एजेन्सी- कोरोना कहरकै बीचमा अकस्मात भारतीय युवा अभिनेता सुशान्त राजपुतले आत्महत्याको घटनाले बलिउड स्तब्ध छ। टेलिभिजनबाट करिअर शुरु गरेर ठुलो पर्दामा प्रवेश गरेका उनले छोटो समयमै आफ्नो अभिनयको जादुले छुट्टै पहिचान बनाएका थिए। ३४ वर्षको उमेरमै आफ्नो अलग्गै छवि बनाउन सफल उनको शव आइतबार उनकै फ्ल्याटमा झुन्डिएको अवस्थामा फेला परेको थियो।
मुम्बइमा आफ्नै फ्ल्याट भए पनि उनी मुम्बइको बान्द्रामा भाडामा बस्दै आएका थिए। उनी ६ महिनादेखि डिप्रेसनको सिकार भएको दाबी आइरहेको छ। उनको आत्महत्याको कारणबारे त्यो बाहेक अन्य केही खुलेको छैन। उनी जुन फ्ल्याटमा बस्दै आएका थिए त्यहाँ उनीसँगै उनको क्रियटिभ म्यानेजर, उनका एक साथी र घरेलु सहयोगी समेत थिए।
प्रहरीले उनले बिहान १० देखि १ बजेको बीचमा आत्महत्या गरेको निष्कर्ष निकालेको छ। उनीसँगै फ्ल्याटमा बस्नेहरुको जानकारीका आधारमा उनले आइतबार बिहान के के गरे भन्ने विवरण प्रहरीले संकलन गरेको हो।
बिबिसीले सुशान्तको घरेलु सहयोगीले प्रहरीलाई दिएको जानकारी सार्वजनिक गरेको छ। उनको सहयोगीका अनुसार सुशान्त आइतबार विहान ६:३० मा उठेका थिए। उनको सहयोगीले बिहान ९ बजेतिर उनलाई अनारको जुस दिएका थिए। उनले अनारको जुस पिएपछि बहिनीलाई फोन गरेका थिए। बहिनीसँग कुरा गरेपछि उनले साथी महेश सेट्टीलाई फोन गरेका थिए।
महेश अभिनेता हुन् र सुशान्त र उनले सँगै अभिनयको करिअर शुरु गरेका थिए। यी दुवै एकता कपुरको शो 'किस देश मे होगा मेरा दिल'मा देखिएका थिए। यी दुवै अहिले पनि निक्कै मिल्ने साथी थिए। सेट्टीसँग कुरा गरिसकेपछि उनी आफ्नो कोठामा गएका थिए र भित्रबाट चुकुल लगाएका थिए।
१० बजेतिर उनको घरेलु सहयोगी जब खानाबारे सोध्न कोठामा जाने प्रयास गरे‚ त्यसबेला कोठा खुलेन। दुई घन्टापछि उनको क्रियटिभ म्यानेजरले सुशान्तकी बहिनिलाई फोन गरेर जानकारी दिए। उनको बहिनी आएर ढोकाको ताल्चा फुटाउँदा उनीहरुले कल्पनै नगरेको दृष्य देखे। तत्काल उनको घरेलु सहयोगीले प्रहरीलाई खबर गरे।
प्रहरी करिब २:३० तिर फ्ल्याटमा आइपुगेको थियो। प्रहरीले उनको शव पोस्टमार्टमका लागि अस्पताल पठाएर कोठामा सर्च गर्यो तर कुनै सुसाइड नोट फेला परेन। आरएन कपुर अस्पतालमा उनको शवको पोस्टमार्टम भयो‚ जसमा मृत्युको कारण झुण्डिएर आत्महत्या देखिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।