१. परिचय
सलह किरा फट्यांग्राको एक प्रजाति हो, जसलाई अंग्रेजीमा लोकस्ट भनिन्छ। यसको ठूलो बथानले छोटो समयमै सबै बालीनाली खाएर सोत्तर बनाउने हुनाले यसलाई ठूलो समस्याको रुपमा लिइएको छ। सलह किराले कुनै निश्चित बाली मात्र खाँदैन। हरियाली भएको ठाउँमा जे भेट्यो, त्यही खाइदिन्छन्।
प्रत्येक वर्षजसो अफ्रिका महादेशका पूर्व क्षेत्रमा अवस्थित देशहरु जस्तै केन्या, सोमालिया, तान्जानिया, युगाण्डा, दक्षिणी सुडान, इथियोपियामा खाद्यान्न संकट हुने गरि सलहले धेरै नै क्षति पुर्याउने गरेको छ। वयस्क सलह लामो दूरी उड्न सक्छ र यसको समूहले बसेको ठाउँमा भेटे जति सबै हरिया बोट्बिरुवा, तिनको हाँगा र बोक्रा समेत खाई सखाप बनाउँछ।
किरा समूहमा पर्ने यो जीवले बालीनालीमा अमेरिकी फौजी किराले भन्दा बढी क्षति पुर्याउँछ। यो किरा अन्यको तुलनामा प्रतिरोधी, वातावरण अनुसार अनुकूलन गर्न सक्ने, विविध किसिमको बालीहरु खान सक्ने, छिटो र ठूलो संख्यामा प्रजनन गरी संख्या बृद्धि गर्न सक्छ। ठूलो क्षति पुर्याउन सक्ने भएकोले संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले सलह प्लेगको संज्ञा दिएको छ।
सलहको अहिलेको झुण्ड अफ्रिका, मध्यपूर्व र एसियाका खाडी देशमा ७० वर्षपहिले देखिएको भन्दा २० गुणा ठूलो मानिएको छ। शान्त अवस्थामा यो किरा वार्षिक २०० मिलि भन्दा कम पानी पर्ने अफ्रिका र दक्षिण पश्चिम एसियाको मरुभूमिमा पाइन्छ। प्लेग भएको अवस्थामा भने ६० भन्दा बढी देश (पृथ्वीको कुल भूमिको २०%) मा फैलिन सक्छ।
कोरोनाको प्रकोपले थिलथिलो भएको नेपालमा २७ जुन २०२० मा यो किरा प्रवेश गरिसकेको छ। हाल २६ भन्दा बढी जिल्लामा सलह देखिइसकेको छ। दाङ र पाल्पामा बालीनालीमा ठूलो क्षति पुगिसकेको छ। राम्रोसँग कदम चालेर नियन्त्रण नगरेमा यसको प्रकोपले गर्दा नेपालको कृषि प्रणाली नै चौपट हुन सक्ने ठूलो सम्भावना रहेको छ।
सलहले पाकिस्तान र भारतमा ठूलो क्षति पुर्याइसकेको अवस्थामा नेपाल प्रवेश गरिसकेको हुँदाको परिप्रेक्ष्यमा यो लेख सलहको प्रकोप र क्षति न्यूनीकरण गर्न सहयोग गर्ने विकल्पहरुमा केन्द्रित हुनेछ।
लेखकत्रय
२. इतिहास
अफ्रिका महादेशको लागि सलह पुरानो प्रवासी शत्रु जीव हो। हाल यो किरा अन्टार्टिका बाहेक सबै महादेशमा फैलिसकेको छ। अफ्रिकामा सन् १९८५, १९९२-१९९४, १९९६-१९९८, २००३-२००५, २०१२ र २०१४ मा ठूला प्रकोप देखिइसकेको छ। तर यो साल त्यहाँ देखिएको प्रकोप अगाडिको भन्दा ठूलो र डरलाग्दो भनिएको छ। भारतका राजस्थान र गुजरात राज्यमा यसको प्रकोप सन् १९९३-१९९४ मा सर्वप्रथम देखिएको थियो, जुन पाकिस्तानबाट आएको मानिन्छ।
