इटहरी- ८ कात्तिक २०७६, शुक्रबार दिउँसो ह्विल चेयरमा एक हुल युवा इटहरी उपमहानगरपालिका भित्र प्रवेश गरिरहेको थिए।
कार्यलयको गेटबाट केही पर पुगेपछि उनीहरू अलमलमा परे। कुनै पनि कार्यकक्षमा ह्विल चेयर छिर्न अवस्था थिएन। कार्यलयको प्राङ्गणमै लाइन लागे। त्यही लाइनको बिचमा थिए राजन बराइली।

भोजपुरको अरुण गाउँपालिका (साविक याकु गाविस)का उनी हाल इटहरीमा बस्छन्। जातीय र वर्गीय विभेद विरुद्धमा आन्दोलन गर्नुपर्ने लागेर उनी माओवादी युद्धमा सामेल भए। २०५७ साल देखि माओवादी युद्धमा होमिएका उनी युद्धको अग्रमोर्चामा थिए।
सामाजीक विभेद सहेर लामो समय बस्न हुन्न भन्ने लागेको थियो उनलाई। माओवादीले पनि 'मान्छे मान्छे एउटै हो, फरक केही छैन' भन्दै प्रशिक्षित गराउँदै थियो। सामूहिक भोजद्वारा ब्राह्मण र दलितबीचमा समानता देखाउने धेरै अभ्यास भइरहेका थिए। त्यसको प्रत्यक्ष अनुभव गरिरहेका थिए बराइली। छुवाछुतको अन्त्य हुने र दलित पनि राज्यको उपल्लो तहमा पुग्छन् भन्ने बुझेका थिए उनले।
घटना ०६० माघको हो। भिडन्तका लागि तयारी भइरहेको थियो। कसलाई अगाडि बढाउने भन्नेमा कमान्डरले निर्णय गर्थे। भोजपुरको रिपिटर टावर आक्रमण गर्ने योजना बनिरहेको थियो। त्यही बेला बराइलीले म अग्रस्थानमा हुन्छु भनेर प्रस्ताव गरे। भयो पनि त्यस्तै। टावर आक्रमण भयो। दुवैतर्फ गोली हानाहान भयो। उनको दुवै खुट्टामा गोली लाग्यो। आक्रमण सफल भयो। त्यसपछि उनी झनै सफल योद्धाको रुपमा परिचित भए।
पछि सिराहको बन्दीपुर आक्रमणमा उनको नाम अगाडी आयो। कुशल योद्धाका रूपमा परिचित भइसकेका उनी आक्रमणमा सहभागी भए। लामो समय युद्ध चल्यो। उनको ढाडमा गोली लाग्यो। घाइते भए पनि मैदान छाडेनन्।

