काठमाडौं- कोरोना संक्रमण बढेसँगै देशको अर्थतन्त्र धरासायी बन्दै गएको छ। रोजगारी ठप्प भएपछि एकातिर आम्दानीका स्रोत कम हुँदै गएका छन् भने अर्कातिर दैनिक उपभोग्य लगायत वस्तुको बजार भाउसमेत आकाशिन थालेसँगै निम्न वर्गको पहुँचभन्दा टाढा भइसकेको अवस्था छ।
अझ केही समय कोरोना संक्रमण बढ्दै जाने हो र लकडाउन लम्ब्याउँदै जानुपर्ने हो भने विस्तारै मध्यमवर्गसम्म पनि यो समस्या जाने विश्लेषकहरू बताउँछन्। कोरोनाका कारण खुम्चिएको अर्थतन्त्रले देशको श्रम बजारमा कस्तो असर पर्छ? ह्युमन रिसोर्सेस सोसाइटी अफ नेपालले आयोजना गरेको कार्यक्रममा अर्थशास्त्री तथा जानकारहरूले गरेको व्यक्त गरेको विचारको सम्पादित अंश:
उद्योगहरूले तत्काल रोजगारी दिन सक्ने अवस्था रहँदैनः शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष उद्योग वाणिज्य महासंघ
मलाइ लाग्छ यो पछिल्लो दुई महिना हाम्रो जीवनको टर्निङ पोइन्ट हो। तर कोभिड १९ नै नेपालका निजी क्षेत्रहरूका लागि पहिलो चुनौती भने होइन। यसअघि बन्द हडताल, राजनीतिक अस्थिरता पनि हामीले भोग्दै आएका हौँ। राजनीतिक अस्थिरतासँगै श्रम सम्बन्ध बिग्रिएको अवस्था पनि हामीले देख्यौँ। हरेक दिन जसको बन्द हड्तालले हामीले ठूलो परिमाणमा उत्पादन गुमायौँ।
योसँगै उद्योगमा सुरक्षा चुनौती पनि एकदमै धेरै थियो। नेपालको निजी क्षेत्रले यो भन्दा अगाडि पनि धेरै चुनौती फेश गरेको छ। तिनलाई हामीले केही समयपछि रिकभर गरेका थियौँ। जब त्यो चुनौती सकिएको थियो, आर्थिक वृद्धिदर एक्कासी माथि आएको थियो। तर कोभिड १९ ले विश्वव्यापी प्रभाव पारेकाले नेपालको अर्थतन्त्र पहिलेको जसरी तत्काल रिकभर हुन्छजस्तो लाग्दैन।
यसले सबैभन्दा बढी असर पर्यटन क्षेत्रमा पुर्याएको छ। पर्यटनले प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ५ लाख रोजगारी सिर्जना गरेको थियो। र अहिले सबै तथ्यांक र अध्ययनले पर्यटन क्षेत्र पहिलेकै अवस्थामा आउन अझै एक/डेढ वर्ष लाग्न सक्छ। भिजिट नेपाल २०२० का लागि अर्बौँ लगानी गरेको निजी क्षेत्रले नयाँ होटल पनि सञ्चालनमा ल्याए। आफ्नो पुरानो होटलहरूलाई पनि थप लगानी गरेर विस्तार गरियो। पर्यटन क्षेत्रमा निकै ठूलो लगानी भयो। तर यो लगानी डुब्ने अवस्थामा पुगेको छ। जसले एउटा ठूलो चुनौती थपेको छ। त्यस्तै ठूलो रोजगारी पनि गुम्ने भएको छ।
