काठमाडौं- सरकारले राष्ट्रिय गौरवका आयोजनाका लागि चालु आर्थिक वर्षमा गरिएको संशोधित अनुमानको तुलनामा आउँदो वर्ष ५० प्रतिशत धेरै खर्च गर्ने गरी बजेट विनियोजन गरेको छ। चालु वर्षमा ती आयोजनामा करिब ५८ अर्ब ६२ करोड रूपैयाँ खर्च हुने अनुमान गरिएकोमा आगामी वर्षका लागि ८८ अर्ब ३२ करोड रूपैयाँ विनियोजन गरिएको हो।
चालु वर्षको खर्चको अवस्था कमजोर रहे पनि सरकारले आगामी वर्षका लागि गौरवका आयोजनाको विनियोजन उच्च दरले बढाएको हो। राष्ट्रिय गौरवका आयोजनामध्ये आगामी आर्थिक वर्षका लागि सबैभन्दा धेरै रकम पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई छुट्याइएको छ। यो आयोजनालाई १० अर्ब ७५ करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ।
यस्तै काठमाडौं-तराई फास्ट ट्रयाक आयोजनाका लागि ८ अर्ब ९३ करोड रूपैयाँ विनियोजन गरिएको छ। यो आयोजनाले चालु वर्षमा विनियोजन गरेको बजेट खर्च गर्न नसकेर सरेन्डर गरेको थियो। चालु वर्षमा फास्ट ट्रयाकको खर्च ३ अर्ब १८ करोड रूपैयाँ हुने संशोधित अनुमान छ।
चालु वर्षमा ६ अर्ब ६१ करोड रूपैयाँ खर्च हुने अनुमान गरिएको पुष्पलाल (मध्यपहाडी) लोकमार्गमा ८ अर्ब २७ करोड रूपैयाँ विनियोजन गरिएको छ। चालु वर्षमा ३ अर्ब ४१ करोड खर्च भएको उत्तर-दक्षिण राजमार्ग (कालिगणडकी, कर्णाली र कोशी करिडोर)लाई आउँदो वर्ष ४ अर्ब ९ करोड दिइएको छ।
हुलाकी राजमार्गको बजेट केही घटेको छ। यो आयोजनामार्फत चालु वर्षमा ८ अर्ब ३० करोड रूपैयाँ खर्च हुने संशोधित अनुमान छ भने आउँदो वर्षका लागि ७ अर्ब १ करोड छुट्याइएको छ। रेलतर्फ बजेट दोब्बर पारिएको छ। चालु वर्षमा ४ अर्ब ७ करोड खर्च हुने अनुमान गरिएकोमा आउँदो वर्षका लागि ८ अर्ब ६६ करोड छुट्याइएको छ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई ४ अर्ब ७२ करोड छुट्याइएको छ। निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि ५० करोड विनियोजन गरिएको छ। यसैगरी लुम्बिनी विकास कोषअन्तर्गतका कार्यक्रमका लागि १ अर्ब रूपैयाँ विनियोजन गरिएको छ।
निर्माणको अन्तिम चरणमा रहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनालाई १ अर्ब दिइएको छ। पश्चिम सेती आयोजना सूचीमा नै छैन। बजेट वक्तव्यमा पश्चिम सेती र बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण मोडालिटी आउने वर्ष टुंगो लगाउने उल्लेख छ। बुढीगण्डकीका लागि ८ अर्ब ८ करोड रूपैयाँ छुट्याइएको छ।
खर्च संरचनाले चिनेन नयाँ आयोजना
सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट बक्तव्यमार्फत महाकाली सिँचाईं आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा विकास गर्ने घोषणा गरेको छ। बजेट वक्तव्यको बुँदा नं ९८ मा यो आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अघि बढाउने उल्लेख छ।
तर राष्ट्रिय योजना आयोगले तयार गरेको मध्यमकालीन खर्च संरचनामा भने राष्ट्रिय गौरवका आयोजनाको सूचीमा यो आयोजना छैन। महाकाली सिँचाईं आयोजनाका लागि ४३ करोड ७३ लाख रूपैयाँ विनियोजन गरिएको छ। चालु वर्षमा यस आयोजनामा ३१ करोड ३७ लाख रूपैयाँ खर्च हुने संशोधित अनुमान छ।
| आयोजनाको नाम |
चालु वर्षको खर्च |
आगामी वर्षको विनियोजन |
| काठमाडौं-तराई फास्ट ट्राक |
३ अर्ब १८ करोड |
८ अर्ब ९३ करोड |
| पुष्पलाल (मध्यपहाडी लोकमार्ग |
६ अर्ब ६१ करोड |
८ अर्ब २७ करोड |
| उत्तर-दक्षिण राजमार्ग |
३ अर्ब ४१ करोड |
४ अर्ब ९ करोड |
| हुलाकी राजमार्ग (पुलसमेत) |
८ अर्ब ३० करोड |
७ अर्ब १ करोड |
| रेल, मेट्रोरेल तथा मोनोरेल आयोजना |
४ अर्ब ७ करोड |
८ अर्ब ६६ करोड |
| गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल |
१ अर्ब ७८ करोड |
४ अर्ब ७२ करोड |
| पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल |
४ अर्ब १७ करोड |
१० अर्ब ७५ करोड |
| निजगढ अन्तर्राष्ट्रिय विमानस्थ |
१ अर्ब ६ करोड |
५० करोड |
| बुढीगण्डकी जलविद्युत आयोजना |
५ अर्ब ५७ करोड |
८ अर्ब ८ करोड |
| माथिल्लो तामाकोशी जलविद्युत आयोजना |
९९ करोड ७६ लाख |
१ अर्ब |
| मिलेनियम च्यालेन्ज एकाउन्ट |
६ अर्ब ३२ करोड |
९ अर्ब १० करोड |
| बबई सिँचाइ आयोजना |
१ अर्ब ६ करोड |
१ अर्ब ४९ करोड |
| सिक्टा सिँचाइ आयोजना |
१ अर्ब ३ करोड |
१ अर्ब ५५ करोड |
| रानी जमरा कुलरिया सिँचाइ आयोजना |
१ अर्ब ६४ करोड |
२ अर्ब १७ करोड |
| भेरी-बबई डाइभर्सन बहुद्देश्शीय आयोजना |
२ अर्ब ९८ करोड |
३ अर्ब ११ करोड |
| मेलम्ची खानेपानी आयोजा |
३ अर्ब ९१ करोड |
५ अर्ब ४६ करोड |
| पशुपति क्षेत्र विकास कोष |
२२ करोड ७५ लाख |
३५ करोड |
| लुम्बिनी विकास कोष |
५८ करोड १ लाख |
१ अर्ब |
| राष्ट्रपति चुरे संरक्षण कार्यक्रम |
१ अर्ब ७ करोड |
१ अर्ब ५५ करोड |
| महाकाली सिँचाइ आयोजना |
३१ करोड ३७ लाख |
४३ करोड ७३ लाख |
| जम्मा |
५८ अर्ब ६२ करोड |
८८ अर्ब ३२ करोड |
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।