ग्राहकको दाह्री काट्दै नेपाली फिल्मी क्षेत्रका पुराना लाइटम्यान चन्द्रिका ठाकुर। फिल्मी क्षेत्रमा काम गरे पनि ठाकुरले पुर्ख्यौली पेसा त्यागेका छैनन्। तस्बिर : निमेषजंग राई
उतिबेला चन्द्रिका ठाकुरको काठमाडौंस्थित पुतलीसडकमा ‘फेमस सैलुन’ थियो। उनकै लवजमा भन्ने हो भने ‘एकदमै ब्युटिफुल’। कपाल काट्न आउने मान्छेहरुको भिड लाग्थ्यो।
जो जस्तो हेयर स्टाइलको तस्बिर लिएर आउँथ्यो, उसको कपालमा चन्द्रिकाको कैँची त्यहीअनुसार चल्थ्यो। त्यसैले आम सर्वसाधारण मात्रै होइन, फिल्मकर्मीसमेत आफ्ना लालाबाला बोकेर कपाल कटाउन पुग्थे उनको सैलुनमा।
त्यतिबेला डिल्लीबजार बस्ने फिल्म निर्देशक शम्भु प्रधानसमेत उनको ‘कैँची कला’को फ्यान थिए।
त्यसैले छोरा चंके र छोरी चिंकीको कपाल कटाउन उनी त्यँही जान्थे।
भारत मोतिहारीबाट २०३२ सालमा कैँची–काइयो बोकेर हजाम बन्न काठमाडौं आइपुगेका चन्द्रिकाले ८ वर्षसम्म गौशलास्थित भान्जाको सैलुनमा कपाल काट्ने काम गरे।
त्यसपछि खोलेका थिए पुतलीसडकमा सो ‘ब्युटिफुल सैलुन’।
काठमाडौंमा ८ वर्षदेखि कपाल काटेरै बितिरहेको उनको दैनिकी अचानक बदलिएला भन्ने उनले कहिल्यै सोचेका थिएनन्।
एकदिन छोराछोरीको कपाल कटाउन आएका बेला निर्देशक प्रधानले उनलाई अचानक एउटा अप्रत्याशित प्रस्ताव राखे, ‘तँ फिल्ममा काम गर्छस्?’
प्रस्ताव सुनेर चन्द्रिका एकछिन ‘ट्वाँ’ परे। मनमनै लाग्यो- ज्यान पनि ठिकै छ, दिनहुँ जिम पनि गइरहेकै छु, फिल्ममा काम गर्न कसो नसकुँला?
त्यसपछि मुन्टो हल्लाउँदै उत्साहित भावमा उनले जवाफ फर्काए, ‘पाए त गरिन्थ्यो सर। काम चाँहि के गर्नुपर्ने हो, कुन्नि?’
त्यतिबेला भक्तपुरस्थित सल्लाघारीमा शम्भुको ‘मायालु’ फिल्मको सुटिङ भइरहेको थियो। फिल्ममा कलाकार थिए- भुवन केसी र करिस्मा मानन्धर।
त्यसपछि शम्भुले चन्द्रिकालाई सुटिङ सेट बोलाए, अनि सोधे- ‘के काम गर्छौ त?’
चन्द्रिकालाई कसैले ‘ब्रिफिङ’ गरिदिएको थियो- कलाकार बन्नलाई कम्तीमा मेट्रिक पास हुनुपर्छ। निर्देशक हुनलाई कमसेकम बिए पास। बरु लाइटमा काम गर्दा पछि गएर क्यामेराम्यान बन्न सकिन्छ।
‘म त सात क्लास पढेको मान्छे, त्यो पनि सरकारी स्कुलमा। त्यसैले लाइटम्यानको काम गर्ने निर्णय गरेँ,’ चन्द्रिका अहिले सुनाउँछन्।
आफूलाई फिल्म क्षेत्रमा प्रवेश गराउने शम्भुलाई उनी गुरु मान्छन्। उनका ‘१६ वर्षे जवान’, ‘सरस्वती’, ‘सम्पत्ति’लगायत थुप्रै फिल्ममा उनले लाइटम्यानका रुपमा काम गरेका छन्।
५० भन्दा बढी फिल्ममा लाइट दिइसकेका चन्द्रिका कुनै बेला नेपाली फिल्मी क्षेत्रका व्यस्त लाइटम्यान थिए। राजेश हमालको ‘अधिकार’, भुवन केसीको ‘नेपाली बाबु’, ‘करोडपति’, ‘सपना’, शिव रेग्मीको ‘दुनियाँ’, सबैमा उनैले लाइट दिएका थिए।
फिल्ममा काम गर्दागर्दै उनलाई नेपाल टेलिभिजनमा करारको जागिर समेत मिल्यो। त्यसपछि उनले थुप्रै टिभी सिरियलमा लाइट दिने काम गरे।
