काठमाडौं- नेपालमा कृषि बालीमा विषादीको प्रयोग मापदण्डअनुसार नहुँदा वातावरण र मानवीय जीवनमा असर पर्ने गरेको छ।
नेपालमा मापदण्ड र नियमविपरीत कृषि बालीमा विषादीको प्रयोग हुँदा वातावरणमा पर्ने असर विकसित देशहरुमा भन्दा उच्च रहेको छ। विषादी विज्ञ भक्तराज पालिखेले नेपालमा कृषि बालीमा विषादीको प्रयोग मापदण्ड र नियमविपरीत हुने गरेको बताए। उनले विषादीलाई औषधिको रुपमा प्रयोग गरिने सोचलाई परिवर्तन गर्नुपर्ने बताए।
तथ्याङ्कअनुसार विकसित देशहरुमा प्रतिहेक्टर २ किलोभन्दा बढी विषादीको प्रयोग हुन्छ। नेपालमा प्रतिहेक्टर ३ सय ९६ ग्राम विषादी खपत हुने गरेको बताइन्छ। जुन अत्यन्तै कम हो। तर कम विषादीको प्रयोग हुँदापनि मापदण्डअनुसार नहुँदा नेपालको वातावरण र जनसंख्यामा नकारात्मक असर पर्ने गरेको छ। विज्ञ पालिखेले विकसित मुलुकमा विषादीको प्रयोग बढी र वातावरणमा पर्ने असर कम भएको तर नेपालजस्तो मुलुकमा विषादीको प्रयोग कम र वातावरणमा पर्ने असर बढी रहेको बताए। उनले विकसित देशमा विषादीको खपत बढी भएपनि मापदण्ड र नियमअनुसार प्रयोग गर्दा वातावरण र मानव जीवनमा कम असर पर्ने गरेको बताए।
नेपालमा अहिलेसम्म ३ हजार ३५ वटा व्यापारिक नामका विषादी र १ सय ७० वटा वैज्ञानिक नामका विषादीहरु दर्ता भई प्रयोगमा आएको छ। जसलाई समान्य अवस्थामा लिन नहुने पनि पालिखेले उल्लेख गरे। उनले कृषि बालीमा किरा लागेपछि विषादीको प्रयोग गर्नैपर्छ भन्ने सोचलाई बदल्नुपर्ने र यसको विकल्प खोज्नुपर्नेमा जोडसमेत दिए। किसानले विषादी छान्दा पसलेको भरमा छान्ने बानीलाई हटाएर प्राविधिकको सल्लाहअनुसार छान्नुपर्ने सुझाव दिए। रातो र पहेँलो रङको विषादीभन्दा हरियो र निलो रङको विषादीले वातावरणमा कम असर पर्ने भएकाले किसानले विषादीको छनौटमा विशेष ख्याल पुर्याउनुपर्नेमा उनको जोड थियो।
खुला सीमाका कारण नेपालमा दर्ता नै नभएका विषादी भित्रिने सम्भावना पनि छ। छिमेकी देशहरुले प्रयोग गरिरहेका कतिपय विषादीहरु नेपालमा प्रतिबन्धित छन्। खुला बोर्डरका कारण लुकिछिपी आएका त्यस्ता विषादीको प्रयोग हुन सक्ने भएकाले सरकार र किसान दुवै सजग हुनुपर्ने देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।