काठमाडौं- जर्मन ब्रान्ड बिएमडब्लुको बिलासी कार नेपाली बजारमा भित्रिएको छ। बिएमडब्लूको पछिल्लो संस्करण सेभेन सिरिज पहिलोपटक नेपाली बजारमा आएको हो।
लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी प्रिमियम मोटर्सले यो कार नेपाल ल्याएको हो। कम्पनीले बिएमडब्लूका कार आधिकारिक बिक्रेताको रूपमा ल्याएको छ।
लक्ष्मी प्रिमियमले ल्याएको उक्त कार मे २५ (जेठ १२)मा भन्सार जाँचपासका लागि दर्ता गरिएको थियो। कम्पनीले एकै दिन ५ वटा विभिन्न मोडलका कार भन्सार जाँचपासका लागि वीरगञ्ज भन्सार कार्यालयमा दर्ता गराएको थियो। जेठ १४ गते अर्थात बजेट भाषणको अघिल्लो दिन भन्सार जाँचपास भएर गाडी भित्रिएका हुन्।
लक्ष्मी प्रिमियम मोटर्सले बिएमडब्लू सेभेन सिरिजको भन्सारमा घोषणा गरेको खरीद मूल्य १ करोड २३ लाख १४ हजार ४ सय ६४ रूपैयाँ रहेको छ। उक्त कार हाइब्रिड भएको र बजेटकै अघिल्लो दिन भन्सार जाँचपास भएकाले आर्थिक ऐन २०७६ अनुसार भन्सार दरमा ५० प्रतिशत छुट पाउँछ भने अन्तःशुल्क लगायत सबै करका दर समान नै लाग्छ।
यो कारको बजार मूल्य भने कम्पनीले औपचारिकरूपमा सार्वजनिक गरेपछि मात्र आउनेछ। लक्ष्मी प्रिमियम मोटर्सले बिएमडब्लूका कार लकडाउन खुलेपछि औपचारिक रुपमा सार्वजनिक गर्ने तयारी गरेको छ।
बिएमडब्लू सेभेन सिरिज
१९ सय ९८ सिसी इन्जिन क्षमताको कार बिएमडब्लूले उत्पादन गरेको बिलासी सेडान हो। कम्पनीले यो कारमा अत्याधुनिक प्रविधिको प्रयोग भएको जनाएको छ। हाइब्रिड सेगमेन्टको यो कार पेट्रोल इन्जिन र इलेक्ट्रिक मोटर दुवै भएको कार हो।
बिएमडब्लू सेभेन सिरिज '७४० एलई एक्सड्राइभ'को अन्तर्राट्रिय बजार मूल्य करिब १ लाख १८ हजार डलर छ। यो कारमा ८ स्पिड अटोमेटिक ट्रान्समिसन छ। बिएमडब्लूको छैटौं जेनेरेसनको यो कार 'फुल साइज सेडान,' हाइब्रिड/प्लग–इन हाइब्रिड कार हो।
यो कारमा भएको इलेक्ट्रिक मोटरको पावर २ सय ४० केडब्लू (ब्याट्री क्षमता ९.२ केडब्लुएच) छ भने इन्जिनको पावर ३ सय २२ बिएचपी छ। यो कारमा ४६ लिटरको इन्धन ट्यांक छ भने इलेक्ट्रिक रेन्ज ४२ किलोमिटर रहेको छ। गाडीको इन्जिन भने युरो ६ मापदण्डको छ।
किलेस इन्ट्री, किलेस स्टार्टजस्ता सुरक्षा विशेषता भएको कारले २०१६ मा लक्जरी कार अफ द इयर अवार्ड समेत पाएको थियो। युरोपेली देशमा यो कार लोकप्रिय छ।
अन्य मोडलका कार
बिएमडब्लूका सेभेन सिरिजसँगै अन्य चार गाडी नेपाल भित्रिएका छन्। लक्ष्मी प्रिमियम मोटर्सले नै १९ सय ९८ सिसी इन्जिन क्षमताको बिएमडब्लू एक्सथ्री, १४ सय ९९ सिसीको एक्सवान, १४ सय ९९ सिसीकै एक्सटू मोडलका दुईवटा कार नेपाल भित्र्याएको हो। बिएमडब्लू सेभेन सिरिजबाहेकका अन्य ४ मोडल कार भने पूर्णइन्धनबाट चल्छन्।
बिएमडब्लूका सबै कार बिलासी नै हुने गरेका छन्। लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी प्रिमियम मोटर्सले ल्याएको यो कार उच्च वर्गका व्यक्तिहरुको रोजाइमा पर्नेछ। बिएमडब्लूका गाडी केही वर्ष अघि नेपालमा बिक्री हुँदै आएको भएपनि बीचमा रोकिएको थियो। अब पुनः आधिकारिक बिक्रेतामार्फत बिएमडब्लूका कार बिक्री हुने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।