काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीको आँखा र कान परीक्षण गराउन उपयुक्त हुने बताएका छन्।
लकडाउनमा कैयौं नागरिकले पाएका दुःख तथा हैरानीका फोटो तथा भिडियो प्रशारण गर्ने सञ्चार माध्यमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले रहस्यपूर्ण भनेका थिए। सरकारी सञ्चार माध्यमका प्रतिनिधिहरुलाई दिएको अन्तर्वार्तामा उनले श्रमिकहरुले पाएको दुःखबारे भएको चर्चालाई ‘कर्कश’ भनेका थिए। थापाले ट्विटरमार्फत त्यसैमाथि कटाक्ष गरेका हुन्।
‘हप्तौँ हिँडेरै घर पुगेका अनि बाटोमा अलपत्र परेकाहरुलाई प्रायोजित, तिनलाई खुवाउने नागरिक, मद्दत गर्ने स्थानीय सरकार, व्यथा बताउने पत्रकार, आदेश दिने अदालतलाई परिचालित देख्ने, अनि तिनको पक्षमा उठेका आवाज 'कर्कश ध्वनि' ठान्ने हो भने प्रधानमन्त्रीज्यू , आँखा र कान परीक्षण गराउन उपयुक्त होला’, थापाले लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।