काठमाडौं- नेपाल प्रहरीका पूर्वडिएसपी राजकुमार खिउजुविरुद्ध बलात्कार गरेको भन्दै महानगरीय प्रहरी परिसर ललितपुरमा किटानी जाहेरी दर्ता भएको छ।
ललितपुरकी एक युवतीले दिएको किटानी जाहेरी दर्ता भएको परिसरका प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए। उनका अनुसार जाहेरी दिन बुधबार परिसर पुगेकी उनको स्वास्थ्य परीक्षण समेत भइसकेको छ।
प्रहरी रिपोर्ट बनाउका लागि गत मंसिरको अन्तिम साता महानगरीय प्रहरी वृत चापागाँउ पुगेकी ती युवतीलाई खिउजुले रिपोर्ट बनाइदिने आश्वासन दिँदै जबरजस्ती करणी गर्ने गरेको जाहेरीमा उल्लेख छ।
उक्त घटना बाहिर ल्याउन लाग्दा उल्टै धम्की दिने गरेको पीडित युवतीले बताएकी छन्।
मुलुकी फौजदारी संहिताअनुसार बलात्कार भएको मितिले एक वर्षभित्र उजुरी दिनुपर्ने प्रावधान छ। तर ती युवतीले एक वर्ष नाघिसकेको अवस्थामा उजुरी दिएकाले कारबाही प्रक्रिया के हुने भन्नेबारे अन्योल छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।