काठमाडौं– संघीय संसद जारी छ। राष्ट्रियसभा चलिरहेको छ। स्थायी कमिटीमा रहेका अधिकांश नेकपा सदस्यहरु सांसद छन्। संसद् कहिलेसम्म चल्छ? भन्ने विषयमा उनीहरुलाई कुनै जानकारी थिएन।
पार्टीका शीर्ष नेताहरु मात्रै होइन, संसद सचिवालयलाई समेत बिहीबार बिहानसम्म संसद अधिवेशन संसद हुने कुराको कुनै अनुमान थिएन। दिउसो १२ बजे बसेको मन्त्री परिषद्को बैठकले संसद् अधिवेशनका स्थगित गर्नका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गर्यो।
प्रधानमन्त्री ओलीको अनुपस्थितिमा बैठकका लागि भेला भएका नेताहरूबीच खैलाबैला मच्चियो। क्याबिनेटको निर्णय सार्वजनिक भएलगत्तै धेरैजसो नेताहरू नेता हल बाहिर निस्केर एकअर्कासँग जिज्ञासु भएर कुराकानी गर्न थाले।
पूर्वसंकत प्राप्त नभएको निर्णय भएकाले प्रधानमन्त्री ओलीले अप्रिय कदम उठाउन त खोजेनन् भन्ने खालको जिज्ञासा उनीहरुमा झल्किन्थ्यो। त्यसपछि सवै नेताहरु खाजा खान थाले। हलभित्र गएर केही बेर प्रधानमन्त्री ओलीलाई पर्खिए। तर, आएनन्।
बरु शिर्ष तहका नेताहरुसँग भेट्न खोजेको कुरा त्यहाँ पुग्यो। अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र सचिव विष्णु पौडेले प्रधानमन्त्री ओलीलाई भेट्न पुगे।
स्थायी कमिटीको बैठक स्थगित भएको छ। कमिटीका अन्य सदस्यहरु जिज्ञासु बनेर हल भित्र र बाहिर एकआपसमा अनौपचारिक कुराकानी गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।