा उनको सोही सडकमा बास हुन्छ।
सडकको किनारामा बनाइएका पालभित्रै बसेको अवस्थामा भेटिएकी देवीले भनिन्–‘हरेक वर्ष घरभित्र पानी पस्छ। अनि यहीँ (सडकमा) बास हुन्छ।
यस वर्षको बाढीले पनि उनको घर पुरै भत्काएको छ।
पानीको सतह घटेर अधिकांस मानिस आ–आफ्नो घर गइसके। तर, साउन १५ देखि हुलाकी सडकमा बसेकी देवीलाई कहाँ गएर बस्ने भन्ने चिन्ता छ। ‘अहिलेसम्म चाउचाउ, चिउरा मात्र खाएर बसेकी छु’ उनले भनिन्।
उनले घरभित्र रहेको अन्नपात र धान खेतीमा सबै बाढीले क्षति पुर्याएको बताइन्। उनले भनिन्, ‘अचानक आएको बाढीले गहुँ, धान, सबै सम्पति सत्यनास भइहाल्यो। वर्षभरि कसरी गुजारा गर्ने होला ?’
भजनी नगरपालिका ८, गड्चौराका पुनाराम चौधरीको घर पनि बाढीले क्षतविक्षत बनाएको छ। काठका खाट, लत्ताकपडा, भाडाकुडासम्म बचेका छन्। सुत्ने कोठामा राखिएको धान सबै गलेका छन्। छरिएका केही धान उम्रन थालेका छन्। घरभित्रै काठको मुडा पनि छ। हेर्दा लाग्छ, यो खेतबारी हो। साउन १५ गतेको बाढीले अहिले उनलाई विस्थापित गराएर सडकमै बसाएको छ।
‘खानपिनको निकै समस्या छ,’ घरको अवस्था देखाउँदै पुनारामले भने, ‘अहिले हामी चामलका कनिका खाएर भोक मेटिरहेका छौं।’
छ जनाको परिवार रहेका उनका अहिले चार जना सडकको पालमै बसिरहेका छन्। उनले भने, ‘बाढीले घरभित्रको थन्काएको गहुँ र धान बगायो। खेतबारीमा पनि क्षति पु¥यायो, तत्काल कहाँबाट पैसाको जोहो गर्ने भन्ने चिन्ता छ।’
सोही गाउँकी सविता चौधरी बुधबार सडकको बासबाट घर फर्केकी थिइन। पानीको सतह घटेपछि घर पुगेकी उनी घरमा पुगेको क्षतिले चिन्तित थिइन्। ‘दुई भकारी (डेहरी) धान, गहुँ, तोरी, सबै बाढीले बगायो’ उनले भनिन्, ‘अब खानलाई केही छैन।’
अहिले भजनी नगरपालिकामा पानीको सतह घट्दै गएपछि विस्थापितहरू धमाधम घर फर्कने क्रम जारी छ। तर, घरभित्र राखिएको अन्नपात बगाएपछि कसरी गुजारा गर्ने भन्ने चिन्ता उनीहरूको छ। यस वर्ष भजनी नगरपालिकाको वडा नम्बर ८, ५, ३, २, ६ र ७ बाढीबाट बढी प्रभावित भएका थिए।
भजनी नगरपालिकामा दुई हजार चार सय १४ घरपरिवार वाढीबाट प्रभावित भएका छन्। त्यसमध्ये एक हजार छ सय ७१ परिवार पूर्णरुपमा प्रभावित भएको नगरपालिकाले जनाएको छ।
भजनी नगरपालिका जस्तै कैलालीको जोशीपुर र जानकी गाउँपालिका तथा टीकापुर नगरपालिकामा पनि यस वर्षको बाढीले निकै क्षति पुर्याएको छ।
दिगो समाधान खोजियोस् : बाढीपीडित
भजनी नगरपालिका ८ छछरवाका भलमन्सा सुमेन्द्रबहादुर चौधरीले सरकारले दिगो समाधानको योजना सरकारले ल्याउनुपर्ने माग गरे।
‘हामीले १० वर्षअघि यहाँ जैविक तटबन्धन बनाएका थियौं। त्यो तटबन्धनले बस्तीलाई जोगाएको थियो,’सुमेन्द्रले भने, ‘यस वर्ष पानीको सतह बढी हुँदा बनाएको बाँध पनि बगायो। जसले गर्दा यहाँका सबै घर डुबानमा परे।’