पछि उपचारको क्रममा उनको जिउमा निकै गहिरोसंग गोली भासिएको भेटियो। त्यो बेला खासै समस्या नभएको कारण थप गोली निकाल्न जरुरी ठानेनन् उनले। तत्काल निकाल्न खर्च र समय पनि मिलेन। जिउमै गोली बोकेर काममा लागे उनी। केही समयपछि गोली अड्किएको ठाँउ पोल्न र दुख्न थाल्यो। उपचारको लागी उनी काठमाडौं नै जानुपर्ने भयो।
त्यो बेलासम्म गणतन्त्र आइसकेको थियो। उपचार गराउने र निको भएर थप उद्यम गर्ने सुरमा थिए उनी। सोचे जस्तो हुन्न जीवन। तारादेवीको गीत जस्तै भइदियो। उनी सवार गाडी धादिङको कृष्ण भिरमा दुर्घटनामा पर्यो। उनको सम्झनाअनुसार घटना २०६९ साउन १ गतेको हो। बसमा सवार ३६ जनाको मृत्यु भयो। ६ जना बेपत्ता भए। संयोगबस उनीसहित ५ जना सकुशल रहे। युद्धदेखि दुर्घटनासम्ममा उनी मृत्युको मुखबाट बचेका छन्।
उपचारकै लागि गएकाले उनी सिधै अस्पताल पुगे। वीर अस्पतालमा अपरेसनको समय फिक्स भयो। नभन्दै अपरेसन पनि सफल भयो। ८ वर्षपछि जिउको गोली निकालेकोमा खुसी थिए बराइली। तर उनको खुसी एक रातभन्दा बढी टिक्न सकेन। किन त?
'जिउबाट गोली त निस्कियो। गोलीसंगै आत्मविश्वास पनि निस्कियो। गोली निकालेको भोलिपल्टैदेखि आधा शरीर चल्न छाड्यो,' बराइली दुःखी भएको बुझ्न सकिन्थ्यो। पुन: उनी अस्पताल गए। डाक्टरले स्पाइनल कर्ड इन्जुरी भएको बताए। यसको एक मात्र उपचार ह्विल चेयर थियो। त्यस दिनदेखि उनको साथी ह्विल चेयर अहिलेसम्म साथमा छ।
उनलाई जनयुद्धसम्म पुर्याउने पार्टी अहिले सरकारमा छ। दुई पार्टी मिलेर ठूलो भएको छ। पार्टीजस्तै उनको समस्या पनि ठूलो हुँदै गएको छ। युद्धमा होमिएका धेरै राजनहरू राहतको पर्खाइमै छन्। पार्टी सरकारमा भएपनि आफूहरु अल्पमतमा परेको उनको बुझाइ छ। ‘जसका लागि युद्धको अग्रमोर्चामा लडियो तिनीहरू अहिले मन्त्री भएका छन्,’ उनी भन्छन् , ‘तर तिनीहरूकै लागि लडेको हो भन्दा पनि अहिले चाँहि आत्मग्लानी हुन्छ।’
हिजो गणतन्त्रका लागि लडेको र अहिले गणतन्त्र आएको छ भनेर चित्त बुझाएर बसेको उनी सुनाउँछन्। 'आम्दानीका लागी केही उद्यम गरौं' भन्दा पनि ह्विल चेयरसँग उद्यम गर्न समस्या भएको उनी बताउँछन्। सीप सिक्नको लागि जिउ कन्ट्रोल नभएर समस्या हुने गरेको उनको भनाइ छ।
‘हिजो मृत्युको दस्तावेजमा हस्ताक्षर गरेर हिडेको मान्छे हौं। युद्धमा जाँदा फस्ट एसल्टमा (सबैभन्दा अगाडि) परिएन भने ग्वाँग्वाँ रुन्थ्यौं। किनकी सबैलाई पहिलो सहिद हुने रहर हुन्थ्यो,’ बराइली दुख मान्दै भन्छन्, ‘तर अहिले पनि समाजको चेतना परिवर्तन भा छैन। अहिले पनि महिला हिंसा छ। बलात्कार बढेको छ। जातीय विभेद जारी छ। देशभन्दा पनि नेताको दैनिकी मात्रै बढी परिवर्तन भएको छ।’
राजनका हरदुःखमा साथ दिएकी छन् श्रीमतीले। सकारात्मक सोच छ उनमा। अरूलाई भन्दा पनि आफैलाई विश्वाश गर्न सुझाउँछिन् उनी राजनलाई। श्रीमती सञ्चिता श्रेष्ठ कति पनि निराश छैनन्।

जनयुद्धमै अन्तर्जातीय जनवादी विवाह गरेका उनीहरूको युद्धकै क्रममा छोरा जन्मियो। अहिले छोरो १२ कक्षामा पढिरहेको छ। सञ्चिता भने राजनको हेरचाहमा व्यस्त छिन्। हिँडडुल दिसापिसाबका लागि पनि साथी चाहिने भए पछि श्रीमानकै साथमा हुन्छिन् उनी।
पार्टीले धेरैलाई हेर्नुपर्ने भएकोले आफुहरूलाई नभ्याएको हुन सक्ने उनको बुझाइ छ। भन्छिन्, ‘पार्टीमा हामीजस्ता धेरै छन्। अहिले हामी छुट्यौं होला। हाम्रो पनि पालो आउला। एउटै घरमा पनि सबैलाई मिलाएर राख्न सकिँदैन भने पार्टीभित्र झन् धेरै योद्धा हुन्छन्। मिलाउँदै जाँदा हामी छुटेको हुन सक्छौं। मिलाउन खोज्दा खोज्दै नमिलेर होला।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।