‘त्यतिबेला म नेपाली फिल्मी क्षेत्रको लाइटमा राम्रो थिएँ,’ चन्द्रिका सम्झिन्छन्, ‘निर शाहको फिल्म पनि गर्दै थिएँ। उहाँलाई मेरो काम मन परेर होला सायद, एकदिन भन्नुभयो, चन्द्रिका तिमीलाई टेलिभिजनमा पनि छिराउँछु, जागिर खुवाउँछु। फिल्म पाएका बेला फिल्ममा काम गर, नपाएका बेला टिभीमा।’
त्यसरी उनले टिभीमा काम गर्ने मौका पाए। फिल्म र टिभीमा लाइटम्यानको काम थालेपछि उनले आफ्नो हजाम पेसा भने त्यागेनन्। आजसम्म पनि निरन्तरता दिइसकेका छन्। उनैको पुरानो सैलुन अहिले दाजुले चलाउँछन्। कहिलेकाँही चन्द्रिका सोही पसल पुग्छन्, पुर्ख्यौली पेसा सम्हाल्छन्, भलै छोटै समयका लागि मात्र किन नहोस्।
‘मेरो त थेउरी नै के हो भने ‘पाए काम, नपाए हजाम,’ उनी भन्छन्, ‘म कहिल्यै पनि खाली भइनँ। फिल्ममा काम पाएका बेला फिल्ममा गर्थेँ, नपाएका बेला म हजाम त छँदै थिएँ। सैलुन जान्थेँ, कैँची चलाइहाल्थेँ। दुई–तीन वर्ष भयो सैलुन दाजुले चलाएको। कहिले पुतलीसडकमा दाइको सैलुन, कहिले भक्तपुरमा सालाको सैलुन पुगेर कपाल काट्छु। हजार–१५ सय कमाउँछु, हिँडिहाल्छु।’
फिल्ममा काम गर्ने स्पट ब्वाई र कुकहरू पनि उनीसँग कपाल कटाउन आउँछन्। तर, तिनीहरुसँग उनी कहिल्यै पैसा लिँदैनन्, फ्रीमा काट्छन्। ‘उनीहरुको साह्रै माया लाग्छ। रातदिन खटिरा’को हुन्छन्। खाना खुवाइरहेको हुन्छन्। गोबर सोहोरिराको हुन्छन्। सबै काम गरिरहेका हुन्छन्,’ स्पट ब्वाईका दुःख सम्झिँदा उनी सधैँ भावुक हुन्छन्।
‘फिल्ममा सधैँ उज्यालो दिने मान्छेको जिन्दगी चाँहि कत्तिको उज्यालो हुन्छ नि?’ गफैगफमा चन्द्रिकालाई यो प्रश्न सोधियो। जवाफमा उनी हल्का मुस्कुराए।
त्यसपछि मुस्कानभित्र लुकेका पीडा फुकाउन थाले, ‘हामी त पर्दा पछाडिका मान्छे। हामीलाई कसैले देख्दैन। काम गरेको पैसा पाउनलाई हामीले गर्ने संघर्ष, हामीले पाउने टर्चर कसैले बुझ्दैन, कसैले देख्दैन। हामी त भार बोक्ने मान्छे हो, भार।’
टाउकोमा गम्छा, गम्छामाथि ट्रली बोकेर वर्षौं हिडेका छन् उनी, टुँइटुँइ। धेरैपटक घाइते भएका छन्, धेरैपटक गम्भीर दुर्घटनाको नजिक पुगेर बच्न सफल भएका छन्।
अस्ति भर्खर मात्रै सिन्धुपाल्चोकको मुँडेमा म्युजिक भिडियो सुटिङ गर्दैगर्दा झन्डै नाक भाँच्चियो। ‘यी हेर्नुस् न, सेट खसेर नाकमै चोट लाग्यो,’ चोट लागेको ठाउँ देखाउँदै उनी भनिरहेका थिए, ‘तत्काल निर्देशकज्यूले सुटिङ राकेर मलाई हस्पिटल लानुभयो। टेन्सन नलिनुस्, तपाईलाई केही हुन दिन्नँ भन्नुभयो। सबैले यसरी माया गर्दा खुशी लाग्छ।’
चन्द्रिकाको अनुभवमा प्राविधिकलाई सबैभन्दा बढी दुःख काम गरेको पारिश्रमिक उठाउनमा हुन्छ। ‘केही वर्ष भयो, चलचित्र प्राविधिक संघमा पुष्कर लामाको नेतृत्व आएयता यो समस्या सुल्झिँदै छ, अहिले त प्राविधिकलाई पैसा नदिएको फिल्मको सेन्सर रोकिन्छ भन्ने सुन्छु, यो धेरै राम्रो कुरा हो,’ उनी भनिरहेका थिए।
तीन वर्ष अघिमात्रै फिल्म ‘शरदका पातहरू’मा गरेको कामको पारिश्रमिक पाउन उनले एकदमै संघर्ष गर्नुपरेको थियो। लाइटको काम गरेबापत २१ हजार ५ सय रुपैयाँ पारिश्रमिक पाउनुपर्ने थियो। तर, अनेक बहानामा निर्माता टारिरहेका थिए।
