कञ्चनपुर- कञ्चनपुरका कोरोना संक्रमित ४१ वर्षीय पुरुष यही चैत २ गतेमात्रै भारत गएको भेटिएको छ। कामका लागि भारतको उत्तराखण्ड राज्यको चम्फावत जिल्लाको लुहाघाटबाट १० किलोमिटर पर सुन्नीगाउँ पुगेका उनीसहितका १३ जना भारत र नेपाल दुवै देशमा लकडाउन भएपछि नेपाल आएका थिए।
१३ गते उनी भारतबाट आएर १४ गते सीमामा पुगे। तर गड्डाचौकी नाका बन्द गरेपछि उनीहरु ब्रह्मदेवमण्डी क्षेत्र अर्थात भीमदत्त नगरपालिका‐९ मटेनाबाट सीमा छलेर नेपाल आएका थिए।
तर सशस्त्र प्रहरीको टोलीले भेटेर समातेर बेदकोट नगरपालिकाको सडकमा ल्याएर छोडेको थियो। त्यसपछि उनीसहितका १३ जनाले गाउँमै गएर बस्न खोजे। तर गाउँलेले हल्ला गरेर बस्न नदिएपछि १२ बजे राति नगरपालिकाले क्वारेन्टाइनमा बसाइएको नगरप्रमुख अशोक चन्दले बताए।
ती १३ जनाको चैत २० गते सेनाले स्वाब संकलन गरेको थियो। अरु सबैको नेगेटिभ देखिए पनि बेदकोट नगरपालिका‐१० चतरीका ती ४१ वर्षीय पुरुषमा संक्रमण भेटिएको छ। खेतबारीका नाममा चार कठ्ठा जग्गामात्रै भएका दलित परिवारका ती पुरुषका श्रीमती‚ १० वर्षको छोरी र १५ वर्षको छोरा छन्।
बालबच्चाको पालन पोषणका लागि नै उनी कञ्चनपुरबाट नजिकै पर्ने उत्तराखण्डको चम्फावतलगायतका जिल्लामा जाने आउने गरिहन्थे। यसपटक पनि सुन्नी गाउँमा सडक खन्ने गरेर उनीहरु त्यता गएका थिए।
ती संक्रमितलाई शनिबार बिहान १० बजे सेती प्रादेशिक अस्पतालमा ल्याएर उपचार थालिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।