भारतमा विगतका वर्षहरूमा असारदेखि असोजसम्म देखिने गरेकोमा यो वर्ष वैशाखदेखि नै सलहको समस्या देखिएको हुँदा यसले आफ्नो आनुवंशिक गुण परिवर्तन गरेको वा जलवायुमा आएको परिवर्तनले पनि असर गरेको हो कि भन्ने आकलन गरिएको छ। नेपालमा सर्वप्रथम सन् १९३० मा र त्यसपछि सन् १९६२ मा सलह आएको इतिहास छ। करिब ५०-६० वर्षपछि फेरि एक चोटी सलहको प्रकोप फैलिने अवस्थामा छ। नेपालमा मनसुन सक्रिय रहेको अवस्थामा मनसुन सुरु भएको दुईदेखि तीन हप्तासम्म सलहको प्रजनन् क्षमता बढी हुनाले डरलाग्दो स्थिति आउन सक्छ।
सलह किराहरु धेरै प्रजातीका छन्। सबैभन्दा हानिकारक सलह भनेर मरुभूमिको सलह (Schistocera gregaria) लाई चिनिन्छ। यो प्रजाति धेरै ठाउँहरुमा फैलिएर विनाश फैलाइरहेको छ। अहिले पाकिस्तान, भारत हुँदै नेपालसम्म आइपुगेको सलह किरा सन् २०१८ सालमा अरेबियन प्रायद्विप पेनेन्सुलामा दुई ठूला आँधीले भारी बर्षा गराएपछि प्रजनन गरेको बताइएको छ, जहाँ ९ महिनामा ३ पुस्ताको प्रजनन गरेर यिनीहरुले आफ्नो सङख्या ८०० गुणाले बढाएका थिए। त्यसपछि यो किराले लाल सागर र गल्फ अफ इडेनलाइ पार गरी अफ्रिका पुगेको मानिन्छ। २०१९मा अफ्रिकाको सोमालियामा साइकलोनाका कारण भारी बर्षा भएको थियो जसका कारण त्यहाको माटो ओसिलो र वातावरण हरियाली भयो जसले गर्दा यो किराको प्रजनन क्षमता र दर बढायो र सन् २०२०को जनवरीमा यो केन्यासम्म पुग्यो जहाँको बर्षा र चिसो माटोले यसको जनसंख्या बढाउन अझै मद्दत गरेको पाइन्छ।
२०२० को फेब्रुअरीमा सलह प्रकोपको कारणको पाकिस्तानमा राष्ट्रव्यापी संकटकालको घोषणा गरियो। भारतको मध्य प्रदेश, राजस्थान, गुजरात, दिल्ली लगायतको ठाउँमा ठूलो क्षेत्रमा लगाएको बालीनाली सोत्तर बनिसकेको छ।
सलहको मौसमी यात्रा तापक्रम, हावाको बहाव र खानाको उपलब्धताबाट प्रभावित हुन्छ। यो किरा १४०० देखि २००० मिटरको उचाईमा एक दिनमा लगभग एक सय ३० किलोमिटरसम्म हुल बनाएर उड्न सक्छ। यही गतिमा नेपालको पूर्वी भागबाट पसेको सलहले तीनदेखि चार दिनमा पश्चिम भागसम्मको यात्रा तय गर्न सक्छ/पुग्छ। यो दौरान एउटा हुलमा लाखौं वा करोडौंको संख्यामा हुन्छन्। एक किलोमिटरमा ८० लाखदेखि एक करोडसम्मको हुल हुन सक्ने अध्ययनले देखाएको छ। सलह किरा सामान्यतया सुस्त गतिमा हावा चलेको दिशा र कम चाप हुने ठाउँमा उड्ने गर्दछन्।
३. जीवन चक्र र विकास
यस किराको जीवन चक्र ३ देखि ५ महिनाको हुन्छ। तर कुनैकुनै अवस्थामा ८ महिना सम्मको हुने कुरा विभिन्न अध्ययनहरुले देखाएका छन्। मौसम र पर्यावरणीय स्थिति, त्यसमा पनि विशेष गरी तापक्रम, आद्रता र खानाको उपलब्धताले गर्दा यस किसिमको फरकपना आउन सक्छ। लगातारको बर्षाले गर्दा चिस्यान बढ्ने हुँदा सो समय यसको प्रजननको लागि उपयुक्त मानिन्छ। वयस्क सलह झन्डै चोर औला जत्रो हुन्छ। अन्डा, निम्फ (होपर) र वयस्क गरी यसको जीवनको तीन चरण छन्।