‘म र छोरा बिरामी हुँदासम्म पैसा दिएका थिएनन्। माइला ज्वाँइ खसेका बेला पनि दिएनन्। अति भएपछि प्राविधिक संघका पुष्कर भाइलाई भेटेँ। उहाँले एउटा निवेदन लेख्न भन्नुभयो। निवेदन लेखेको २४ घन्टाभित्रै उहाँले पैसा उठाइदिनुभयो,’ यो घटना सुनाइरहँदा उनको मुहारमा चमक प्रष्टै देखिन्थ्यो।
सायद सबै श्रमिकलाई आफूले श्रम गरेको पारिश्रमिक पाउँदा यस्तै खुशी मिल्दो हो। चन्द्रिकाको यो कथा लेखिरहँदा अहिले माइतीघरमा आन्दोलन गरिरहेका उखु किसानलाई बिर्सन मिल्दैन। ती उखु किसानलाई चिनी मिल सञ्चालकले उनीहरूको पाउनुपर्ने रकम दिएको भए सायद उनीहरुको मुहारमा पनि आज चन्द्रिकाको जस्तै चमक छाउँथ्यो होला।
०००
उमेर ढल्कँदै गएपछि चन्द्रिकालाई हिजोआज फिल्मको खासै अफर आएको छैन। म्यूजिक भिडियोमा काम गरेर चित्त बुझाइरहेका छन्। काम नपाएका बेला– कपाल काट्ने पुर्ख्यौली पेसा त छँदैछ।
‘कत्तिको गाह्रो हुन्छ, लाइटम्यानको काम?’
चन्द्रिका भन्छन्, ‘जब म स्पटमा पुग्छु, २५ वर्षको जवानको जस्तो जोस आइहाल्छ। काम गरिरहेका बेला म कहिल्यै थाक्दिनँ। तर, जब डाइरेक्टर साबले प्याकअप भन्नुहुन्छ, त्यसपछि म थाक्छु।’
अहिले त लाइटम्यानको पारिश्रमिक पनि बढेको छ। प्रतिदिन २ हजारदेखि २५ सय रुपैयाँसम्म पाइन्छ। ‘मैले पहिलो फिल्म ‘मायालु’ त ५० रुपैयाँमा गरेको थिएँ। त्यसपछि ‘भुमरी’, ‘फेरि भेटौंला’ त ७५ रुपैयाँमा काम गरेको हो। अहिले त बढ्दाबढ्दा २५ सयसम्म पुगिसक्यो,’ चन्द्रिका दंग हुँदै सुनाउँछन्।
फिल्म क्षेत्रमा प्रवेश हुँदा नै चन्द्रिकाको रहर थियो, क्यामेरा चलाउने। भन्छन्, ‘५-६ वटा फिल्म गर्दै मैले क्यामेराको काम सिकिसकेको थिएँ। मन्जुकुमार श्रेष्ठ, दीपक ढकाल, चन्द्रप्रसाद घिमिरेहरूले धेरै सिकाउनुभयो। तर, नेपालमा क्यामेराम्यानका रुपमा भने कसैले पत्याएनन्।’ केही मैथिली र थारु फिल्ममा भने आफूले क्यामेरा चलाएको उनले बताए।
०००
चन्द्रिका फिल्म क्षेत्रमा शालिन र मिलनसार स्वाभावका प्राविधिक थिए। कहिल्यै कसैलाई बिझाउने काम गरेनन्। कलाकारका प्रिय थिए। राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ, सरोज खनाल सबैले प्रेमपूर्वक व्यवहार गर्थे।
हालै मात्र अमेरिकामा रहेकी अभिनेत्री जल शाहले आफ्नो आमा पेमा शाहको सम्झनामा दुई फिल्म प्राविधिकलाई सम्मान गरेकी थिइन्। तीमध्ये एक थिए- चन्द्रिका।
त्यसो त चन्द्रिकाले जल शाहको एउटा मात्रै फिल्ममा काम गरेका थिए- नेपाली बाबु। तर, त्यो एउटै फिल्ममा गरेको कामले उनको जलको मनमा बसेका रहेछन्। त्यसैले त जलले आज दुई प्राविधिकलाई सम्मान गरिरहँदा उनको नाम पर्यो।
‘मलाई सबै कलाकारले माया गर्नुहुन्थ्यो, कोहीसँग झगडा परेन,’ चन्द्रिका भन्छन्, ‘शिव श्रेष्ठजी आज पनि बाटोमा देख्दा गाडी रोकेर कुरा गर्नुहुन्छ, माया गर्नुहुन्छ। राजेश हमाल, सरोज खनाल सबैले राम्रो रेस्पोन्स गर्नुहुन्छ। राजेश, सरोज, शिव सबैको मैले कपाल पनि काटेको छु।’
‘फिल्ममा छिरेपछि कहिल्यै अभिनय गर्न मन लागेन?’
