अहिले नेपाली निम्न–मध्यम वर्गीयहरू कुनै शब्ददेखि तर्सिन्छन् भने त्यो हो, अस्पताल। परिवारको बिरामी सदस्य निको नहोला भनेर होइन, उपचार खर्चले बाँकीको जीवन समेत थला पार्ला भनेर। यही विषयलाई मेरुदण्ड बनाएर ‘पशुपति प्रसाद’का निर्देशक दिपेन्द्र के खनालले एउटा फिल्म बनाएका छन्, ‘आमा’। जसको निर्देशन मात्रै होइन, लेखन र छायांकन समेत उनले नै गरेका हुन्।
नाम सुन्दा धेरैले आमाको दुःखमाथि फिल्मांकन गरेको अनुमान लगाउन सक्छन्। तर, यो ‘आमा’को भन्दा पनि ‘आम’ नेपालीको कथा हो। देशको अवस्थाले सुरताल बिग्रिएको जीवनको लय सुधार्न आम नेपालीहरू के गरिरहेका छन्? अलिकति सक्नेहरू घरखेत गरेर अमेरिका पुगेका छन्। नसक्नेहरू पनि घरखेतै बेचेर खाडीमा। अर्को एउटा समूह पनि छ, जो यही देशमा केही गर्ने अपेक्षा पन्तुरो बोकेर लखरलखर गरिरहेको छ। यी सबै वर्ग यो फिल्ममा जोडिन्छन्।
कथानक फिल्मकी केन्द्रीय पात्र आरती (सुरक्षा पन्त)को बुवाको एक्सिडेन्टबाट सुरु हुन्छ। जसलाई आरतीकी आमा गाउँबाट अस्पताल लिएर आउँदैछिन्। एउटा निजी स्कुलमा पढाउने आरती र त्यस्तै निजी अफिसमै मध्यमस्तरको कर्मचारीका रूपमा कार्यरत उनका श्रीमान् (मनिष निरौला) सहरमा संघर्ष गर्दैछन्। आरतीका दाइ अवैध बाटोबाट अमेरिका पुगेका छन्, जो कमाउन भन्दा वैध हुने बाटो खोज्नमै तल्लीन छन्।
त्यसपछि नेपाली अस्पतालमा एउटा बिरामी जे हैरानी व्यहोर्छ, त्यो यी पात्रहरूले व्यहोर्छन्। सबैभन्दा बढी अस्पतालले गर्ने ‘अनइथिकल अभ्यास’को हैरानी दिन्छ। भर्याङमा लड्दा टाउकोमा चोट लागेका आरतीका बुवाको उपचार गर्नेतर्फ कम तर व्यापार गर्नेतर्फ बढी केन्द्रित हुन्छ अस्पताल। अनावश्यक औषधि मगाइरहेको दृष्य छन्। नर्सहरूको ‘पब्लिक इमेज’ छ।
सबैभन्दा बढी अस्पताल सञ्चालकको कमाउने नियत उदांगो पार्न खोजिएको छ। नियत भन्नाले जोगाउन नसकिने अवस्थामा पुगेको बिरामीलाई भेन्टिलेटरमा राखेर केही दिन असुल्ने नियत पनि। यो आमजनले भोग्दै सुन्दै वा सुन्दै भोग्दै आएको विषय हो।
एउटा फिल्म निर्देशकको कल्पनासम्म आइपुग्नुमा कहीँ कतै सत्यताको अंश पक्कै छ र हुन्छ पनि। भर्खरै चिकित्सा पढिरहेको विद्यार्थीले अस्पताल सञ्चालक डाक्टरलाई नैतिकताको प्रश्न गरिरहेको दृष्यले केही नेपाली मेडिकल कलेज सञ्चालकलाई सम्झाइदिन्छ। यसले स्तम्भकारलाई केही वर्षअघि एक मेडिकल विद्यार्थी आफ्नै अध्यापकसमेत रहेका ‘डाक्टर मेडिकल सञ्चालक’को अनैतिक अभ्यासलाई लिएर स्वास्थ्यखबरमार्फत् प्रश्न गरिरहेको क्षणमा पुर्याएको थियो।