पोथी सलहले वालुवामा उपयुक्त चिस्यान भएको अवस्थामा सतह भन्दा ५-१५ सेन्टिमिटर तल अन्डा पार्छ। चामलको आकारमा अन्डाको कोसा बनाउछ। झुण्डमा हुँदा पोथीले एउटा कोसामा ८० वटा अन्डा पार्दछ भने एकान्तमा हुँदा १६० वटा सम्म अण्डा हुन्छ। पोथी सलहले ३ पटक सम्म अन्डा पार्दछ। १० देखि ६५ दिनमा अण्डाबाट बच्चा जन्मिन्छ। अण्डा कोरल्न १५-३५ डिग्री सेल्सियस तापक्रम उपयुक्त मानिएको छ। अण्डाबाट २ हप्तामा बच्चा निस्किन्छ जसलाई होपर भनिन्छ। ६ हप्ताभित्र ६ पटकसम्म काँचुली फेरेर होपर वयस्क हुन्छ। यसको सबभन्दा खतरनाक अवस्था भनेको अपरिपक्क वयस्क हुँदाको अवस्था हो। यस बखत यसको लामो दूरीको उडान भर्न सक्छ। अपरिपक्क वयस्कलाई परिपक्क हुन ४ हप्ता लाग्छ। सरदर ३ महिनामा सलहको एउटा जीवन चक्र पूरा हुन्छ।
अण्डाबाट निस्केको २०-४० दिन सम्म यसको पखेटा पलाएको हुँदैन। त्यसैले यो समयलाई सलहको नियन्त्रणको लागि उपयुक्त समय हो। यस बखत सलहको रंग हरियो हुन्छ। त्यसपछि वयस्क हुँदै गर्दा यसको रंग खैरो, गुलाबी र पहेलो रंगमा परिवर्तित हुन्छ। बच्चाहरू १ देखि ३ महिनामा पूर्ण वयस्क बन्दछन्। वयस्क ४ देखि ५ महिनासम्म बाँच्छ। वयस्क किरा लामो समयसम्म हावामा उड्न सक्दछ र पाँच हजार किलोमिटरको यात्रा केबल १० दिनमा गर्न सक्दछ भन्ने गरिएको छ।
सलहले एक ठाउँबाट अर्को ठाउँ वा एक खेतबाट अर्को खेत हुँदै कुनै पनि क्षेत्रमा रहेको सम्पूर्ण हरियो वनस्पतिहरू, तिनको बोक्रा र हाँगा समेत छोटो समयमा नै सखाप हुने गरी खाइदिन सक्छ। यस किराको प्रजननको लागि उपयुक्त ठाउँहरु यस प्रकार छः
- दक्षिण पश्चिम एसियाः राजस्थान (भारत) र बलुचिस्तान (पाकिस्तान)
- अरेबियन पेनेन्सुलाः यमन, साउदी अरब र संयुक्त अरब इमिरेट्स
- पूर्वी अफ्रीकाः केन्या, इथियोपिया, सोमालिया, सुडान
४. सलहको प्रकार
सलह अन्य फट्यांग्राभन्दा भिन्न किसिमले आफ्नो शरीर र व्यवहार परिवर्तन गर्न सक्षम हुन्छन्। उनीहरूको जीवनको दुई भिन्न प्रकार हुन्छ; पहिलो प्रकारले एकान्त मन पराउछ भने दोस्रो प्रकार समूहमा बस्दछ। पहिलो प्रकारको अवस्थामा हुँदा एउटा सलहले अर्को सलहलाई बेवास्ता गर्दछ। तर दोस्रो अवस्थामा रंग, आकार र आफ्नो सामाजिक व्यवहार परिवर्तन गरेर अन्य वयस्क किराहरुसँग एकत्रीकरण भई झुण्ड बनाउने प्रवृत्तिको विकास हुन्छ। उनीहरुको व्यवहारमा आउने यो परिवर्तनको कारण अझै पूर्ण रुपमा बुझ्न सकिएको छैन।
एकान्तप्रेमी अवस्थाको सलहको संख्या बढे सँगै उनीहरुको व्यवहारमा परिवर्तन आउन थाल्छ र त्यसपछि उनीहरु समूह बनाउन थाल्छन्। समूहमा यिनीहरु ९-१० घण्टासम्म उड्न सक्छन्। यिनीहरुको उडान हावाको बहावमा भर पर्छ। घाम लागेको २-३ घण्टापछि यिनीहरु सक्रिय हुन्छन्। यदि हावाको बहाव ६-७ मिटर प्रति सेकेन्डभन्दा बढी छ भने पनि यिनीहरु उड्दैनन्।
