काठमाडौं-परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सीमा विवादका सम्वन्धमा तथ्यमा आधारित भएर समाचार प्रकाशन गर्न सञ्चार माध्यमलाई आग्रह गरेका छन् । राष्ट्रिय सभाको सोमबारको विशेष बैठकमा बोल्दै ज्ञवालीले ‘नेपालको गाउँ चीनमा’ भन्दै कृषि मन्त्रालयको प्रतिवेदन भनेर प्रकाशित भएको समाचारको खण्डन गर्दै यस्तो आग्रह गरेका हुन्।
बैठकमा विशेष समय लिएर बोल्दै मन्त्री ज्ञवालीले चीनले भूभाग मिचेको सत्यता अनुसन्धान गर्दा पुष्टि नभएको बताए। असार १० गते चीनतर्फ सात जिल्लामा सीमा अतिक्रमण भएको भनि प्रकाशित समाचारमा दिइएको स्रोत नै गलत भएको उनले बताए। कृषि तथा पशुपंक्षी मन्त्रालयमा कुनै पनि समयमा नापी विभाग नभएको र यसले प्रतिवेदन नबनाएको भन्दै खण्डन गरेकाले यसको पुष्टि नभएको उनको भनाइ छ।
दुवै देशका सीमा सारियो र भत्कियो भनि उठाइएका प्रश्न नै गलत देखिएको उनले बताए । दुई देशबीचको सम्वन्धमा प्रतिकूल प्रभाव पार्ने समाचार प्रकाशन नगर्न र यसबाट भ्रममा नपर्न उनले आग्रह गरेका छन् । नेपाल र चीनका बीचमा सन् १९५५मा पत्राचारपछि कूटनीतिक सम्वन्ध कायम भएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।