छोरो पराइदेशमा अवैध मानवको जीवन जिइरहेको छ। न प्रशस्त कमाइ छ, न घरमा केही पर्दा फर्किने अवस्थामा। ६० उकालो लागेकी आमा अचेत श्रीमानको रेखदेखदेखि उपचार खर्चको जोहो गर्नेसम्ममा संघर्षरत छन्। तैपनि छोरोलाई भनिरहेकी छिन्- म छु, सब ठीक हुन्छ। सकेसम्म मिलाएर आइज। एक ठाउँ मन चसक्क हुने छोराको संवाद छ- तपाईं बुझ्नुहुन्छ आमा। भगवान् सबैतिर पुग्न नसक्ने भएकाले आमा बनाएका होलान्।
सबैभन्दा बढी अस्पताल सञ्चालकको कमाउने नियत उदांगो पार्न खोजिएको छ। नियत भन्नाले जोगाउन नसकिने अवस्थामा पुगेको बिरामीलाई भेन्टिलेटरमा राखेर केही दिन असुल्ने नियत पनि।
नेपाली समाजको सेटिङमा आमाबुवाको दायित्व मूलतः छोराकै हो। अंश पनि छोराले एकलौटी गर्ने भएपछि परिआउँदा व्यहोर्न पनि छोराले नै पर्छ। छोरीको कर्तव्य नै त हुन आउँदैन, प्रेमले जति सक्छिन्, त्यति आमाबुवाका लागि गर्छिन्। यहाँ पनि सुरुमा बुवाको मायाले जोडिन्छन् आरती। जुन काम आम छोरीहरूले स्वभाविक गर्छन्, त्यही गर्छिन् उनले पनि। छोरा परदेशी भएपछि दायित्व छोरीमै आइपर्छ। त्यसैमाथि अमेरिकामा अवैध दाजुले एकवचन लगाइदिन्छन्– तँ पनि सन्तान होस्।
बाँझोपनसँग जुधिरहेकी उनी यतिबेला आफैं आमा बन्ने प्रयासमा छिन्। श्रीमानले व्यक्तिगत खर्च कटाएको पैसा, आफ्नो कमाइ र घरव्यवहारबाट बचेको रकमले 'आइभिएफ' प्रविधिबाट आमा बन्ने सपना उनले पालेकी छिन्।
सन्तानहीनलाई समाजले कसरी हेर्छ? त्यो त फिल्ममा पनि देखिने भइहाल्यो। ‘आमा’ बन्ने प्रयासमा रहेकी उनलाई परिस्थितिले असल ‘सन्तान’ बनेर देखाउन चुनौती दिन्छ। यो चुनौती पार गर्न उनी परिस्थिति, परिवार र आफ्नै सपनासँग कसरी जुध्छिन्? फिल्मको केन्द्र पनि यही हो। उनले गरेको संघर्षले हरेक सन्तानलाई एकपल्ट आफ्ना जन्मदाताको स्मरण अवश्य गराउँछ। भावुक प्रकृतिको दर्शक हो भने केही ढिका आँशु खसिरहन्छन्, फिल्मको मध्यभागदेखि अन्त्यसम्म।
सन्तान हुन नसकेकी होइन, सन्तान भएर पनि सन्तानसुख प्राप्त गर्न नसकेकी आमाका अलवा अर्की एक आमा (सरिता गिरी) छिन्। जसको सन्तान जन्मजात स्वास्थ्य समस्यासँग जुधिरहेको छ, अस्पतालको एनआइसियूमा। यसरी हेर्दा आमा हुन नसकेकी, आमा भएर पनि सन्तानलाई छुन नपाएकी र सन्तान भएर पनि सन्तानसुख महसुस गर्न नपाएकी तीन आमाको कथा जेलिँदै अघि बढ्छ।
दुःखमा परेकालाई धर्म परिवर्तन गर्न उक्साउनेहरू अस्पतालमा आइरहेको धेरैले भेटकै हो। त्यो दृष्यसमेत राखेर दुःखमा स्वार्थ खोज्नेहरुमाथि फिल्ममार्फत् गतिलो झापड हानिएको छ।