उनले यथाशीघ्र बस्ती बचाउने योजना ल्याउन सरकारसँग माग गरे। तत्कालका लागि जैविक तटबन्धन योजना ल्याएर र दिगो रुपमा बस्ती संरक्षण गर्न ‘र्याम्प ड्याम’को कार्यक्रम अघि बढाउन सुझाव दिए।
भजनी नगरपालिका ८ कान्द्रा र पथरैया नदीका कारण जोखिममा रहेको छ। योसँगै काँडा नदीले पनि सो बस्तीमा असर गर्ने गरेको स्थानीय वीरबहादुर चौधरीले बताए।
पथरैया नदीकै कारण भजनी नगरपालिका ८ को जनकपुर, दैलेखी टोल, भर्तान टोल पनि जोखिममा छ। जनकपुरका स्थानीय ज्ञानबहादुर रावलले भने, ‘पथरैया नदीले १६ वर्षदेखि कटान गरिरहेको छ। एक सय मिटर उत्तरपिट्ट रहेको यो नदी अहिले कटान गर्दै खेतीयोग्य जमिनसम्म पुग्न लागिसकेको छ।’
ज्ञानबहादुरले कटान रोक्न राज्यबाट कुनै पनि पहल नभएको गुनासो गरे। उनले १० फिटभन्दा अग्लो १२ मिटरसम्म र्याम्प ड्यामको तटबन्धन कार्यक्रम सरकारले ल्याउनुपर्ने माग गरे। तटबन्धन भएमा वडा नम्बर ८ को जनकपुरदेखि सुनाफाटासम्मका वस्ती विस्थापित हुनबाट जोगिने उनको भनाइ छ। उनले कटान रोक्न बलौटे माटोमा बाँस राखेर तटबन्धन गरेको उल्लेख गर्दै भने, ‘तर नदीको बहावलाई यो तटबन्धनले थेग्न सकेन।’
अरुले छोरा नगुमाउन् : रमेश चौधरी
रमेशकुमार चौधरी ३३ वर्षदेखि भजनी नगरपालिकाको जनकपुरमा बस्दै आएका छन्। हरेक वर्ष बाढीको त्रास त उनले झेल्दै आएका थिए। तर, यस वर्ष भने उनले आफनो १० वर्षीय छोरा गुमाउनुपर्यो।
उनले भने, ‘बाढीको समस्या यहाँको पुरानै हो, तर कुनै पनि सरकारले समाधान दिएन।’
रमेशलाई बाढीमा छोरो गुमाउँदा पीडामा छन्। भने, ‘मैले जेका कारण छोरा गुमाएको छु। त्यसको समाधान सरकारले ल्याउनुप¥यो, यो समस्याका कारण अन्यका छोराछोरीले ज्यान नगुमाउन्।’
पथरैया नदीको बहावले ल्याएको बाढीबाट रमेशका १० वर्षीय छोरा इजकेल चौधरीले ज्यान गुमाउनुपरेको थियो।
रमेशले दिगो तटबन्धनका कार्यक्रम र बस्ती विकासका कार्यक्रम ल्याउन सरकारसँग माग गरे। उनले स्थानीय बासिन्दाले हरेक वर्ष रोकथामका प्रयास गर्दै आएको बताए। उनले भने, ‘यहाँ स्थानीयले बाँस, जैविक तटबन्धन लगायतका काम गरेर बाढीबाट हुने क्षति रोक्ने प्रयास गरेका छन्। तर, त्यसले ढुक्क हुने अवस्था छैन।’
श्रमदानबाट बनाएको बाँध बग्यो
जोशीपुर गाउँपालिका ३ स्थित काँडा नदीमा स्थानीयहरूले श्रमदान गरेर उच्च बाँध बनाएका थिए। काँडा नदीले बस्तीमा असर नपुर्योस भनेर उनीहरूले सो बाँध बनाएका थिए।
स्थानीय नैनबहादुर चौधरीले भने, ‘हामीले श्रमदानबाटै यो बाँध बनाएका थियौ। यस वर्ष नदीले अढाइ किलोमिटर काटेर बस्ती नै डुवानमा पर्योे।’ उनका अनुसार जोशीपुर गाउँपाालिकाको यो बाँध फुट्दा भजनी नगरपालिकाका अधिकांश वडामा क्षति पुगेको छ।
उनले स्थानीय तथा प्रदेश सरकारले दिगो रहने र बस्ती सुरक्षित रहने गरी बाँध निर्माणको कार्यक्रम ल्याउनुपर्ने सुझाव दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।