काठमाडौं–नेपाली काँग्रेसका राष्ट्रिय सभा सांसद जितेन्द्रनारायण देवले बजेटलाई मनचिन्ते झोला नबनाउन सुझाव दिएका छन्। राष्ट्रिय सभाको आजको बैठकमा बोल्दै उनले कोरोना भाइरसले पारेको असर, स्वास्थ्य , उत्पादन र रोजगार वृद्धिलगायतका कुरामा ध्यान दिन अर्थमन्त्री युवराज खतिवडालाई आग्रह गरे। उनले अहिले प्रस्तुत भएको बजेटको सिद्धान्त धेरै ठाउँमा छरिएको देखिएको भन्दै सीमित क्षेत्रमा मात्र केन्द्रित गराउन आग्रह गरे।
बजेटका सिद्धान्तहरु सामान्य अवस्थाको दस्तावेज जसरी आएको भन्दै उनले यसलाई पुनर्लेखन गर्न माग गरे। वामपन्थी पार्टीका अर्थमन्त्रीले ल्याएको बजेट लोककल्याणकारी अवधारणामा नरहेको आरोप उनको छ। ‘अबको बजेटले स्वास्थ्य क्षेत्रमा १० प्रतिशत छुट्ट्याउनु पर्छ, पहिले स्वास्थ्य संरचना विकासलाई प्राथमिकता दिनुपर्छ ’ उनले भने, ‘अनि गरिब र तल्लो तहका जनताले भोगेको भोकमरी कसरी नियन्त्रण गर्ने र कोरोना भाइरसको आर्थिक पुनर्उत्थान कसरी गर्ने भन्नेमा ध्यान दिन जरुरी छ।’
विश्व अर्थतन्त्र ठूलो मन्दीतर्फ गएकाले अहिले आर्थिक पुनर्उत्थानमा जाने हो भने त्यसको पहिलो प्राथमिकता कृषि नै हुनुपर्ने उनले बताए।
नेपालका डाक्टर, नर्स र प्रहरीहरु कष्टकर रुपमा काम गरिरहेको भन्दै सांसद देवले उनीहरुलाई सम्बोधन गर्ने गरी बजेट बढाउन जरुरी भएको उल्लेख गरे। यस्तै, दीर्घकालीन रुपमा सीमा जोगाउने गरि काम गर्न पनि बजेट छुट्ट्याउन उनले माग गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।