अमेरिकामा हुनेले सन्तानको कर्तव्य पूरा गर्न नसके जस्तै यो बच्चाको शिशु अरबमा भएका कारण बाबु हुनुको कर्तव्य पूरा गर्न सक्दैन। अन्तरजातीय विवाहका कारण दुत्कारिएकी बिरामी सन्तानकी ती आमाको एउटा संवाद चोटिलो छ- सबै छन् तर कोही छैनन्। संक्रमणकालबाट गुज्रिरहेको वर्तमान नेपाली समाजको कटु यथार्थ हो यो। सबै भएर पनि पर्दा कोही साथमा नपाउने आमजनले झेलेकै कुरा हो।
दुःखमा परेकालाई धर्म परिवर्तन गर्न उक्साउनेहरू अस्पतालमा आइरहेको धेरैले भेटकै हो। त्यो दृष्यसमेत राखेर दुःखमा स्वार्थ खोज्नेहरुमाथि फिल्ममार्फत् गतिलो झापड हानिएको छ।
घडीलाई बिम्बका रूपमा गज्जबले प्रयोग गरिएको छ। जुनबेलासम्म पैसाको बन्दोबस्त गरिरहेकी हुन्छिन्, त्यो बेलासम्म घडीमा दम दिन बिर्सेकी हुँदिनन्, केन्द्रीय पात्र आमा (मिथिला शर्मा)ले। जब घडी रोकिन्छ, उता श्रीमानको जीवन। जीवनमा दुःखका झरी झेलिरहेका पात्रहरूले प्रकृतिको झरी झेलिरहेको बिम्ब नौलो नभएपनि न्यायपूर्ण छ।
उपचार शुल्क तिर्न नसक्दा लास उठाउन नदिएको समाचार धेरैले सुनेकै हुनुपर्छ। त्यसलाई फिल्मको ‘क्लाइमेक्स’मा प्रयोग गरिएको छ, जुन स्वभाविक लाग्छ। फिल्मको सफलता भनेकै ‘हिरो’ (सुरक्षा पन्त)लाई सवै समय सामान्य छोरीका रुपमा प्रस्तुत गरेर क्लाइमेक्समा राम्ररी प्रस्तु गर्नु हो। फिल्मले चारवटा कथा बोकेको छ तर ती अनावश्यक भार होइन, एक मानवका हातखुट्टा जस्तै देखिन्छन्।
दर्शक ‘आमा’बाट निराश भएर फर्किँदैनन्। तर, फिल्म त्रुटिरहित भने छैन।
निर्देशक खनालले ‘पशुपति प्रसाद’बाट पक्रेको लयको निरन्तरता हो यो फिल्म। त्यो फिल्म हेरेर उनीबाट केही अपेक्षा गरेका दर्शक ‘आमा’बाट निराश भएर फर्किँदैनन्। तर, फिल्म त्रुटिरहित भने छैन। केही दृष्य छन्, जुन ‘लाउड’ महसुस हुन्छन्। जस्तो- विदेशबाट बुढाले पठाएको चक्लेट झर्किँदै इन्कार गरेर रोएको दृष्य। घरमा बूढी सासूसँग अनावश्यक रिसाएको दृष्य। यस्तै, फिल्मको अन्त्यमा आमालाई सकुशल नै राखेको भएपनि कथाको मूल उद्देश्यमा खति हुँदैनथ्यो।
फिल्ममा नेपालीपन खोज्नेहरूका लागि हेर्न सिफारिस गरिन्छ। फिल्म प्रेमी हुनुहुन्छ भने फिल्म ठानेर हेर्नुहोस्, फिल्मप्रेमी होइन भने पनि जीवन ठानेर हेर्नहोस्। यसो भनिरहँदा धरैलाई यो ‘समीक्षा भन्दा फिल्मप्रतिको ‘शुभेच्छा’ जस्तो पनि लाग्ला। सत्य के हो भने नकारात्मक कुरा बढी लेख्दा भयंकर कहलिने ‘समीक्षक मानसिकता’बाट भने मुक्त भएर लेखिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।