कृषि क्षेत्रको पनि कुरा गर्ने हो भने पोल्ट्री लगायतका क्षेत्रमा ठूलो चुनौती आउन सक्ने विशेषज्ञ तथा अर्थविदहरूले अनुमान गरिसकेका छन्। निमार्णलगायत क्षेत्रहरूमा केही समयपछि रिकभरी हुने अवस्था रहे पनि अत्यावश्यक बाहेकका अन्य क्षेत्रमा निकै ठूलो समस्या आउने देखिएको छ। यो लामो समयसम्म रहिरहन्छ।
अर्को रोजगारीका लागि भारतबाहेक खाडी र अन्य मुलुकमा ५० लाख युवाहरू पुगेका छन्। जसमध्ये पनि मध्यपूर्वका मुलुकहरूमा ठूलो संख्यामा नेपाली श्रमिकहरू छन्। अहिले ती मुलुकको अर्थतन्त्र विश्वकै सबैभन्दा धरासायी बन्दै गएको अवस्था छ। जसले गर्दा ठूलो संख्यामा नेपाली श्रमिकहरू विस्थापित हुने अवस्था छ।
रोजगारी गुमाएर ठूलो संख्यामा फर्किएका कामदारहरूलाई देशभित्रै परिचालन गर्न सकिन्छ। तर उद्योगले मात्रै धरै सिर्जना गर्न सकिन्छ भन्ने विश्वास मलाई लाग्दैन। किनभने उद्योगहरू अहिले धरासायी अवस्थामा छन्। सरकारले अरु देशले जस्तै समस्यामा परेकाहरूलाई प्याकेज ल्याउन आबश्यक छ। प्याकेज नल्याए हामी निकै ठूलो संकटमा जान सक्छौँ।
स्रोत मुलुक आर्थिक संकटमा हुँदा रेमिट्यान्समा असरः डा गुणाकर भट्ट, कार्यकारी निर्देशक एवं प्रवक्ता नेपाल राष्ट्र बैंक
पछिल्लो १०० वर्षको इतिहासमा हामी दुईवटा संकट एकैपटक ब्यहोर्दै छौँ। स्वास्थ्य संकट र आर्थिक संकट। १९२० को स्वास्थ्य संकटपछि २०२० कोरोना महामारीबाट निम्तिएको स्वास्थ्य तथा आर्थिक संकटमा छौँ।
कोरोना संक्रमणबाट देशको समग्र अर्थतन्त्र प्रभावित छ। पछिल्लो श्रम शक्ति सर्वेक्षणको तथ्यांक हेर्दा ठूलो संख्यामा रोजगारी गुमेको छ। पर्यटन, यातायात, होटललगायत खुद्रा व्यापारको क्षेत्रमा आबद्ध श्रमिकहरूलाई जीविकोपार्जन गर्न समेत समस्या परेको अवस्था छ। पर्यटन क्षेत्र लामो समयसम्म सुध्रिँदैन कि भन्ने आशंका उब्जिएको छ। यो क्षेत्रमा कोरोनाको असर पनि लामो समयसम्म रहन सक्ने अनुमान गरिएको छ।
त्यस्तै खाडी मलेसिया र हाम्रो रेमिट्यान्सका अन्य स्रोत मुलुकहरूको आर्थिक वृद्धिदर संकुचनमा जाने अवस्था छ। यसको प्रत्यक्ष प्रभाव हाम्रो श्रमिक वर्गमा पर्ने देखिएको छ। गन्तव्य मुलुकबाट विस्थापित भएर लाखौँ श्रमिकहरू फर्किने आंकलन गरिएको छ जसको असर रेमिट्यान्समा पर्ने देखिएको छ।
कोरोना संक्रमण बढ्दै जाने हो भने स्थिति अझ भयावह बन्न सक्ने देखिएको छ तर एक महिनापछि स्थिति सामान्य अवस्थामा आयो भने आर्थिक गतिविधिहरूलाई पुनः विस्तार गर्न सकिन्छ। श्रमिकहरूलाई दक्ष बनाएर वैदेशिक रोजगारीमा पठाउने हो भने रेमिट्यान्सलाई पनि पुन वृद्धि गर्न सकिन्छ।
विदेशबाट फर्किएका श्रमिक कहाँ परिचालन गर्ने भन्ने चुनौती निम्तिन सक्छः मोहनदास मानन्धर अध्यक्ष, अर्गनाइजेशन डेभलपमेन्ट सेन्टर
