काठमाडौं- निजी क्षेत्रलाई समेत छानबिन गर्न सक्नेगरी आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग २०४८ संशोधन विधेयक राष्ट्रिय सभाको कार्यसूचीबाट दोस्रो पटक पनि स्थगित भएको छ।
नेकपा सचिवालयले उक्त विधेयक अहिले तत्काल अघि नबढाउने निर्णय गरेको थियो। उक्त विधेयकमा निजी क्षेत्र र प्रतिपक्ष नेपाली कांग्रेसले संशोधन हुनुपर्ने माग गर्दै आएको थियो। संसदको विधायन व्यवस्थापन समितिले बैंक, मेडिकल कलेजलगायतमा छानबिन अख्तियारले गर्न सक्ने व्यवस्थासहितको प्रतिवेदन पेश गरेको थियो। उक्त प्रतिवेदनअनुसार विधेयक राष्ट्रिय सभाबाट पारित हुने क्रममा थियो।
राष्ट्रियसभाको सोमबारको बैठकको कार्यसूचीमा यसलाई समावेश गरिएको थियो। सो विधेयकको निजी क्षेत्रले चर्को विरोध गर्दै आएका छन्।
सबै पक्षको आलोचनापछि नेकपाको असार १० गतेको स्थायी समिति बैठकले तत्काल सो विधेयक राष्ट्रिय सभामा अघि नबढाउने निर्णय गरेको थियो।
तर नेकपाको उक्त निर्णय विपरित देखिनेगरी राष्ट्रिय सभाले कार्यसूचीमा समावेश गरेपनि हटाएको छ। विधेयक पारित हुने कार्यसूची भएकाले सोमबारको बैठकको चौथो नम्बरमा यसलाई समेटिएको थियो। राष्ट्रिय सभाको अर्को बैठक असार १७ गते बस्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।