जवाफमा चन्द्रिकाले भने, ‘लौ, किन नलाग्नु, लाग्यो नि। त्यसैले अभिनय पनि गरेँ।’
उनी थप सुनाउँदै गए, ‘मेरो अनुहार पनि कालो, केस पनि लामो, जिउ पनि राम्रै थियो। त्यसैले जुनै फिल्ममा पनि फाइटरको भूमिकामा खेलाइदिन्थे। ‘परिवार’ फिल्ममा मलाई निर शाहको बडीगार्ड बनाइयो। रमेश बुढाथोकीको ‘प्रतिद्वन्द्वी’ सिरियलमा पनि बडीगार्ड नै थिएँ।’
‘परिवार’ फिल्मको सुटिङमा एक्सन गर्ने क्रममा उनको टाउकोमा गम्भीर चोट लाग्यो। ‘त्यसपछि फिल्म खेल्न छाडेँ,’ उनले भने।
०००
कुराकानीकै क्रममा चन्द्रिकालाई सोधियो, ‘तीन दशक फिल्म क्षेत्रमा काम गरेर के पाइयो भन्ने लाग्छ?’
जवाफमा उनले भने, ‘छोराछोरीको खानपान, पढाइलेखाइ सबै गरेँ। ५ जना छोरी, १ जना छोरा हुर्काएँ। छोरालाई क्यामेराम्यान नै बनाएँ। ठूली छोरी सरकारी स्कुलको हेडमास्टर भई। योभन्दा ठूलो खुशी मेरो लागि के हुनसक्छ र?’
छोरा रमेश ठाकुर (अमिताभ) अहिले मुम्बईमा संघर्षरत छन्। हिन्दी फिल्म गर्ने तर्खरमा रहेको उनले सुनाए। ‘बाबु छोरा मिलेर ‘दबंग सरकार’ नामको भोजपुरी फिल्म पनि गरियो, फिल्म सुपरहिट पनि भयो,’ उनी खुशी साटिरहेका थिए।
000
खासमा चन्द्रिकाको जन्मभूमि भारत। कर्मभूमि चाँहि नेपाल हो। तर, उनलाई नेपाल चाँहि जन्मभूमि जस्तो लाग्छ। ‘परिवार उतै छ, त्यसैले बेलाबेला जानु त पर्छ नै तर ३२ वर्षदेखि यतै छु, यतैको माया धेरै लाग्छ। म किन यतै जन्मिइनँ भन्ने लागिरहन्छ,’ उनी भन्दै थिए।
भारतीय भएका कारण नेपाली फिल्ममा काम गर्दा कत्तिको विभेदको सामना गर्नुपर्यो भन्ने जिज्ञासामा उनले त्यस्तो अपमान व्यहोर्नु नपरेको जवाफ दिए।
‘म इन्डियन हो भन्ने कुरा फिल्म क्षेत्रमा सबैलाई थाहा छ। तर, कसैले हेपेको छैन,’ उनी निर्धक्क भन्दै थिए, ‘धेरै मान्छेहरु आफ्नो घर र थर ढाँटेको देख्छु। तर, त्यसरी झुटो बोल्दा आफ्नो जन्म दिने आमालाई अपमान गरेजस्तो लाग्छ। त्यसैले म जसले सोधे पनि निर्धक्क भन्छु- मेरो नाम चन्द्रिका ठाकुर, घर भारत मोतिहारी।’
000
कुराकानीको अन्त्यमा उनी फिल्म क्षेत्रमा काम गर्ने कलाकार, निर्देशकदेखि सबै प्राविधिकलाई एउटा म्यासेज पुर्याइदिनु भन्दै थिए।
‘कस्तो म्यासेज?’
जवाफमा उनले भने, ‘म के भन्न चाहन्छु भने हामी कसैले कसैलाई नहोच्याऔं, कसैलाई नराम्रो नभनौँ। कोही राम्रो पढ्नुभयो र डिरेक्टर र कलाकार बन्नुभयो। कोही पढ्न सक्नुभएन या पावर पुगेन अनि लाइटम्यान, स्पटब्वाई या त्यस्तै अन्य काम गर्नुभयो। तर, हामी सबैको आ-आफ्नो भूमिका हुन्छ। एक अर्कालाई हेला नगरौँ। आखिर सबै मान्छे एक दिन मरेर जानु नै छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।