अवस्था अनुसार यसको दुई भिन्न प्रवृति हुन्छ। थोरै संख्या भएको बेला यो एकान्तप्रेमी हुन्छ भने संख्या बृद्धि र खानाको कमीसँगै झुण्डमा रहन्छ। एकल र झुण्डमा हुँदा सलहको रंग फरक फरक हुँदा पहिचान गर्न सजिलो हुन्छ। झुण्डमा रहँदा पहिलो अवस्थाको होपर कालो हुन्छ भने दोस्रोदेखि पाँचौं अवस्थामा पहेंलो र कालो रंगमा परिवर्तित हुन्छन्। त्यसैगरी अपरिपक्क वयस्क गुलाबी रंगको हुन्छ भने परिपक्क वयस्क पहेलो रंगको हुन्छ। एकल अवस्थामा रहको वयस्कको रंग खैरो हुन्छ।
दुई प्रकारको सलहको तुलनाः
एकान्तप्रेमी अवस्था (Solitary phase) | समूहमा बस्ने (Gregarious phase) |
एकान्तमा र अरुभन्दा टाढा बस्छ | अरु सलहसँग समूहमा बस्छ |
घस्रेर बिस्तारै हिँड्छ | उडेर लामो दूरी तय गर्छ |
थोरै खान्छ | आफ्नो वजनको अनुपातमा धेरै खान्छ |
रातमा सक्रिय हुन्छ | दिनमा सक्रिय हुन्छ |
यी दुई अवस्थाका सलह एक अर्कोमा परिवर्तित हुन सक्छ। सुक्खायाममा हुने खानाको अभावले गर्दा एकान्तमा रहेका सलहहरु नजिक आउन बाध्य हुन्छन्। समूहगत भएको केही घण्टाभित्र, सेरोटोनिनको बृद्धिको कारण द्रुत गतिमा उड्ने क्षमता, सामाजिकीकरण हुन सक्ने गुण, आत्मपोषण र फरक तथा धेरै किसिमको खान सक्ने जस्ता व्यवहारिक परिवर्तनहरू देखा पर्न थाल्दछन्। अचम्मको कुरा के छ भने एकान्तप्रेमी अवस्थामा सलहले Hyoscyamine भएको वोटविरुवा खादैनन् तर समूहमा रही उडान भर्ने अवस्थाको सलहले शत्रु जीवबाट बच्न Hyoscyamine भएको बोट बिरुवा खान्छन्। धतुरो लगायतको केही जडिबुटीमा यो पदार्थ पाइन्छ।
५. सलहको क्षति कम गर्न सकिने उपायहरु
रणनीतिक कार्ययोजना विना सलहको नियन्त्रण असम्भव छ। नेपालको लागि नयाँ समस्या भएकोले पर्याप्त अनुसन्धान र स्रोतको प्रभावकारी व्यवस्थापन र परिचालन गर्नुपर्छ। हालको लागि अफ्रिकामा प्रभावकारी देखिएका र विश्व खाध्य संगठनले सुझाएका उपायहरु अवलम्बन गर्नुपर्छ। दक्षिण एसियाली क्षेत्रमा भएका देशहरुको बीचमा पनि समन्वयको आवश्यकता पर्दछ। पूर्वानुमानको क्षमतामा हामीले एकदम फड्को मार्नुपर्ने हुन्छ।
अवस्था विकराल हुँदै जाँदा ठूलो झुण्ड नियन्त्रण गर्नको लागि केन्द्र वा प्रदेश सरकारले देखाउने तदारुकताको विकल्प छैन। सानो झुण्डमा रहेका सलहलाई तितरबितर पार्न किसान आफैं लाग्न सक्दछन्। हामीले दीर्घकालिन उपाय खोज्नुको विकल्प छैन। सरकारी स्तरबाट मात्रै सलहसँग जुध्न गाह्रो हुने हुँदा किसानहरुमा जनचेतना बढाउन उपयुक्त हुन्छ। त्यसको लागि यथेस्ट र यथार्थ जानकारी दिँदै भ्रम र आतंकबाट बचाउनुपर्ने हुन्छ। यसको लागि तल उल्लेख गरे अनुसारको उपाय सुझाउन सकिन्छः
क. कुनै ठाउँमा सलह आउँदै गर्दा गर्नु पर्ने कार्यहरुः
- स्थानीय नगरपालिका वा कृषि ज्ञान केन्द्र वा सुरक्षा केन्द्रमा खबर गर्ने
- समुदायमा जानकारी गराउने
ख. कुनै ठाउँमा सलह आइसकेपछि के गर्ने?
