काठमाडौं–नेपाल कम्युनिष्ट पार्टीका दोस्रो तहका ११ नेताहरुले पार्टी एकताका पक्षमा माहोल बनाउने निर्णय गरेका छन्। कृषि तथा पशुपंक्षीमन्त्री घनश्याम भुसालको सक्रियतामा उनकै निवासमा बसेको बैठकले पार्टी एकतालाई जोगाउन दुवै अध्यक्षलाई भेटेर आग्रह गर्ने पनि निर्णय गरेको छ।
पार्टीमा देखिएको अन्तरविरोधलाई तत्काल वार्ताबाट समाधान गर्नुपर्ने उल्लेख गर्दै उनीहरुले नेतृत्वले परिस्थितिलाई ठण्डा दिमागले सोच्ने विश्वास पनि व्यक्त गरेका छन्।
नेता टोपबहादुर रायमाझीले प्रधानमन्त्रीका पक्षमा सडकमा जुलुस निकाल्नुभन्दा संवाद कायम गर्न बैठकले सल्लाह दिएको बताए। उनले शीर्ष नेतृत्वले विकसित परिस्थितिमा आत्मसमीक्षा गर्नुपर्ने उल्लेख गरे।
बैठकमा नेताहरु घनश्याम भुसाल,योगेश भट्टराई, शक्ति बस्नेत, देवेन्द्र पौडेल, जनार्दन शर्मा, विष्णु रिमाल, मणि थापा, शंकर पोखरेललगायत सहभागी थिए।
एकतापछिको समयमा पार्टीभित्र भएका गतिविधिको गम्भीर समीक्षा हुनुपर्नेमा नेताहरु एकमत भएका छन्। बैठकमा बनेको समझदारीको सन्देश प्रधानमन्त्री केपी ओली शर्मा र पुष्पकमल दाहाल‘प्रचण्ड’ कहाँ पुर्याउने जिम्मेवारी मन्त्री भुसाललाई दिइएको छ। शनिबारको स्थायी कमिटी बैठकअघि नै दुई अध्यक्षकहाँ सन्देश पुग्ने नेता मणि थापाले जानकारी दिए।
बैठकमा सहभागी रिमाल र प्रदेश ५ का मुख्यमन्त्री पोखरेल बाहेकका अन्य प्रधानमन्त्री ओलीसँग असन्तुष्ट समूहका नेताहरु हुन्।
यसअघि नेताहरु लेखराज भट्ट, देवेन्द्र पौडेल, मणि थापा, घनस्याम भुसाल, योगेश भट्टराईलगायत नेताले उपाध्यक्ष बामदेव गौतमलाई एकताको पक्षमा उभिन दबाब दिएका थिए। भैसेपाटीस्थित गौतम निवास पुगेर दोश्रो तहका नेताहरुले पार्टी एकताको पक्षमा उभिन दबाब दिएका थिए। त्यसपछि यसअघिको पार्टी विवाद तत्काल सुल्झिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।