काठमाडौं- हास्य कलाकार हरिवंश आचार्यले गाईजात्राको अवसरमा ‘तिमी केको जान्ने, तिमी केको सुन्ने, म पो जान्ने सुन्ने...’ गीत बजारमा ल्याएका छन्।
आचार्यको आफ्नै शब्द, संगीत र स्वर रहेको उक्त गीतको भिडियो बिहीबार युट्युबमा सार्वजनिक भएको छ। गीतमा राजनीतिक व्यंग्य देखाइएको छ। नेपालको हरेक राजनीतिक दलमा ठूलो, सानो भन्ने तछाड मछाड रहेकाले यो यथार्थलाई गीतमा उतारिएको छ। गीतमा भुपालमान सिंहको एरेन्ज रहेको छ भने किरण तुलाधरको मिक्सिङ-मास्टरिङ रहेको छ।
स्टुडियो वानमा उक्त गीत रेकर्डिङ गरिएको हो। सागरराज शर्माको निर्देशन रहेको गीतको भिडियोमा हरिवंश आचार्य, शशिकुमार खड्का, किरण तुलाधर, विकाश भट्टराई, सुष्मा कार्की, धनराम मुस्कान, अनिल जिसी (बुलेट), सम्राट घिमिरे, दीप शेर्पाली, सुवास महत, शंकर बिसीलगायतको अभिनय रहेको छ।
साथै गीतको सुरूमा ‘नेपालका सम्पूर्ण राजनीतिक दलहरूप्रति समर्पित’ लेखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।