काठमाडौं- विदेशबाट फर्किएका नागरिकहरुलाई राख्न आवश्यक क्वारेन्टाइन व्यवस्थापनका लागि होटल तथा रिसोर्टहरु प्रयोगमा ल्याउने तयारी गरिएको छ। बिहीबार सहरी विकस मन्त्रालयमा भएको छलफलमा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले देशभरका व्यवस्थित रुपमा चलेका होटल तथा रिसोर्टहरुलाई क्वारेन्टाइन स्थल बनाउनेबारे आवश्यक परामर्श थालिएको बताए।
देशभरका क्वारेन्टाइनको अनुगमन र सहजीकरणको जिम्मेवारीमा रहेत रहेका मन्त्री मानन्धरले मुलुक र जनता संकटमा परेको बेला सरोकारवाला सबैले सरकारलाई आवश्यक सहयोग गर्नुपर्ने बताए।
मन्त्री मानन्धरले देश नै संकटमा परेका बेला ठुला होटलहरुलाई क्वारेन्टाइन स्थलका रुपमा व्यवस्थापन गर्न सरकारले पहल थालिरहेको बताउँदै व्यावसायीबाट आवश्यक सहयोगको अपेक्षा समेत गरे। मन्त्री मानन्धरले हाल खाली रहेका होटलहरुलाई निश्चित रकम तिरेर सरकारले जनताको जीवनरक्षाका लागि प्रयोग गर्न सक्ने बताएका हुन्।
विदेशमा विपद्मा परेका नागरिकहरुलाई सरकारले उद्दार गरि ल्याएको अवस्थामा उपत्यकामा आवश्यक क्वारेन्टाइनका लागि पुर्व तयारी गरिएको बताउँदै मन्त्री मानन्धरले हाल उपत्यकामा ५ सय १८ वटा बेड तयारी अवस्थामा रहेको बताए।
विदेशबाट फर्किने मजदुर बर्गका सर्वसाधारण र अन्य प्रयोजनमा विदेश गएर फर्कन लागेकाहरुबीच वर्गिकरण गरिने बताउँदै श्रमका लागि खाडी लगायतका मुलुकमा पुगेर विपद्मा फसेका कामदारलाई सरकारले प्राथमिकता दिने मन्त्री मानन्धरले बताए। खाडी मुलुकमा श्रमका लागि गएका सर्वसाधारणलाई सरकारले क्वारेन्टाइन लगायतका व्यवस्थापनमा प्राथमिकतामा राख्ने बताउँदै मन्त्री मानन्धरले विपद्मा फसेका नेपालीबारे सरकार चिन्तित रहेको बताए।
हवाईमार्ग भएर फर्कनेहरुका लागि उपत्यकामा अस्थायी क्वारेन्टाइन बनाउने र सम्बन्धित स्थानिय तह मार्फत् व्यवस्थापन गर्नेबारे सरकारले छलफल गरिरहेको मन्त्री मानन्धरले बताए।
देशभर करिब ६५ हजार क्वारेन्टाइन बेड तयारी अवस्थामा रहेको प्रतिवेदन आफुकहाँ आइपुगेको बताउँदै मन्त्री मानन्धरले २५ हजार सर्वसाधारण क्वारेन्टाइनमा रहेको जानकारी समेत दिए। केही स्थानमा क्वारेन्टाइन व्यवस्थापनमा कमजोरी देखिएको बताउँदै मन्त्री मानन्धरले तत्काल सुधारका लागि सरकारले आवश्यक समन्वय गरिसकेको बताए। क्वारेन्टाइन व्यवस्थापनको खर्च संघीय सरकारले व्यहोर्ने बताउँदै मन्त्री मानन्धरले निर्धक्क भएर व्यवस्थापनमा लाग्न देशभरका स्थानिय सरकारहरुलाई आग्रह समेत गरे।
भारतमा काम गर्दैआएका हजारौं सर्वसाधारण नेपाल भित्रन खोजिरहेको बताउँदै मन्त्री मानन्धरले उनीहरुको आवश्यक व्यवस्थापनका लागि सम्बन्धीत क्षेत्रका स्थानिय तह तगायत सरोकारवाला निकायलाई आग्रह समेत गरे।
कार्यक्रममा अनुगमन तथा सहजिकरणको जिम्मेवारीमै रहेका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले सरकारले बनाएको मापदण्ड अनिवार्य रुपमा पालना गर्न स्थानिय सरकारलाई आग्रह गरे। मन्त्री रावतले क्वारेन्टाइनमा आवश्यक खर्चबारे चिन्ता नलिन स्थानिय सरकारलाई आग्रह पनि गरे। दार्चुला, बाँके, बर्दिया,जुम्ला, बाजुरा, पर्सा, कैलाली,कञ्चनपुर लगायतका जिल्लामा भारतबाट आउने सर्वसाधारणको व्यवस्थापनमा समस्या देखिएको बताउँदै मन्त्री रावतले व्यवस्थापनमा कमजोरी हुन नदिने बताए।
कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले क्वारेन्टाइन व्यवस्थापन कार्यविधि पालना गरिए समस्या नआउने बताउँदै बजेट व्यवस्थापनमा देखिएको समस्या समाधानका लागि अर्थ मन्त्रालयलाई आग्रह गरे। सचिव अधिकारीले ठुला होटलहरुलाई आवश्यक समयमा सरकारले प्रयोग गर्ने बताए।
गृह मन्त्रालयकी उपसचिव गोमादेवी चेमजोङले बसाइएकाहरुको अनुसासन लगायतका समस्या देखिएकाले क्वारेन्टाइनको भित्री व्यवस्थापन नेपाली सेना मार्फत् गरिए सहज हुने बताइन्। अन्तर मन्त्रालय समन्वयमा जोड दिदै चेमजोङले विदेशबाट आउने सम्भावित सर्वसाधारणको डाटा तयार पारेर सबै तहमा पुर्याउनपर्ने बताइन्।
रक्षा मन्त्रालयका सहसचिव सन्तबहादुर सुनारले क्वारेन्टाइन व्यवस्थापनका लागि आवश्यक सबै आर्थिक व्यवस्थापन संघीय सरकारले प्रवन्ध गराउने बताए।
छलफलमा गृह, रक्षा, सामान्य प्रशासन, स्वास्थ्य र सहरी विकासका उच्च अधिकारीहरु सहभागि थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।