काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरु तथा आफू निकटका स्थायी कमिटी सदस्यहरुलाई बालुवाटार बोलाएका छन्।
बुधबार बिहान ८ बजेका लागि बोलाइएको छलफलमा सहभागी हुन नेताहरु बालुवाटार पुग्ने क्रम जारी छ। माओवादी समूहबाट मन्त्री भएकाहरु रामबहादुर थापा ‘बादल’ र लेखराज भट्टमात्रै बालुवाटार पुगेका छन् भने वर्षमान पुन, शक्ति बस्नेत र गिरिराजमणि पोखरेल गएका छैनन्।
मंगलबारको स्थायी कमिटी बैठकमा आफ्नो राजीनामा मागिएपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद् सदस्य तथा आफू निकट स्थायी कमिटी सदस्यहरुसँग छलफल गर्न लागेका हुन्।
बोलाइएको भए पनि कारण भने जानकारी नभएको एक स्थायी कमिटी सदस्यले बताए। ‘हिजोको बैठकले उत्पन्न गरेको परिस्थितिको विषयमा छलफल गर्न होला’, उनले भने।
मंगलबारको स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले प्रधानमन्त्रीको राजीनामा मागेका थिए। हिजोको बैठकमा ओली सहित १८ जनाले आफ्नो धारणा राखेका थिए।
आज पनि बिहान ११ बजे स्थायी कमिटी बैठक बस्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।