वैदेशिक रोजगारीका सिलसिलामा युएई पुगेका नेपाली श्रमिक कम्पनीले कामबाट निकालेपछि दुबईस्थित एक भवनको छतमा आश्रय लिँदै काठमाडौं– वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका तर करार अवधि सकिएका कामदारले स्वदेश फर्कन आफैँ खर्च बेहोर्नुपर्ने भएको छ। कोरोनाका कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपाली कामदारको उद्धार तथा फिर्ता गर्ने सम्बन्धी कार्यविधि २०७७ मा करार अवधिमा समस्यामा परेका श्रमिकहरु स्वदेश फिर्तीका लागि मात्रै वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरिने व्यवस्था गरिएको छ।
कार्यविधि आज (साेमबार) बस्ने मन्त्रीपरिषद् बैठकले स्वीकृत गरेपछि लागू हुनेछ। कार्यविधिको परिच्छेद २ मा उद्धार सम्बन्धी प्राथमिकता र मापदण्डमा यस्तो व्यवस्था गरिएको छ।
जसमा व्यवस्था भएअनुसार श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गई अलपत्र परेका देहाय बमोजिमका कामदारहरुलाई कोषको रकम प्रयोग गरी उद्धार तथा स्वदेश फिर्ता गरिनेछ।
श्रम स्वीकृतिको अवधि नसकिएका।
करार अवधि छँदै कोरोनाका कारण रोजगारी गुमाएर स्वदेश फर्कन पर्ने कामदार।
रोजगारीको प्रकृति तथा कामदारको विदेशको आर्जनसमेतका कारण आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने अवस्थाका कामदार।
सम्बन्धित गन्तव्य मुलुकबाट फिर्ता टिकट र फिर्ता खर्च नपाएका कामदार।
सम्बन्धित रोजगारदाताबाट फिर्ता टिकट र फिर्ता खर्च नपाएका कामदार।
श्रम स्वीकृतिको अवधिभित्र फौजदारी अभियोगमा जेल परेर आममाफी पाएर स्वदेश फिर्ती केन्द्रमा रहेका कामदार।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।