अहिले नै कोरोना भाइरसले देशको अर्थतन्त्र र रोजगारीमा कतिसम्म असर गर्छ भनेर आंकलन नै पूर्णरूपमा गर्न सकेको अवस्था छैन। यो आँकलन गर्न नै अर्को एक महिना जति लाग्न सक्छ। कति जनाले रोजगारी गुमाउँछन् र अर्थतन्त्रमा कति असर पुग्छ भन्ने कुरा त्यसपछि भन्न सकिन्छ। अहिलेसम्म आउँदा पनि आर्थिक गतिविधिमा निकै ठूलो समस्या निम्तिसकेको अवस्था छ।
होटल, पर्यटनलगायत व्यवसाय तत्काल सुचारु गर्न सक्ने अवस्था छैन। देशभित्रै धेरैको रोजगारी गुमिसकेको छ। अहिलेको स्थितिमा विदेशबाट ३ लाखमात्रै श्रमिकहरू फर्किए भने पनि उनीहरूलाई कुन क्षेत्रमा आबद्ध गराउने भन्ने समस्या छ।
अहिल्यै आँकलन गर्न सक्ने अवस्था छैनः गोकर्णराज अवस्थी, विश्लेषक
कोरोनाले नेपालको अर्थतन्त्र र रोजगारीमा कस्तो असर पार्छ भन्ने कुरा तत्काल आँकलन गर्न सकिने अवस्था छैन। अब कोरोना संक्रमण कहिलेसम्म रहन्छ र हामी कहिलेसम्म लकडाउनमा बस्नुपर्ने हो भन्ने कुराले असर निर्धारण गर्छ।
कूल गार्हस्थ उत्पादनको करिब ८ दशमलव ५ प्रतिशत आर्थिक वृद्धिदर घट्ने भनेर हामीले प्रारम्भिक प्रक्षेपण गरेका थियौँ। पछि बजेटको मध्य मुल्यांकनमा त्यसलाई ६ दशमलव ५ देखि ७ को बीचमा कमि आउने प्रक्षेपण गरियो। सरकार आफैँले दुई प्रतिशतसम्ममा झर्ने भनिसकेको अवस्थामा अर्थतन्त्रको आकार चाहिँ जुन हिसाबले बढ्नुपर्ने हो त्यो हिसाबले बढ्ने देखिँदैन।
कोरोनाको अर्को असर भनेको उद्यमी व्यवसायीहरूमाथि पर्ने असर हो। सानादेखि ठूला सबै उद्यमी व्यवसायीहरूलाई यसको असर पर्न सक्छ। होटल संघले त ६ महिना बन्दको घोषणा नै गरिसकेको छ।
साना तथा मझौला उद्योगहरूलाई सबैभन्दा ठूलो असर पर्छ। किनभने उनीहरू सानो पुँजी र सानो आकारमा सञ्चालित हुन्छन्। र बैंकबाट ऋण लिएका हुन्छन्। कोरोनाले ठूला उद्यमीहरूलाई पनि समस्या निम्तिने पक्का छ। त्यो असर कहाँसम्म रहन्छ भने बैंकहरूको ऋण तिर्न सक्ने क्षमता कम हुँदै गएपछि खराब कर्जा बढ्छ। जसबाट बैंकहरू पनि समस्यामा पर्छन्। यो सबै आर्थिक कृयाकलाप कम हुँदै गएपछि सरकारको राजश्व यसै पनि घट्छ।
अहिले ५ खर्ब ५० अर्बको हाराहारिमा मात्रै राजश्व उठेको छ। जबकी हाम्रो आर्थिक वर्षको १० महिना सकिन लागेको छ। जसले साधारण खर्चलाई पनि धान्न सक्ने अवस्था रहँदैन। अर्थतन्त्रमा दैनिक ८ देखि १० अर्ब असर गर्दै गएको छ। यसले समग्र अर्थतन्त्र र रोजगारीलाई असर गर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।