भौतिक नियन्त्रण
- ठूलो अवाज, धुँवा जस्ता विधिबाट सलाहलाई तितरबितर पार्न सकिन्छ
- सानो क्षेत्रमा गरिएको खेतीमा झुल वा जालीले छोपेर बालीनाली बचाउन सकिन्छ
- कुखुरा वा हाँसको प्रयोगः एउटा कुखुराले एक दिनमा ७० वटा र एउटा हाँसले एक दिनमा २०० वटा सलह खान सक्छ। चीनले हाँसको ठूलो संख्या तयार गरी यो तरिका प्रयोग गरेको छ। प्रारम्भिक अनुसन्धानको क्रममा एउटा हाँसले ४ वर्ग मिटरको क्षेत्रलाई सलहमुक्त बनाउन सक्ने देखिएको छ।
- ६२% प्रोटिन हुनाले थप अध्ययन र विकास गरी खाद्यान्नको रुपमा पनि प्रयोग गर्न सकिन्छ।
रसायनिक विषादीबाट नियन्त्रण
सलहको नियन्त्रण गर्न परम्परागत रुपमा प्रयोग हुँदै आएका अर्गानोफस्फेट, कार्बामेट र पायरेथ्रोइड समूहका रासायनिक विषादीहरु प्रयोग गर्न सकिन्छ। ठूलो झुण्डले एकाएक आक्रमण गरेको खण्डमा रासायनिक विषादी नै सबभन्दा प्रभावकारी उपाय हो। सूर्योदय भएको एक दुई घण्टाभित्र विषादी छर्कनुपर्छ किनभने यतिखेर सलह घाम तापेर बसेको हुन्छ।
वास्तवमा ठूला सलहको झुण्डाहरू सम्हाल्नु ठूलै चुनौती हो। सलहको झुण्डको अवस्थाको सटिक विश्लेषण गरी उपयुक्त विषादी उपयुक्त समय र मात्रामा प्रयोग गर्दा नियन्त्रण प्रभावकारी हुन्छ अन्यथा माटो, पानी, हावा लगायत सम्पूर्ण वातावरणलाई दुषित गरी, मानिस, पशुहरु, चराचुरुंगी, सलहका शत्रु जीवहरुको स्वास्थ्यमा नकारात्मक असर पर्दछ। कोरोना भाइरसको प्रकोपले गर्दा धेरै क्षेत्रमा बन्दाबन्दीको अवस्था रहेको हुँदा रासायनिक विषादी र यसलाई छर्ने कामदारको चरम अभाव छ।
विषादी प्रयोग गर्दा सलहको शरीरमा पर्ने विषादी छर्कनुपर्छ। सलहले ठूलो क्षेत्र ओगट्ने हुँदा एकै पटक ठूलो क्षेत्रफलमा प्रयोग गर्नुपर्ने हुँदा कतिपय देशले हेलिकप्टर र ड्रोनको सहयताले प्रयोग गरेर पानी मिसाउन नपर्ने अल्ट्रा लो भोल्युम सविन्यासको विषादी प्रयोग सहायताले विषादी छर्ने गरेका छन्। यसको लागि सरदर २० रोपनी (१ हेक्टर) क्षेत्रफलमा ५ लिटरसम्म विषादीको आवश्यकता पर्छ।
नेपालमा यस्तो विषादी र उपकरण नभएको अवस्थामा सामूहिक सहकार्य गरी विषादीहरु प्रयोग गर्न सकिन्छ। यसको लागि नेपाल सरकार, प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले केही विषादी र तिनको मात्रा सुझाएको छ, जुन तलको तालिकामा दिइएको छः
