काठमाडौं– तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकमा भएको साढे एक अर्ब रुपैयाँ घोटालामा संलग्न केही मुख्य व्यक्तिहरु विदेश भागेका छन्। प्रहरीले छानबिन थाले लगत्तै पूर्व सिइओ तथा सञ्चालकहरु विदेश भागेका हुन्।
घोटालामा संलग्न बैंकका तत्कालीन सिइओ गोविन्दप्रसाद उपाध्याय अमेरिका पुगेका छन्। उनीसहित अन्य तीन सञ्चालक छानबिन सुरु भएलगत्तै विदेश भागेका हुन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) स्रोतका अनुसार, तत्कालीन सञ्चालकहरु वसन्त मल्ल, लोकेन्द्र कर्माचार्य र रिता वादे श्रेष्ठ विदेश भागेका छन्। घोटालामा संलग्नहरुको खोजी गर्ने क्रममा उनीहरु विदेश भागेको खुलेको हो।
सञ्चालक, सिइओ तथा कर्मचारीहरु मिलेर कमसल धितोमा कर्जा प्रवाह गरी बैंकमा करिब डेढ अर्ब रुपैयाँ घोटाला भएको थियो। घोटालामा संलग्न तत्कालीन सञ्चालक, कर्मचारी, ऋणी तथा भ्यालुएटरसहित २० जनालाई सिआइबीले पक्राउ गरिसकेको छ। कर्जाको मूल्यांकनकर्ता इञ्जिनियर नरेश स्वाँर तथा कर्जा लिने ठेकेदार मनोज भेटवाल पनि पक्राउ परिसकेका छन्।
पूर्व सिइओ उपाध्याय र तीन सञ्चालक विरुद्ध प्रहरीले इन्टरपोलमार्फत नोटिस जारी गराई पक्राउ गराउने प्रक्रिया अघि बढाएको छ।
सिआइबीले गत चैत २ गते एकैदिन १३ जनालाई पक्राउ गरेको थियो। बैंकका तत्कालीन अध्यक्ष विष्णुप्रसाद धिताल तथा सञ्चालकहरु इच्छाबहादुर गुरुङ, सुवर्णराज भण्डारी, छविरमण अधिकारी, मधुवनलाल श्रेष्ठ पक्राउ परिसकेका छन्। त्यस्तै, तत्कालीन निमित्त सिइओ ऋषिराज भट्ट, वरिष्ठ प्रबन्धक दुर्गादत्त जोशी, सहायक महाप्रबन्धक रामचन्द्र बसौला, शाखा प्रबन्धक विकास श्रेष्ठ, सागर नेउपाने, मानबहादुर राउत, सुदीप थापा, सहायक महाप्रबन्धक विनीतमणि उपाध्याय, कर्जा अधिकृत मोहन खरेल पक्राउ परिसकेका छन्।
उनीहरुमाथि बैंकिङ कसुर मुद्दामा अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ।
बैंकका तत्कालीन कर्मचारीहरु सजल बज्राचार्य, प्रमोद भट्टराई र कृवेन्द्र श्रेष्ठ पनि हिरासतमै छन्। बज्राचार्य र श्रेष्ठ कर्जा सुपरिवेक्षक तथा भट्टराई कर्जा अधिकृतका रुपमा बैंकमा कार्यरत थिए। कमसल धितो राखी कर्जा प्रवाहमा उनीहरुको समेत मिलेमतो देखिएपछि पक्राउ गरिएको सिआइबीका सिआइबीका एसपी जीवन श्रेष्ठले बताए। पक्राउ परेकामध्ये कृवेन्द्र जनता बैंकको बनेपा शाखामा कार्यरत थिए।
अनुसन्धानमा एक अर्ब ५० करोड ९६ लाख ३३ हजार ९ सय ८४ रुपैयाँ अनियमितता भएको राष्ट्र बैंकको अनुसन्धानमा खुलेको थियो। सो घोटालामा संलग्न भई फरार रहेका अन्य व्यक्तिहरुको खोजी भइरहेको एसपी श्रेष्ठ बताउँछन्।
बैंकका सञ्चालक तथा कर्मचारीहरुले मोटरबाटो नभएको, भिरालो जग्गाको अधिक मूल्यांकन गरेर कर्जा प्रवाह गरेका थिए। जुन कर्जा उठ्न नसककेपछि बैंक नै समस्यामा परेको थियो। एपेक्स बैंक एनसिसी बैंकमा मर्ज भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।