जनकपुर– तराई–मधेसमा यतिखेर पुस अन्त्यसँगै माघे संक्रान्ति अर्थात् ‘तिला संक्रान्ति’ पर्वको चहलपहल देखिएको छ।
तराई–मधेस क्षेत्रमा माघे संक्रान्तिका दिन मनाइने तिला संक्रान्तिको तयारी जनकपुरसहित प्रदेश २ का सबै जिल्लामा केही दिन पहिलेदेखि सुरु भएको हो।
यस पर्वमा तील, मुरही र चिउरालाई सख्खरमा मिलाएर लड्डु (स्थानीय भाषामा ‘लाइ’ भनिन्छ) खाने, खुवाउने प्रचलन छ।
आदिवासी थारु, दनुवार, बाँतर र मुसहर समुदायको यो खास पर्व हो। यी समुदाय केही साताअघिदेखि नै ‘तिला संक्रान्ति’ का लागि सामानको जोहो गर्न थाल्छन् ।
मिथिलाञ्चलमा यो पर्वका समयमा छोरी-चेली र ज्वाइँचेला, भाञ्जाभाञ्जी र नाति नातिना सबै बोलाउने र रमाइलोका साथ मनाउने चलन छ । मिथिलाञ्चलका अन्य समुदायमा यस पर्वमा शाकाहारी परिकार कै चलन रहे पनि थारु, दनुवार, मुसहर र बाँतर समुदायमा भने आ-आफ्नो परम्पराअनुसार खसी, कुखुरा, हाँस र सुँगुरको मासु खाने र खुवाउने परम्परा छ।
माघ १ गते मनाईने तिला संक्रान्तिको तयारी अन्य बस्तीमा भन्दा थारु बस्तीमा विशेष देखिन्छ। थारुले पर्वका लागि खसी, कुखुरा र हाँसको व्यवस्था गरिएको हुन्छ। त्यसबाहेक तिल, चिउरा र मुरही एवं छोराछोरीलाई नयाँ लुगाको प्रबन्ध गर्नुपर्ने परम्पराले यो पर्व आफ्नोे समुदायका लागि खास र अलि खर्चिलो हुने गरेको धनुषाको वटेश्वर गाउँपालिका २ भुईचक्रपुरका थारु अगुवा नरेन्द्र सिंह थारुले बताए ।
धनुषाको सीतापुर भंगहा र महोत्तरीको भङ्गाहा नगरपालिकाका सबैजसो बस्ती थारुबाहुल्य छन् भने गौशाला नगरपालिकाका निगौल, बिसरपुर र रामगोपालपुर नगरपालिकाको विश्वम्भरपुर थारु बसोबासका बस्ती हुन् ।
त्यसैगरी माघे संक्रान्तिका लागि महोत्तरीको बर्दिवास, औरही र गौशाला नगरपालिका क्षेत्रमा सघन बसोबास रहेका मगरले पनि आफन्त डाकेका छन् ।
थारु र मगरबाहेक हिन्दू परम्परा मान्ने अन्य जातजाति पनि यहाँ तिलासंक्रान्ति भनिने माघे संक्रान्ति पर्वको तयारीमा जुटेका छन् ।
जनकपुरसहित मिथिला क्षेत्रमा यो पर्वमा खास महत्वको मानिने तील, सख्खर (मिठ्ठा), चिउरा र मुरीको बजार जमेको छ।
तिला संक्रान्तिमा तील, चिउरा र मुरीका लड्डु बनाएर कूलदेवतालाई चढाइ इष्टजनसँगै खाने, खुवाउने मैथिल परम्परा छ। यस पर्वले गर्दा चिउरा र मुरीको मूल्यमा खासै फरक नआए पनि तील र सख्खरको मूल्य भने आकासिएको छ। यसअघि प्रतिकिलो १५० देखि २०० सम्म पाइने तील अहिले जिल्लाका बजारमा ३५० सम्म र सख्खर प्रतिकिलो १०० सम्म पुगेको धनुषाको सखुवा बजारमा भेटिएकी एक उपभोक्ता रीनादेवी कर्णले बताईन्।
मधेसमा यति बेलामा खेतबारीमा तील उत्पादन गर्ने किसान भने खुसी छन् । थोरै जग्गामा तील थोरै उत्पादन हुने हुँदा अहिले पाएको मूल्यले अन्यबाली सरह रकम प्राप्त हुने भएकाले किसानहरु केही खुसी भएको वर्दिबास नगरपालिकाको पशुपतीनगरका किसान श्यामसुन्दर महतोले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।