सलह नियन्त्रणको लागि प्रयोग गर्न सकिने विषादी र तिनको मात्रा
विषादीको नाम | खास विष प्रति हेक्टर | विषादीको मात्रा प्रति लिटर पानी | विषादी प्रति हेक्टर | तयारी झोल प्रति हेक्टर |
मालाथियन ५०% इ.सी. | १२५ ग्राम | ३ मिलिलिटर | १८५० मिलिलिटर | ६०० लिटर |
ल्यामडा साइहेलोथ्रिन ५% इ.सी. | २० ग्राम | ०.७ मिलिलिटर | ४०० मिलिलिटर | ६०० लिटर |
क्लोरोपाइरिफस २०५ इ.सी. | २२५ ग्राम | १.८८ मिलिलिटर | ११२५ मिलिलिटर | ६०० लिटर |
डेल्टामेथ्रिन २.८% इ.सी. | १२.५ ग्राम | ०.७५ मिलिलिटर | ४५० मिलिलिटर | ६०० लिटर |
डेल्टामेथ्रिन ११५ इ.सी. | १२.५ ग्राम | ०.२० मिलिलिटर | १२० मिलिलिटर | ६०० लिटर |
तर विषादी प्रयोग गर्दा सुरक्षित पहिरन लगाई सूचकपत्रमा भएको निर्देशन अनिवार्य पालना गर्नुपर्छ।
जैविक कीटनाशकको प्रयोग
दक्षिण अफ्रिकामा अवस्थित इन्टरनेसनल इन्स्टिच्युट फर ट्रोपिकल एग्रीकल्चरले ग्रिन मस्कल नाम गरेको जैविक विषादी तयार गरेको छ, जुन सलहको नियन्त्रण मा प्रभावकारी देखिएको छ। यसमा प्राकृतिक रुपमा पाइने ढुसी मेटाराइजियम (Metarhizium anisopliae var. acridum) को बीजाणु हुन्छ। यो ढुसी प्रयोग गरेपछि सलहको बाहिरी पत्रमा अंकुरण भई शरीरभित्र प्रवेश गर्दछ। त्यसपछि ढुसीले सलहको सम्पूर्ण शरीरलाई कुहाउँदछ।
त्यसतै नोभाक्रिड (Novacrid) नाम गरेको अर्को जैविक कीटनाशक पनि प्रयोग गर्न सकिन्छ। यसमा Metarhizium acridum नाम गरेको ढुसी हुन्छ। तर यो तरिकाले सलहको नाश गर्न समय लाग्छ। ९०% किरा मार्न २ हप्तासम्म समय लाग्छ। साथै यो केहि महंगो छ र ठूलो परिमाणमा उत्पादन हुन सकेको छैन।
निमको प्रयोगः
निमको प्रयोग गरेर पनि सलहको रोकथाम गर्न सकिन्छ तर यो तरिकाले किराको नियन्त्रण गर्न समय लिन्छ। निमको घोल तितो हुनाले सलहले खादैन, साथै यसले सलहको बृद्धि घटाउने, मृत्यु दर बढाउने, प्रजनन क्षमता कम गर्ने र प्रोटिनको संश्लेषणको अवरोध गर्ने कुरा अध्ययनले देखाएको छ।
स्थानीय स्तरमा किसानहरुले के गर्न सक्छन्?
