राजविराज- फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएका एकसहित सप्तरीमा ९ जनाको थ्रोट स्वाब परीक्षणका लागि बिहीबार सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। कोरोना भाइरस (कोभिड–१९)को आशंका देखिएपछि उनीहरुको स्वाब परीक्षणका लागि पठाइएको हो।
गत चैत ४ गते कतारको क्यूआर ६५२ नम्बरको जहाजबाट नेपाल फर्केका तिलाठी कोइलाडी गाउँपालिकाका १ र भारतको विभिन्न ठाँउबाट जमातमा सहभागी भइ घर फर्किएका राजविराज नगरपालिकाका ८ जनाको स्वाब परीक्षणका लागि पठाईएको गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दासले जानकारी दिए।
हालसम्म कतारबाट एउटै फ्लाइटमा काठमाडौं आएका ३ जनामा कोरोनाको संक्रमण देखिएको छ। स्वाब संकलन गरी ९ जनालाई नै पुनः क्वारेन्टाइनमा पठाइएको छ। स्वाबको रिपोर्ट आउन ३ दिनसम्म लाग्न सक्ने मेसु दासले जानकारी दिए।
यसैगरी, भारतको नयाँदिल्लीमा आयोजित मुस्लिमहरुको धार्मिक कार्यक्रममा सहभागी भई लुकिछिपी सप्तरी प्रवेश गरेकाहरुलाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाउने काम बिहीबार पनि जारी रहेको छ। लकडाउनको समयमा पनि चोरबाटो हुँदै सप्तरी छिरेका १७ जनालाई बिहीबार खोजतलास गरी क्वारेन्टाइनमा पठाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
कञ्चनरुप, राजविराज, हनुमाननगर कंकालिनी, डाक्नेश्वरी, बोदेबरसाइन नगरपालिका तथा तिलाठी कोइलाडी र विष्णुपुर गाउँपालिकाबाट उनीहरुलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिए।
दिल्लीको उक्त धार्मिक कार्यक्रममा सहभागी ९ जना भारतीयको मृत्यु भइसकेको तथा धेरैमा कोरोनाको संक्रमण देखिएको भारत सरकारले पुष्टि गरेपछि त्यहा सहभागी भई फर्केका नेपालीहरूको खोज तलास तीव्र पारिएको प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले बताए।
सप्तरीमा बिहीबार बेलुकासम्म ११ महिलासहित २ सय ११ जनालाई क्वारेन्टाइनमा राखिएको छ। सप्तरीका ९ नगरपालिकासहित १८ वटा स्थानीय तहमध्ये १७ वटा स्थानीय तहको क्वारेन्टाइनमा उनीहरुलाई राखिएको छ। सप्तकोशी नगरपालिकाको क्वारेन्टाइनमा भने हालसम्म कसैलाई राखिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।