- आगो बालेर, धुँवा गराएर वा हावाको बहावलाई तितरबितर पार्नुपर्छ
- हाँस, कुखुरा, माकुरा र छेपारोले यसलाई खान्छन्, त्यसैले यिनीहरुको प्रयोग गर्न सकिन्छ
- थाल ठटाएर, ड्रम बजाएर वा स्पिकर बजाएर पनि सलहलाई भगाउन सकिन्छ
- त्यसैगरी प्रजनन गर्न सक्ने ठाउँ नष्ट गरेर, पातमा बोरिक एसिड, लसुन पानी र पिठो छर्केर, वा झुल र जालको प्रयोग गर्न सकिन्छ
(पी. टी. हस्केल, २०१०) ले बताए अनुसार, किसानहरूले स्थानीय स्तरमा निम्न तरिकाहरुको प्रयोग गरेर सलह किराको नियन्त्रण गर्न सक्छन्:
- भौतिक तरिकाले सलहलाई नियन्त्रण गर्ने
- सलहले अन्डा पारेको सम्भावित ठाउँमा जोत्ने वा पराल छरेर आगो लगाउने
- धुँवा लगाएर वा आवाज निकालेर सलाहलाई धपाउने, एक जनाले धपाउँदा अर्कोको खेतवारीमा जान सक्छ, त्यसैले समूहमा मिलेर यो कार्य गर्नुपर्छ।
हामी के गर्न सक्छौं?
भारतले सलहको नियन्त्रणको लागि मालाथिएनको प्रयोग गरेको पाइएको छ भने, पाकिस्तानमा डाइजिनन र फिप्रोनिल साथै अफ्रिकामा Green Muscle भन्ने बिषादीको प्रयोग सबभन्दा सफल देखिन्छ।
सलह किरा निकै आक्रामक, प्रतिरोधी र अनुकूलनको क्षमता भएको हुनाले यसको नियन्त्रणमा ठूलो चुनौती छ। यसको नियन्त्रणमा जादुको कुनै छडी छैन। रासायनिक विषादी एकल रुपमा समाधान हैन, किनभने यसको धेरै नकारात्मक असर छ। प्राविधिक सल्लाह अनुसार भनिएका विषादीहरु तोकिएको मात्रामा सुरक्षाका साधन प्रयोग गरी प्रयोग गर्न सकिन्छ। यससँगै भविष्यमा पनि सलहको प्रकोप आइराख्न सक्ने हुनाले एकीकृत कीट व्यवस्थापन तर्फ जानुपर्ने हुन्छ, जसको लागि नेपाली परिवेश सुहाउदो उपयुक्त प्रविधि विकास गर्नुपर्छ।
६. सन्दर्भ सामाग्री
http://www.fao.org/ag/locusts/common/ecg/1344/en/EMPRESbrochureE.pdf
https://www.nationalgeographic.com/animals/invertebrates/group/locusts/
Khanal, D. 2020. Locust: A threat to Nepalese agriculture. DOI: 10.13140/RG.2.2.28331.26407
Morgan, J.213. "Locust swarms 'high' on serotonin". BBC News. Archived from the original on 10 October 2013. Retrieved 4 July 2020.
Rogers, S.M., T. Matheson, E. Despland, T. Dodgson, M. Burrows and S.J. Simpson.2003. Mechanosensory-induced behavioral gregarization in the desert locust Schistocerca gregaria". Journal of Experimental Biology. 206 (22): 3991–4002.
Showler, A. 2013. The Desert Locust in Africa and Western Asia: Complexities of War, Politics, Perilous Terrain, and Development". Radcliffe's IPM World Textbook. University of Minnesota.
Simoes, P., S.R. Ott and J.E. Niven. 2016. Environmental adaptation, phenotypic plasticity, and associative learning in insects: The desert locust as a Case Study. Integrative and comparative biology. Pp 1-11, doi:10.1093/icb/icw100
GON. 2020. सलहः पहिचान र व्यवस्थापन. Available: http://www.npponepal.gov.np/content/212/2020/49919635/
(खनालद्वय उप प्राध्यापक (पक्लिहवा क्याम्पस, कृषि र पशु विज्ञान अध्ययन संस्थान) हुन् भने बडाल जीबिकोपार्जन तथा प्राकृतिक श्रोत संयोजक (एक्सनएड नेपाल) हुन्।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।